Comments Add Comment

विश्वकै अठारौं सानो मुलुकसँग नेपालको कुटनीतिक सम्बन्ध स्थापित

११ भदौ, काठमाडौं । भूगोलको हिसाबले विश्वको अठारौं सानो देश सन्ट लुसियासँग नेपालको द्विपक्षीय कुटनीतिक सम्बन्ध स्थापना भएको छ । योसहित नेपालको कुटनीतिक सम्बन्ध स्थापित भएका देशहरुको संख्या १६७ पुगेको छ ।

संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र सन्ट लुसियाका समकक्षी कोसमोस रिचार्डसनले संयुक्त दस्तावेजमा हस्ताक्षर गरी कुटनीतिक सम्बन्ध आरम्भ गरेका हुन् ।

नेपाली समयअनुसार बुधबार विहान संयुक्त राष्ट्रसंघमा भएको सो हस्ताक्षर समारोहपछि दुवै देशको तर्फबाट राष्ट्रसंघ महासचिव एन्टोनिओ गुटेरसलाई आपसी कुटनीतिक सम्बन्ध स्थापित भएको जानकारी दिइएको छ ।

दुवै देशका नागरिकस्तरमा सम्बन्ध बिस्तार गर्ने तथा आपसी सहयोगका क्षेत्रबारे छलफल गर्ने नेपाली नियोगले जनाएको छ ।

पूर्वी क्यारेबियन समुद्री तटमा रहेको यो सानो देशको जनसंख्या करीव १ लाख ७० हजार छ । यसको क्षेत्रफल ६१७ वर्ग किलोमिटर छ ।

सेन्ट लुसियाको मुख्य आयस्रोत पर्यटन हो जसले देशको कुल गार्हस्थ उत्पादनको ६५ प्रतिशत योगदान दिएको छ । ज्वालामुखीबाट बनेका भूबनौट हेर्नका लागि धेरै देशका पर्यटक त्यहाँ जाने गर्छन् ।

यो देशले केरा, गार्मेन्ट, नरिवललगायतका उत्पादनहरु निर्यात गर्छ । यो देश सन् १९७९ मा संयुक्त राष्ट्रसंघको सदस्य भएको थियो । नेपाल र सेन्ट लुसिया असंलग्न परराष्ट्र नीतिमा सँगै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment