Comments Add Comment

बुटवलका सामुदायिक विद्यालयमा आधुनिक विज्ञान प्रयोगशाला

१२ भदौ, बुटवल । बुटवल उपमहानगरपालिकाले सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला निर्माणमा जोड दिएको छ । सामुदायिक विद्यालयमा  यो  कार्यक्रमका लागि ४८ लाख १८ हजार चार सय ५० रुपैयाँ निकासा भएको प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।

पहिलो चरणमा तीन विद्यालयमा आधुनिक ल्याब बनाउन झण्डै २० लाख बजेट विनियोजन  गरिएको छ। शिक्षा महाशाखा प्रमुख उपसचिव मित्रमणि खनालका अनुसार नविन औद्योगिक कदरबहादुर–रीता मावि, कान्ति मावि र सिद्धेश्वर–लालकुमारी माविमा आधुनिक विज्ञान प्रयोगशाला निर्माण भएको छ ।

बाँकी विद्यालयमा चालु आर्थिक वर्षभित्र निर्माण गर्ने उनले बताए ।  बुटवलकै नहरपुर माध्यमिक विद्यालय, मोतिपुर माध्यमिक विद्यालय र नवरत्न माध्यमिक विद्यालयमा शिक्षण सिकाइमा सूचना प्रविधिको प्रयोग भएको छ । यसका लागि पनि प्रति विद्यालय छ लाख ५० हजार बजेट उपलब्ध गराइएको थियो ।

उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले चारवटा माध्यमिक विद्यालयमा पुस्तकालय स्थापना गरिएको र त्यसका लागि पनि प्रति विद्यालय छ लाख ५० हजार रुपैयाँ उपलव्ध गराइएको बताए । अमर मावि, उजिरसिंह मावि, ज्ञानोदय मावि र जितेश्वरी माविमा आधुनिक पुस्तकालय स्थापना भएका छन् ।

आउँदो शैक्षिक शत्रदेखि स्थानीय पाठ्यक्रम

बुटवल उपमहानगरपालिकामा विद्यालयस्तरमा स्थानीय पाठ्यक्रम तयार पारेको छ । एक सय पूर्णांकको उक्त पाठ्यक्रम आउँदो शैक्षिक शत्रदेखि लागु गर्ने तयारी छ ।

स्थानीय पाठ्यक्रमलाई शैक्षिक विकेन्द्रीकरणको महत्वपूर्ण खुड्किलाका रुपमा पनि लिइएको छ । स्थानीय सीप, व्यवसाय, पेसा, स्रोत साधनको महत्व र आवश्यकता पहिचान गर्दै तिनको विकास गर्न पाठ्यक्रम बनाइएको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले बताए

स्थानीय पाठ्यक्रम नगरको शिक्षा व्यवस्थित गर्न, नगर शिक्षा योजना निर्माण कार्यदल, स्थानीय पाठ्यक्रम निर्माण कार्यदल र कक्षा ११÷१२ मा सीपसँग सम्बन्धित विषयको पाठ्यक्रम तयार भइसेकेको शिक्षा महाशाखा प्रमुख उपसचिव खनालले जानकारी दिए ।

तीनवटै कार्यदलका प्रतिवेदनहरूलाई अन्तिम रुप दिन विषयविज्ञसहितको शैक्षिक संगोष्ठी भएको थियो ।

नगर शिक्षा समिति, वडा शिक्षा समिति, परीक्षा समन्वय समिति र परीक्षा व्यवस्थापन समिति गठन भई कार्य आरम्भ भएको उपमहानगरपालिकाले जनाएको छ । सबै सामुदायिक विद्यालयहरूका प्रधानाध्यापकहरूसँग ३२ बुँदे कार्यसम्पादन करार सम्झौता गरी त्यसकै आधारमा अनुगमन र मूल्याङ्कन गर्न थालिएको छ ।

टिफिन र प्रतिदिन खाजाका लागि २० रुपैयाँ

बुटवलले प्रारम्भिक बालविकासका सहयोगी कार्यकर्ताहरूलाई मन्टेश्वरी विधिमा आधारित तालिम सञ्चालन गर्नुका साथै प्रारम्भिक बाल कक्षाका झण्डै १३ सय बालबालिकालाई टिफिन वक्स वितरण र विद्यालयमा खाजासहित उपस्थित हुँदाको दिन प्रति विद्यार्थी २० रुपैयाँ सहयोग उपलब्ध गराउँदै आएको छ । बुटवलले १८ वटा सामुदायिक विद्यालयहरुमा खाजा व्यवस्थापन गर्न मकै भुट्ने मेसिन (पप कर्न मेसिन) समेत वितरण गरेको छ ।

बुटवलले सामुदायिक विद्यालय र संस्थागत विद्यालयहरूको शिक्षकहरूको एउटै ड्रेस व्यवस्थापन गर्न ड्रेस कोड व्यवस्थापन समिति गठन भई काम अन्तिम चरणमा पुगेको बताएको छ । पहिलोचरणमा शिक्षकको र त्यसपछि सबै विद्यार्थीहरुको एउटै पोशाक बनाउने गरि तयारी भइरहेको बताइएको छ ।

स्कुलका नयाँ भवन र शौचालय निर्माण

तिलोत्तमा मावि र मैनावगर प्राविमा शौचालय निर्माणका लागि प्रति विद्यालय सात लाख रुपैयाँ निकासा गरी सो कार्य सम्पन्न भइसकेको छ । नहरपुर माविमा शैक्षिक विकास कोषबाट १६ लाख ६८ हजार सात सय ६४ र सशर्त अनुदानबाट ३२ लाख रुपैयाँ गरी जम्मा ४८ लाख ६८ हजार सात सय ६४ रुपैयाँ निकासा भई ४ कोठे भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको बताइएको छ ।

प्रदेश सरकार सामाजिक विकास मन्त्रालय शिक्षा विकास निर्देशनालय बुटवलबाट ४ कोठे भवन उपलब्ध भएको जितेश्वरी माध्यमिक विद्यालय, लक्ष्मी मावि. र नयाँगाउँ माविलाई लागत स्टिमेट बमोजिम रकम नपुग भई निर्माण कार्य सम्पन्न गर्न प्रति विद्यालय आठ लाख ६८ हजार सात सय ६४ रुपैयाँ रकम निकासा गरिएको उपमहानगरपालिकाले जनाएको छ । बुटवलमा सामुदायिक ३८ र संस्थागत ५७ गरी ९५ वटा विद्यालय रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment