Comments Add Comment

व्यंग्य: एकल कविता वाचन !

‘दादा, भोलि सभागृहमा एकल कविता वाचन छ रे, जाने त होला नि ? मैले रमणलाई दुईटा पास राखिदिन भनेको छु’ विधानले शुक्रबार दिउँसो फोन गरेर सोध्यो ।

उमेरमा अलि धेरै नै अन्तर भए पनि बिधान र म निकै घनिष्ठ छौँ । ऊ स्वतन्त्र पत्रकार, अनि मचाहिँ स्वतन्त्र पाठक, त्यसमाथि दुवैको रुची साहित्य । दुबैको खुब ‘गठ्ठी’ मिल्छ ।

‘जान्न म, तँ जा’ मैले त्यति रुची देखाइनँ ।

कविताको कुरो सुनेपछि मैले त्यही उत्तर दिन्छु भन्ने उसलाई पहिले नै थाहा थियो । शायद ऊ के प्रत्युत्तर दिनुपर्छ भनेर पहिलेदेखि नै तयारी गरेर बसेको थियो होला ।

‘ह्या दादा पनि, हजुरकै लागि भनेर कस्तो दुःख गरेर रमणसँग पास मिला’छु, जान्न भनेर हुन्छ ? जानैपर्छ ।’ उसले मलाई जबर्जस्ती लान खोजेको प्रष्ट भयो ।

‘सुर न तालका कविता सुन्न जान्न म । त्यहाँ गएर मन र कानलाई पीडा दिनुभन्दा त बरु दिनभरि घरमै सुते पनि फाइदा छ । फेरि तँलाई पनि थाहा छँदैछ नि म जान्न भन्ने, किन दुईवटा पास मगाइस् ? अरु कसैलाई लिएर जा ।’ मैले उसको प्रस्तावलाई इन्कार गरिदिएँ ।

‘धेरै पूर्वाग्रही पनि नहुनुस् के कविताप्रति । सबै कवि एकै पनि त हुँदैनन् नि, राम्रा कविहरु पनि त छन् नि ।’ उसले आफ्नो तर्क अगाडि सार्‍यो ।

‘सबैको रुची एउटै हुँदैन नि कान्छा, किन कुरो बुझ्दैनस् ?’ मेरो बोलि अलि नम्र भएको थियो । उसले बुझिसकेको थियो कि मेरो मन कमलो भैसकेको छ ।

‘दिउँसो फर्कंदा बरु झम्सिखेलमा हाँसको छोयला खुवाउँला’ उसले अचानक मलाई हाँसको छोयलाको चारो हाल्यो ।

‘कसको कविता हो र ?’ चारोलाई वेवास्ता गर्दै मैले सोधें ।

‘जसको भए पनि हिँड्नुस् न । अवश्य पनि राम्रो छ । भोलि दिउँसो ठीक एक बजे है त ? ढिलो नगर्नुहोला नि ।’

मेरो स्वीकृति नपर्खी उसले फोन राख्यो ।

गद्य कविता र ती आफूलाई कवि भन्ने फुर्को झुन्ड्याएका ‘फुर्के कवि’ हरुलाई सम्झँदै मन अमिलो भयो । उनीहरुले कविताका नाममा नेपाली साहित्यको बेइज्जत नै गरेका छन् जस्तो लाग्छ ।

नेपाली साहित्यको पाठक र शुभ चिन्तक भएका नाताले भाषा र साहित्यमा भएका यस्ता विकृति र विसंगतिको विरोधमा आवाज उठाउनु मेरो अधिकार र कर्तव्य सम्झन्छु म ।

अर्को दिन शनिबार भएकाले बिहानको खाना अलि ढिलो हुने भयो । घरबाट निस्कँदा पौने बाह्र भैसकेको थियो । शनिबार भए पनि टेकुदेखि त्रिपुरेश्वरसम्मको बाटो पुरै ठप्प थियो । एकेडेमी नपुग्दै बसमा नै एक बजिसकेको थियो । भनेको समयमा पुग्न सकिएन ।

घडी हेर्दै कछुवाको गतिमा अगाडि बढेको बसमा छट्पटिँदै बस्नुबाहेक मेरो दोस्रो उपाय पनि थिएन । बस सुन्धारामा रोकेपछि हिँडेरै जानुपर्‍यो भनेर दौडी–दौडी असीन–पसीन हुँदै एकेडेमीमा पुगें । ढोकासम्म पुग्दा सवा एक भैसकेको थियो ।

स्वाँ–स्वाँ र फ्वाँ–फ्वाँ गर्दै ढोकामा पास देखाएर म सभागृहभित्र पसें । भित्र मान्छे खचाखच थिए, एउटी महिला मञ्चमा पुगेर भर्खर केही बोल्न थालेको जस्तो देखिन्थिन् ।

महिला केही बोल्दै थिइन, मैले कान ठाडो पारेर ध्यान दिएर सुनें । मैले त कविता वाचन शुरु भैसक्यो होला भन्ने सोचेको थिएँ । तर, उनले सायद भाषण गर्दै थिइन् ।

ती महिला को थिइन् मैले चिनिनँ । सायद कुनै राजनीतिक दलकी नेतृ या प्रज्ञा प्रतिष्ठानकी कुनै ठूलो पदकी कर्मचारी थिइन् कि भन्ने अड्कल काटें । अथवा कुनै नाम चलेकी साहित्यकार पनि हुन सक्थिन् । जो भए पनि त्यो मेरो सरोकारको विषय थिएन । नेपालमा प्रायःजसो कार्यक्रममा कोही न कोही बिशिष्ठ व्यक्ति आइहाल्छन् । उनीहरुलाई भाषण गर्न दिनै पर्‍यो । जुनसुकै कार्यक्रममा पनि भाषण त तरकारीमा नुनजस्तै अनिवार्य भैसक्यो ।

एकछिन उनको भाषण सुन्दा उनी कुनै राजनीतिक दलकी नेताजस्तो लाग्दैनथ्यो । उनले आफ्नो भाषणमा प्रयोग गरेका धेरै शब्दहरु साहित्यिक थिए । पक्कै पनि प्रज्ञा प्रतिस्थान कि ठूलै कर्मचारी होलिन् भन्ने मेरो अड्कल ठिकै निस्क्यो ।

तर, जति साहित्यिक शब्द प्रयोग गरे पनि मलाई उनको भाषण सुन्नु थिएन । म त कविता सुन्न गएको थिएँ । उनको साहित्यिक भाषणपछि कविताको पालो आउला भन्ने मैले आशा गरेको थिएँ । पाँच मिनेट बित्यो, दश मिनेट बित्यो, तर भाषण सकिएन ।

मैले केही काम नभएपछि मोबाइल खोलें, विधानलाई उसको मेसेजको उत्तर पठाएँ । घडी हेरें । २० मिनेट बितिसकेको थियो, तर पनि भाषण सकिएन । एकछिन फेसबुकमा भुलेर फेरि घडी हेरें, आधा घण्टाभन्दा बढी भैसकेको थियो । तर, भाषण रोकिने छाँट थिएन

त्यस्तो भाषण गर्ने रहर भएको भए किन प्राज्ञिक क्षेत्रमा लाग्नु ? राजनीतिक दलमा लागेर नता टुँडिखेलमा भाषण ठोके भैहाल्थ्यो नि, केको साहित्यिक झुण्डमा आएर भाषण गर्नु ?

फेरि यताउता नजर घुमाएँ, उनको भाषण सुनिरहेकाहरुले बीचबीचमा तालि पनि पिट्थे । एक दुईपटक त मैले पनि जाँगर नलागी–नलागी उनीहरुको तालीको तालमा ताल मिलाएँ, पछि त्यो पनि अल्छी लाग्यो ।

फेरि मोबाइल खोलें अनि इयरफोन लगाएर सानो स्वरमा नारायण गोपालका सुमधुर संगीत सुन्दै त्यसैमा लीन भएँ । छेउमा बसेको मान्छे अनौठो नजरले मलाई हेर्दै थियो । मैले अगाडिको लहरको कुर्सीमा हातमाथि टाउको अड्याएर संगीतमा आफूलाई डुबाएँ ।

संगीतमा डुबेपछि समय कति छिटो बगेछ पत्तै भएन, अचानक गडडड तालीको आवाजले मेरो एकाग्रता भङ्ग ग¥यो ।

महिला भाषण सकेर टाउको निहुराएर सबैलाई धन्यवाद दिँदै मञ्चबाट बाहिरिँदै थिइन् । दर्शकहरुले फेरि गडगड ताली बजाए । उनलाई देख्दै मलाई रीस उठ्न थालिसकेको थियो ।

जे भए पनि अब कविता सुन्न पालो आयो भनेर मनमा अलिकति आशा पलायो । कानबाट इयरफोन निकालेर खल्तीमा राखें ।

कान ठाडो पारेर कविताको प्रतीक्षामा लागें ।

तर, मानिसहरु आफ्नो कुर्सीबाट बिस्तारै उठ्न शुरु गरे । मेरो छेउको कुर्सीमा बसेको मान्छे पनि उठ्ने तरखर गर्दै थियो । त्यो देखेर मैले उसलाई सोधें, ‘के विश्रामको समय भएको हो ?’

‘हैन, सकियो ।’ उसले कुर्सीबाट उठ्दै भन्यो ।

म अझै उठेको थिइनँ । ‘अनि कविता वाचन कतिबेला हुन्छ त ?’ मैले आफ्नो जिज्ञासा राखें ।

‘यत्रोबेर सुनेको चाहिँ के हो त ?’ उसले अनोठो नजरले मलाई हेर्दै उत्तर दियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment