Comments Add Comment

डेंगु नियन्त्रण गर्ने सरकारी काइदा : छतमा पानी जमे कारबाही !

१५ भदौ, काठमाडौं । आइतबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा डेंगु रोगको विषयमा छलफल भयो ।

पछिल्लो समय डेंगुको प्रकोप बढ्दै गएको र स्वास्थ्यमन्त्रीले समेत सरकारी प्रयासले मात्र नियन्त्रण सम्भव नभएको बताइरहेका बेला समितिले छलफल गरेको हो । छलफलमा स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादव बोलाइएका थिए ।

उनले डेंगु नियन्त्रणका लागि हरेक घरमा पानी जम्ने खाल्डा पुर्नेदेखि छतमा पानी जम्न दिन नहुने बताए ।

राज्यमन्त्री यादवले डेंगु नियन्त्रणका लागि सबैको प्रयास आवश्यक रहेको उल्लेख गर्दै घरको छतमा पानी जमाउनेलाई पनि कारबाही गर्ने गरी कानुन बनाउनुपर्ने बताए ।
‘मेरो घरमा लामखुट्टेको लार्भा छ । दुई सय मिटरसम्मको मान्छेलाई त्यो लामखुट्टेले टोक्छ । जसको घरमा लामखुट्टको लार्भा छैन त्यो घरको मान्छेलाइ पनि टोक्ने भयो । त्यसैले जसको घरमा लार्भा पाइन्छ त्यसलाई दण्डित गर्ने व्यवस्था गर्नुपर्ने अवस्था आउन सक्छ । हामीले त्यो गर्न सक्नुपर्छ’ उनले भने ।

सरकारले सचिव र सह–सचिवहरुको सरुवा छिटो–छिटो गरिरहँदा र योग्य कर्मचारी समायोजनका नाममा स्थानीय तहमा पठाउँदा मन्त्रालयलाई काम गर्नमा समस्या भइरहेको पनि राज्यमन्त्री यादवको गुनासो थियो ।

साउनयता १५ हजारमा संक्रमण !

नेपालमा गत साउनयता १५ सय ३७ जनामा डेंगुको संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस आधारमा १५ हजार भन्दा बढीमा डेंगुको संक्रमण भएको हुन सक्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका ट्रपिकल मेडिसिनका प्रमूख कन्सलटेन्ट डाक्टर अनुप बास्तोला बताउँछन् ।

यो पनि पढ्नुहोस डेंगुको डरलाग्दो प्रकोप  !

‘९० प्रतिशत सुशुप्त रहन्छ र १० प्रतिशत मात्रैमा लक्षण देखिन्छ । एक सयमा डेंगू भयो भने दश जनामा मात्रै त्यसको लक्षण देखिन्छ’ आइतबार संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा डा. बास्तोलाले भने ।

अझै दुई महिना डेंगू रोग फैलन सक्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर विवेक लाल बताउँछन् । मौसमको अवस्था हेर्दा अझै दुई महिना लामखुट्टेले फुल पार्न सक्ने अवस्था रहन्छ । त्यसकारण अबको दुई महिनासम्म डेंगू रोग फैलिन सक्ने खतरा रहन्छ’ उनले भने ।

डेंगूबाट कुन प्रदेश कति प्रभावित ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार डेंगूबाट प्रदेश ३ र प्रदेश १ बढी प्रभावित छ । साउनयता प्रदेश १ मा ५ सय ६३ र प्रदेश ३ मा ५ सय ५९ जना प्रभावित भएका छन् ।

गण्डकी प्रदेशमा साउनयता ३ सय ३९ जनामा डेंगू फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै प्रदेश ५ मा ५६, प्रदेश २ मा १४, सुदूरपश्चिममा ६ जनामा डेंगुको संक्रमण भएको पुष्टि भएको छ । कर्णालीमा भने डेंगु देखिएको छैन ।

सांसद पनि डराए

समिति बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद अञ्जना विशंखेले आफूहरुलाई पनि डेंगुको डर रहेको बताइन् । ‘मलाई नै शंका भइसक्यो, कतै ज्वरो आउँदा नै डेंगू लागिसक्यो कि !’ उनले भनिन् ।

सांसदहरुले लामखुट्टेको नियन्त्रण गर्न नसके डेंगूको महामारी फैल्न सक्ने भन्दै सरकारलाई ठोस कार्ययोजना बनाउन पनि सुझाए । नेपाली कांग्रेसका सांसद मानबहादुर विश्वकर्माले डेंगू रोग नियन्त्रणका लागि संवेदनशील नदेखिएको आरोप लगाए ।

नेकपाका सांसद जीवनराम श्रेष्ठले पनि विश्वमै महामारीको रुपमा फैलिएको डेंगू नियन्त्रणका लागि आवश्यक कार्ययोजना बनाउन नसकेको भन्दै सरकारको आलोचना गरे । ‘लामखुट्टे नियन्त्रण गरेर डेंगू लाग्न नदिन किन गम्भीर नभएको ? भन्दै उनले सरकारलाई प्रश्न गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment