Comments Add Comment

सहिद पार्कमा ठडिन थाले सालिक (फोटो फिचर)

सराङकोटमा रविन्द्र अधिकारीको सालिक हेलिकप्टरसहित राखिने

१४ भदौ, पोखरा । पोखरा महानगरमा प्राय सबै चोकभरि विभिन्न व्यक्तित्वका सालिक छन् । ती सालिक कुनै राष्ट्रिय विभूतिका हुन् भने कुनै सहिदका । जसको सालिक हो, त्यसैको नामबाट चोकको नाम राखिएको छ । पृथ्वीचोक (लखन थापा) चोक, हरि चोक, वीपी चोक आदि त्यसैका उदाहरण हुन् ।

व्यस्त शहरको चोकमा ठडिएका ती सालिकले ठूलो ठाउँ ओगटेकाले आउजाउमा समस्या भयो । त्यस्ता सालिक (खासगरी लखन थापाको सालिक) स्थानान्तरण गर्न खोज्दा चर्को विवादसमेत भयो ।

यो पनि पढ्नुहोस पोखरामा शालिक राजनीतिको ‘सेफ ल्याण्डिङ’: अब सबै शालिक पार्कमा

तर, महानगरको योजना अर्कै थियो, ‘कुनै निश्चित ठाउँमा एउटा पार्क बनाउने र त्यही पार्कमा सबै सहिद तथा राष्ट्रिय विभूतिका सालिक राख्ने । त्यस पार्कलाई पर्यटकीय गन्तव्य बनाउने र पोखरामा पर्यटकको बसाइँ लम्ब्याउने ।’ यही योजनाअनुसार अहिले सराङकोटको जामुनबोटमा सहिद पार्क बनाएर शहरका सालिकलाई त्यहीँ स्थानान्तरण गर्ने कामको थालनी भएको छ ।

पोखरा १८ सराङकोट, जामुनबोटमा अहिले ५६ रोपनी जग्गामा पार्क तयार भइसकेको छ । पार्क बनाउन महानगरले गत आर्थिक वर्षमा १ करोड रुपैयाँ विनियोजन गरेको थियो । त्यसमध्ये प्रारम्भिक चरणको काम सक्न ४५ लाख रुपैयाँ खर्च भएको महानगरको भनाइ छ ।

पार्कको सबैभन्दा माथिल्लो भागमा पृथ्वीनारायण शाहको सालिक ठडयाइएको छ । शाहको अघिल्तिरबाट पोखरा बजार क्षेत्र, फेवातालदेखि अन्नपूर्ण हिमशृंखला नियाल्न सकिन्छ । शाहको पूर्णकदको सालिक ६ फिट ३ इन्च अग्लो छ ।

पार्कमा करिब २० सहिद तथा राष्ट्रिय विभूतिको सालिक राख्ने योजना बनाइरहेको पोखरा महानगरपालिकाका मेयर मानबहादुर जीसीका स्वकीय सचिव लक्षमण तिमिल्सिनाले जानकारी दिए । ‘यही आर्थिक वर्षमा ३ वटा नभए कम्तिमा एउटा सालिक राख्ने गरी काम अघि बढिरहेको छ । अर्को आर्थिक वर्षदेखि सडकका बीचमा रहेका सबै सालिक पार्कमा व्यवस्थापन गरिसक्छौं,’ उनले भने ।

रविन्द्र अधिकारीको पनि सालिक राखिने

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पृष्पलाल र जनआन्दोलन ०६२/६३ का प्रथम शहिद भीमसेन दाहालको अर्धकदको सालिक पनि ठडयाइसकिएको छ । अब केही समयपछि दिवंगत पूर्व पर्यटनमन्त्री रवीन्द्र अधिकारीको सालिकसमेत राखिने पोखरा १८ का वडा सदस्य हरि लम्सालले जानकारी दिए ।

‘पार्कमा रवीन्द्र ब्लक बनाइन्छ । त्यसमा एउटा ठूलो डमी हेलिकप्टर राखिन्छ । त्यसले स्व. रवीन्द्रको सम्झना ताजा बनाइराख्ने विश्वास लिएका छौं,’ कार्यवाहक वडाअध्यक्षसमेत रहेका लम्सालले भने । उनले पार्कमा व्यायामशाला निर्माण भइसकेको र चाँडै सेमिनार हल, बाल उद्यान लगायत पूर्वाधार बनाइने जानकारी दिए ।

वीपी कोइराला, भीमसेन थापा, हरि गुरुङ, योगेन्द्रमान शेरचन, लखन थापालगायत २० सहिद तथा राष्ट्रिय विभूतिको सालिक पार्कमा राख्ने महानगरको योजना छ । महानगरले पार्क पूर्णरुपमा तयार भइसकेपछि सडक चोकका सबै सालिकहरुलाई पार्कमा स्थानान्तरण गरेर सडक चौडा बनाउने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment