Comments Add Comment

भारतीय गाडी भाडामा लिएर चोरी, ७ जना पक्राउ

१२ भदौ, विराटनगर । विराटनगरमा भएका शृृङ्खलाबद्ध चोरीको घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन भारतीयसहित सातजनालाई पक्राउ गरेको छ । साउन र भदौमा भएका शृृङ्खलाबृद्ध चोरीको घटनामा संलग्न भएको आरोपमा सातजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत बिहार मधुवनी जिल्ला बेनीपट्टी कटैयाग्रा पञ्चायत १३ बस्ने ३५ वर्षीय धर्मेन्द्र कामत, सोही स्थान बस्ने ३२ वर्षीय लक्ष्मण गुप्ता र ४४ वर्षीय मो. मोतिउर रहमान छन् । त्यस्तै रौतहटको गौर नगरपालिका- ३ का ४१ वर्षीय मो. मोहिज धुनियाँ, गौर नगरपालिका- ३ कै ५० वर्षीय बलराम क्षेत्री, सर्लाही ब्रम्हपुरी गाउँपालिका- ४ का ५२ वर्षीय सेख मो. सफिल र सोही स्थानका ४६ वषिर्य शेखअलि असरगर छन् । चोरीका मुख्य नाइके भारतका मो कलाम भने फरार छन् ।

भदौ ९ गते राति विराटनगर- ७ मा रहेको कममाह कृषि सहकारी संस्थाबाट ४ लाख ९५ हजार र सोही स्थानको माँ भवानी इन्टरप्राइजेजबाट ६ लाख रुपैयाँ चोरी गरेको थियो ।

सोही समूहले साउन २३ गते विराटनगर- शनिहाटमा रहेको पञ्चकन्या ट्रेडलिंकबाट ५ लाख ९५ हजार, सोही दिन शनिहाटमै रहेको गणनायक मार्केटिङ हाउसबाट ४ लाख रुपैयाँ सटर फोडेर चोरी भएको थियो । चारवटा चोरीको संलग्नहरुले भारतबाट स्कारपियो भाडामा लिएर चोरीका लागि विराटनगर आएकाहरुलाई भाग्दै गर्दा मोरङको पथरीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले जानकारी दिए ।

चोरीका लागि स्कारपियो भाडामा

प्रहरीका अनुसार सो समूहले स्कारपियो भाडामा लिएर चोरीका लागि विराटनगर आएको थियो । गत साउन २६ गते चोरी गरी सहज रुपमा भारत पसेको समूहले पून सोही तरिका अपनाउन खोज्दा पक्राउ परेको हो ।

जोगवनी नाका हुँदै चार दिनको अनुमति लिएर भित्रिएको बिआर ३२ पिए २८३६ नम्बरको स्कारपियोकै आधारमा गिरोहलाई पक्राउ गरेको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए ।

उनका अनुसार चोरीमा संलग्नहरुको पहिचान लगतै खुले पनि गाडीको नम्बर नखुल्दा पक्राउ गर्न सहज भएको थिएन् । तर, एउटा पसलमा चोरी गर्दा गाडीको नम्बर प्लेट देखिएपछि प्रहरीले चेकजाँच कडाई गरेको थियो । विराटनगर रानी हुँदै जोगवनी जानेबाटोमा कडाईगरेपछि सातजना सवार गिरोह पूर्वतर्फ लागेको थियो । पूर्व जाने क्रममा पथरीबाट पक्राउ गरेको अधिकारीले बताए ।

प्रहरीका अनुसार मधुवनीकै रणविजय सिंहबाट चारदिनको १० हजार भाडा दिने सर्तमा गिरोहले गाडी लिएर आएको थियो । तन्ना र सटर काट्ने हतियारसहित नेपाल प्रवेश गरेको समूहले सटर काट्नेबेला तन्नाले छोप्ने गरेको सीसी टिभी फुटेजमा देखिएको थियो ।

दिउँसो गाडीमै सुत्ने र मध्यरातमा चोरी गर्ने गिरोहका मुख्य नाइके भने फरार छन् । मुख्य नाइके मोहमद कलाम पश्चिम तर्फ भागेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुको साथबाट सातवटा मोबाइल, १२ हजार नेपाली र ११ हजार भारतीय रुपैयाँ चोरीमा प्रयोग भएको सात थान गाम्छा, २ थान तन्ना तौलिया र झोला बरामद गरेको एसपी अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment