Comments Add Comment

तिलोत्तमाका मेयर भन्छन्- ५० अर्ब लगानी भित्रिने अपेक्षा छ

बुटवल । तीव्र शहरीकरण भइरहेको रुपन्देहीको तिलोत्तमा २०७१ सालमा स्थापित नगरपालिका हो । जनप्रतिनिधि आइसकेपछि नगरको पूर्वाधार निर्माणको कामले गति लिएको छ । शिक्षा, स्वास्थ्य, कृषि, सडक-पूर्वाधार, फोहरमैला व्यवस्थापन, हरियाली प्रवर्द्धन जस्ता काम नगरपालिकाले अगाडि बढाएको छ ।

स्थानीय कानुन निर्माण, सामुदायिक विद्यालयमा दिवा खाजा, छात्राहरुलाई निःशुल्क सेनेटरी प्याड, बिरामीलाई चाहिने रगतको सेवा शुल्क भुक्तानी, पशु बीमा अनुदान, हरियाली, सिटी फ्लावर र घरमा कलर कोड निर्धारण, जन्मदिनमा वृक्षारोपण र प्लाष्टिक झोलामुक्त नगर घोषणा लगायतका कार्यक्रम अघि बढाएको तिलोत्तमाले आउँदो ९ असोजमा लगानी सम्मेलन गर्दैछ ।

नगर प्रमुख बासुदेव घिमिरेले पाँचवर्षे कार्यकालमा आफूले पाउने सबै तलव सरकारी स्कूलका गरिव तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिने घोषणा कार्यान्यन गरेका छन् । उनै घिमिरेसँग लगानी सम्मेलनमा केन्द्रीत रहेर बुटवलस्थित अनलाइनखबरकर्मी टोपराज शर्माले गरेको कुराकानीको सम्पादित अंशः

स्थानीय तहमा पहिलो भनिएको यो लगानी सम्मेलन के उदेश्यका लागि ?

साविकका सातवटा गाविस मिलेर बनेको तिलोत्तमा तीव्र शहरीकरण भइरहेको क्षेत्र हो । यहाँ नयाँ उद्योग, व्यापार-व्यवसाय, होटल-रिसोर्ट खुल्ने क्रम तीव्र छ । रुपन्देहीको मध्यभागको अवस्थिति, बीचबाट ६ लेनको सडक, भारतीय सीमा बेलहिया र निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नजिक, पर्याप्त खुला क्षेत्र, सडक, विद्युत, पानीको पर्याप्तता जस्ता कारणले यहाँ लगानी बढिरहेको छ ।

तिलोत्तमालाई समृद्ध नगर बनाउन हामीले अल्पकालीन र दीर्घकालीन योजना बनाएका छौं । कतिपय योजना कार्यान्वयन भइरहेका छन् । सिमित बजेटबाट एकै पटक धेरै काम गर्न नसकिने भएकाले निजी क्षेत्रसँग सहकार्य बढाउने उद्देश्यले लगानी सम्मेलन गर्न लागेका हौं । कृषि, उद्योग-व्यापार, पर्यटन, पूर्वाधार लगायतका क्षेत्रमा स्वदेशी-विदेशी लगानी भित्राउनु सम्मेलनको मुख्य लक्ष्य हो ।

तिलोत्तमा अपार सम्भावना बोकेको ‘भर्जिन सिटी’ भएकाले यहाँ स्वदेशी-विदेशी निजी क्षेत्र र विकास साझेदार संस्थाको लगानी भित्राउन सकिन्छ भन्ने हाम्रो विश्वास छ । हामी यहाँ गरेको लगानी अत्यन्त सुरक्षित छ, हुन्छ भन्नेमा विश्वस्त पार्न चाहन्छौं ।

तयारी कस्तो छ ?

२२ वटा परियोजना प्रस्तुत गर्ने हिसाबले तयारी गरिरहेका छौं । ६० प्रतिशत तयारी पूरा भएको छ । स्वेदशी-विदेशी लगानीकर्ता र विकास साझेदारहरुलाई पत्राचार गर्ने काम भइरहेको छ । सम्मेलनको उद्घाटन सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाट गराउने छौं ।

सम्मेलनमा संघीय तथा प्रदेश सरकारका मन्त्री, सांसद, प्रमुख राजनीतिक दलहरुका नेता, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रतिनिधि लगायत गरी ५०० अतिथि बोलाउँदैछौं । तयारीका लागि मूल आयोजक समिति र विभिन्न उप-समितिहरु बनाएका छौं । सम्मेलनका लागि तिलोत्तमा उद्योग वाणिज्य संघ, तिलोत्तमा च्याम्बर अफ कमर्श र उद्योग-ब्यापार संगठन बलियो सहकार्य गरिएको छ । सबै सरोकारवालासँग पटक-पटक छलफल गरिएको छ ।

तयारीको काम अघि बढाइरहँदा कस्तो प्रतिक्रिया पाउनुभएको छ ?

लगानी सम्मेलनलाई सबैले स्वागत गरेका छन् । तपाईंलाई भनि हालौं, लगानी सम्मेलन गर्ने थाहा पाएपछि कयौंले फोन गरेर नगरपालिकामा आएर बुझ्नु भएको छ ।

अरु ठाउँमा उद्योग खोलेकाहरुले तिलोत्तमामा सार्न पाए हुन्थ्यो भन्ने चाहना राखेको मैले पाएको छु ।

प्रतिबद्धताअनुसार लगानी नआएकाले संघीय सरकारले काठमाडौंमा गरेको लगानी सम्मेलनलाई सफल मानिएको छैन । तिलोत्तमा लगानी सम्मेलन सफल हुने आधारहरु के छन् ?

संघीय सरकारले विषेशतः वैदेशिक लगानी भित्राउने हिसावले लगानी सम्मेलन गरेको मेरो बुझाइ छ । हामीले स्वदेशी लगानीकर्तालाई बढी प्राथमिकता दिएका छौं । परियोजना छनौट गर्दा पनि नगरपालिकाले गर्नुपर्ने कामको क्षेत्रमा बढी केन्दि्रत छौं ।

अर्को कुरा लगानी सम्मेलनमा तत्काल लगानी भित्रिनु एउटा पक्ष हो, अर्को यहाँ लगानीको वातावरण छ भन्ने विश्वास दिलाउनु हो । विश्वास दिलाउँदा लगानीकर्ताले हाम्रो क्षेत्र रोज्छन् । अर्को महत्वपूर्ण कुरा, यो सम्मेलनले यहाँको निजी क्षेत्र र देश-विदेशका निजी क्षेत्रबीच राम्रो सम्पर्क विकास गराउनेछ ।

तिलोत्तमामा लगानी गर्दा लगानीकर्तालाई के सहुलियत दिँदै हुनुहुन्छ ?

लगानी सम्मेलनमा सम्झौता हुने परियोजनाका लागि कर छुट, जग्गा प्राप्ति लगायतका विषय समेटेका छौं । सबभन्दा महत्वपूर्ण कुरा अत्यावश्यक परियोजना कार्यान्वयनका लागि नगरपालिकाले जग्गा लिजमा उपलब्ध गराउन सक्नेछ । परियोजना पुग्ने सडक सुविधा बिकासमा नगरपालिकाले सघाउने छ । कम्तिमा ५० जनालाई रोजगारी दिनेलाई पाँचवर्षसम्म ५० प्रतिशत, तीनसय जनासम्मलाई रोजगारी दिनेलाई १० वर्षसम्म ७५ प्रतिशत र पाँचसय जनासम्मलाई रोजगारी दिनेलाई स्थापनाको १२ वर्षसम्म ९० प्रतिशत कर छुट दिन्छ । त्यस्तै, पाँचसयभन्दा बढी रोजगारी सिर्जना गर्नेलाई स्थापनाको १५ वर्षसम्म शतप्रतिशत व्यवसायिक कर छुट दिन्छौं ।

दुग्ध उद्योग, माछा उत्पादन, प्रशोधन एवं प्याकेजिङ, कोल्ड स्टोरेज, आदिलाई परियोजना स्थापनाको सातवर्षसम्म नगरपालिकाले व्यवसायिक कर र नक्सा पास दस्तुरमा ५० प्रतिशत छुट दिइने छ । पर्यटन र मनोरञ्जन उद्योगलाई स्थापनाको पाँच वर्षसम्म नगरपालिकाले लिने व्यवसायिक कर र नक्सा पास दस्तुरमा ५० प्रतिशत छुट दिइने छ ।

लगानी सम्मेलनमा प्रस्तुत गर्ने परियोजनाबारे अलि खुलाइदिनुस् न

परियोजना छनोट गर्दा वातावरण र नागरिकको स्वास्थमा असर पार्ने सूर्तिजन्य, मदिराजन्य व्यवासायलाई निरुत्साहित गरेका छौं । स्थानीय कच्चा पदार्थमा आधारित, वातावरण प्रदुषण न्यूनीकरण, फोहरमैला ब्यवस्थापन, कृषि, प्राविधिक शिक्षा, स्वास्थ्य आदीमा आधारित परियोजनालाई प्राथमिकता दिइएको छ ।

एकीकृत कृषि उपज संकलन तथा प्रशोधन केन्द्र, एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र, ढाक्रेबास एकीकृत पर्यटकीय स्थल, मासु प्रशोधन केन्द्र, सिटी कलेज, प्रादेशिक बसपार्क, तिलोत्तमा अटोभिलेज, औद्योगिक क्षेत्र, व्यापारिक केन्द्र, रिङ रोडमा रेलवे, स्मार्ट हाटबजार, एकीकृत दुध संकलन तथा प्रशोधन केन्द्र, स्मार्ट पार्किङ स्मार्ट बाल उद्यानलगायत २२ परियोजना प्रस्ताव गर्दैछौं । ५० अर्ब रुपैयाँ बराबरको परियोजना तिलोत्तमामा भित्रिने अपेक्षा छ ।

कति वटा परियोजनामा कति लगानी भित्रिने अपेक्षा गर्नुभएको छ ?

आजको दिनसम्म सम्पर्कमा आउनुभएका लगानीकर्ताहरु हेर्दा राम्रै लगानी भित्रिने गरी सम्झौता हुन्छ भन्ने लाग्छ । तर मैले अघि पनि भने यो सम्मेलनको दुईवटा महत्व छ-तत्काल सम्झौता गरेर आउने लगानी, पछि आउने लगानी । यसर्थ, सम्मेलनमा कति लगानीको सम्झौता हुन्छ भन्ने कुरा मात्र सबथोक होइन ।

अर्को कुरा, तिलोत्तमाको सम्मेलनमा आएका विदेशी लगानीकर्ताले भोलि नेपालका अन्य ठाउँमा पनि लगानी गर्न सक्छन् । त्यसैले हामीले के भनेका छौं-आयोजनाको हिसाबले हामीले आयोजना गरेको देखिए पनि यो सबैको लगानी सम्मेलन हो ।

लगानी सम्मेलनका लागि रुपन्देहीका अन्य पालिका तथा प्रदेश र संघीय सरकारसँग कस्तो सहकार्य भएको छ ?

यसमा सबैको सहयोग र सहकार्य छ, लगानी बोर्डको पनि सहयोग छ । हामीले गर्ने परियोजनाको सम्झौता कार्यान्वयनमा पनि सबैको सहकार्य जरुरी छ । म फेरि पनि जोड दिएर भन्न चाहन्छु, यो लगानी सम्मेलन तिलोत्तमाको मात्र मात्र नभएर सबैको हो । सम्मेलनले जति लगानी ल्याउनेछ, त्यसको फाईदा अपरोक्ष रुपमा सबै नेपालीलाई हुनेछ ।

तिलोत्तमाका सम्भाव्य परियोजनाहरूमा लगानी गरेर कस्तो प्रतिफल पाइन्छ, लगानीको प्रशासनिक-कानुनी पाटो कस्तो छ, लगानीबारे स्थानीय सरकारको दृष्टिकोण के छ, परियोजना कार्यान्वय गर्दा आईपर्ने व्यवहारिक समस्या हल गर्ने उपाय के हुन सक्छ भन्ने जानकारी सम्मेलनले दिनेछ ।

सम्मेलनमा सहभागी हुन सम्पूर्ण लगानीकर्तालाई आहृवान गर्दै सहयोग पुर्‍याउन सबैलाई अनुरोध गर्दछु । सम्मेलनका सन्दर्भमा सबैबाट रचनात्मक सुझावको अपेक्षा छँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment