Comments Add Comment

बागमती नदीको बाढीले पार्ने प्रभावबारे नेपाल–भारतका वुद्धिजिवीले देखाए चासो

१७ भदौ, वीरगञ्ज । बागमती नदीमा आउने बाढीले तराईका जिल्ला र सीमावर्ती भारतको विभिन्न जिल्लामा पार्ने प्रभावबारे नेपाल र भारतका वुद्धिजिवीहरुले चासो देखाएका छन् ।

नेपाल–भारत खुला सीमा संवाद समूह जनकपुरले सहजीकरण गरेको जनसंवादमा सहभागी दुवै देशका वुद्धिजिवीहरुले बागमती नदी किनार क्षेत्रमा राज्यको उचित ध्यान पुग्न नसकेको निष्कर्ष निकालेको हो ।

बाढीले पु¥याउने मानवीय एवं भौतिक क्षति न्यूनिकरण गर्नेबारे सम्वन्धित निकायले समयमा नै ध्यान नदिँदा वर्षेनी दुवै देशका नागरिकले समस्या भोग्नु परेको निष्कर्ष उनीहरुले निकालेका हुन् ।

दुई देशका सरकारबीच बाढी व्यवस्थापनका सवालमा आपसी समन्वय हुन नसकेकाले नै डुबानको समस्या झेल्नु परेको उनीहरुले बताएका छन् ।

अनुगमनको क्रममा विपदको समयमा दुवै देशका स्थानीय समकक्षी पदाधिकारीबीच ‘हट लाईन’ संवादको अभाव देखिएको टोलीमा सहभागी बरिष्ठ पत्रकार चन्द्रकिशोर झाले बताए ।

प्रभावित क्षेत्रको भ्रमण गर्दा जोखिम क्षेत्रको पहिचान नगरी तटबन्ध निर्माण गरिएको, नदी क्षेत्रमा बालुवाको उत्खनन अवैज्ञानिक ढंगले हुने गरेको पाइएको उनले बताए ।

चुरे विनासका कारण नदी क्षेत्रमा बालुवाको मात्रा बढेको, बाढीले मलिलो माटो बगाउँदा उत्पादन क्षमता घटेको, पिउने पानी दुषित बन्न पुगेको, तटबन्धलाई लिएर सर्वसाधरणको दुई खाले धारणा रहेको उनले बताए ।

नेपालतर्फ बागमती नदीको दुवै किनारमा बनाइएका तटबन्धलाई भारतले निर्माण गरेको बाँधसम्म नपुर्‍याउँदा बाढी बस्तीमा पस्न पुग्दा दुवै देशका जनता प्रभावित हुने गरेको पाइएको झाले बताए ।

यस्तै भारतले बनाएको बाँधमा राखिएको स्वीच गेटको उपयोग सही ढंगले हुन नसकेको, नदीसँग जोडिएको नहर तथा सहायक नदी क्षेत्रमा तटबन्धमा पर्ने दवाव रोक्न ध्यान नदिएको, भारतले सीमा क्षेत्रमा एकतर्फी रुपले बनाएको वाँधका कारण नेपालतर्फ डुवान पर्ने गरेको पाइएको उनले बताए ।

काठमाडौंको शिवपुरी डाँडामा रहेको बागद्वर उद्गम स्थल रहेको बागमति नदी चोभारको गल्छी हुँदै तराईको रौतहट भएर भारतको बिहारसम्म बग्ने गरेको छ ।

बागमती नदीमा आउने बाढीले नेपाल तर्फ रौतहट र सर्लाहीमा बढी क्षति पुर्‍याउने गरेको छ । भारत तर्फ भने बिहार राज्यको सीतामढ़ी, शिवहर, मुजफ्फरपुर, दरभंगा, समस्तीपुर, खगडÞियासम्म बाढीले क्षति गर्ने गरेको छ ।

अध्ययन टोलीमा बिहार (भारत) का तर्फबाट अरूण दास, नागेन्द्र प्रसाद सिंह र नेपालको तर्फबाट चन्द्रकिशोर झा, राजीव झा, कुशेश्वर र प्रेमचन्द झा सहभागी भएका थिए ।

टोलीले नेपाल तर्फ रौतहटको गौर, राजदेवी, दुर्गा भगवती, माधवनारायण, गढ़ीमाई नगरपालिका क्षेत्रमा पश्चिमी तटबन्धका अवस्थाकाबारेमा निरीक्षण गरेको थियो ।

भारततर्फ भने बिहारको सीतामढी जिल्लाको पूर्वी तटबन्धसँग जोडिएको रूसलपुर, छनकी, जमला, पर्सा, श्रीनगर, बसबिट्टा, मनियारी, बडहडवा तथा पश्चिमी तटबन्ध क्षेत्रका आदमबान, मसाही, बैरगनियासम्म पुगेर टोलीले स्थानीयसँग संवाद गरेको थियो ।

संवाद टोलीले भदौ ९ गतेदेखि तीन दिनसम्म प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment