Comments Add Comment

प्यूठान जिल्ला अस्पतालमा न स्वास्थ्यकर्मी, न कर्मचारी

समयमै ध्यान नदिए बन्द हुने अस्पताल प्रशासनको चिन्ता

१४ भदौ, प्यूठान । वर्षौंदेखि दरवन्दीअनुसार स्वास्थ्यकर्मी र कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भएको प्यूठान जिल्ला अस्पतालले जनाएको छ ।

५० शैयाको प्युठान जिल्ला अस्पताल केबल कागजमा सीमित छ । दैनिक सरदर दुई सय विरामीलाई सेवा दिँदै आएको अस्पतालको भौतिक पूर्वाधार पनि तयार हुन सकेको छैन ।

स्तरवृद्धि भएको भनिएको तीन वर्ष हुँदासमेत सेवाग्राहीले विशेषज्ञ सेवा पाउन सकेका छैनन् । ८ जना विशेषज्ञसहित ११ औं तहको मेडिकल सुपरिटेण्डेन्टको दरवन्दी अहिलेसम्म पूरा हुन सकेको छैन ।

चार जना मेडिकल अधिकृत र ३ जना छात्रवृत्ति करारका एमबीबीएस डाक्टरले जिल्ला अस्पताल चलाइरहेका छन् । यीमध्ये एक जना सुत्केरी विदा र एक जना घर विदामा छन् । चारै जना मेडिकल अधिकृतको प्रदेशमा समायोजना भएको छ । समायोजनबाट प्यूठान जिल्ला अस्पतालमा आउने स्वास्थ्यकर्मीको भने कुनै टुंगो छैन ।

कर्मचारी अभावका कारण २४ घण्टा डिउटी गर्नुपरेको निमित्त मेडिकल सुपरिटेण्डेन्ट शेषराज घिमिरेले बताए । समयमै कर्मचारी व्यवस्था नहुने हो भने अस्पताल बन्द गर्नुपर्ने स्थिति रहेको उनले सुनाए ।

दुई वर्षदेखि अस्पताल प्रशासन कर्मचारीविहीन छ । लेखापाल नहुँदा औषधि खरिदलगायतका काममा समस्या आएको छ । जिल्ला स्वास्थ्य कार्यालयका लेखापालबाट काम चलाउँदै आए पनि साउन महिनायता लेखाको पूरै काम ठप्प छ ।

अस्पताल व्यवस्थापन समितिबाट निर्णय गरेर कोटेशन मार्फत २५ लाख रुपैयाँको औषधि खरिद गरे पनि यसले समस्या नटर्ने निमित्त प्रमुख घिमिरेको भनाई छ । खरिद गरिएका औषधिले अब बढीमा दुई महिना धान्ने अस्पतालले जनाएको छ । लेखापाल नहुँदा औषधि खरिदका लागि टेण्डर हुन सकेको छैन ।

– विजयसिंह भारतीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment