Comments Add Comment

निजी उद्यमको आधा हिस्सा युवाको हातमा, ५४.५ प्रतिशत उद्यमी ४० वर्षमुनिका

१७ भदौ, काठमाडौं । नेपालमा युवा उद्यमीको सख्या उत्साहजनक रहेको पाइएको छ । केन्द्रीय तथ्यांक विभागले आर्थिक सर्वेक्षणअन्तर्गत मानव सहभागितासम्बन्धी अन्तिम प्रतिवेदनमार्फत उद्यमीहरुको विवरण बाहिर ल्याएको हो ।

प्रतिवेदनअनुसार देशभर ९ लाख २३ हजार ३ सय ५६ आर्थिक प्रतिष्ठान रहेका छन् । त्यसमध्ये आधाभन्दा बढी (४,५०,४६४) आर्थिक प्रतिष्ठानको स्वामित्व युवाको हातमा छ ।

विभागले आर्थिक गणनाका दौरान फेला परेका थप तथ्यांकहरुलाई क्षेत्रगत रुपमा सार्वजनिक गरेको हो । विभागलाई पहिलो आर्थिक गणनाका लागि जापानी सहयोग नियोग जाइकाले प्रत्यक्ष सहयोग गरेको थियो ।

देशभर सञ्चालनमा रहेका आर्थिक प्रतिष्ठानमध्ये आधा प्रतिष्ठान मात्र सरकारी निकायमा दर्ता भएका छन् । ४९.९ प्रतिशत प्रतिष्ठान दर्ता नभई सञ्चालन भइरहेको प्रतिवेदनले औंल्याएको छ । सबै खालका प्रतिष्ठानमा युवा लगानीकर्ताको बाहुल्य देखिएको छ । आर्थिक गणनाले ४० वर्षमुनिका व्यक्तिलाई युवा मानेको छ ।

सरकारले १ बैशाख २०७५ देखि ३१ जेठसम्म देशभर आर्थिक गणना गरेको थियो । यसका लागि विभागले ७७ वटै जिल्लामा कार्यालय स्थापना गरेको थियो । देशभर सञ्चालनमा रहेका आर्थिक प्रतिष्ठानको संख्या यकिन गर्ने उद्देश्यले पहिलोपटक यस्तो गणना गरिएको विभागको भनाइ छ ।

यस गणनाबाट देशमा आर्थिक तथ्यांकको आधार खडा भएको विभागले उल्लेख गरेको छ । यस तथ्यांकबाट संघ, प्रदेश र स्थानीय तहका सरकारहरुलाई योजना तर्जुमा र नीति निर्माणमा आधारभूत आर्थिक क्रियाकलाप उपलब्ध हुने, राष्ट्रिय लेखा प्रणालीको सुदृढिकरण हुने, तथ्यांकीय व्यवसायिक रजिष्टर निर्माण हुने विभागको भनाइ छ । यसबाहेक सम्बन्धित क्षेत्रका वयवसायी तथा प्राज्ञिक अनुसन्धानकर्ता र अन्य तथ्यांक प्रयोगकर्तासमेत लाभान्वित हुने विभागले जनाएको छ ।

आर्थिक गणनाका क्रममा अन्तर्राष्ट्रियस्तरको औद्योगिक वर्गीकरणलाई आधार मानेर त्यसमा उल्लेखित १८ क्रियाकलापलाई समेटिएको थियो । गणनामा आर्थिक क्रियाकलाप सञ्चालन गर्ने प्रतिष्ठानको ठेगाना, मूख्य क्रियाकलाप, रोजगार, पूँजी लगानी, ऋणमा पहुँच, रोजगारी, औसत मासिक बिक्री तथा आम्दानी, औसत मासिक खर्चजस्ता विवरण संकलन गरिएको थियो ।

म्यानेजरसमेत युवा

युवा लगानीकर्ताको सक्रियतामा खुलेका अधिकांश उद्योग-प्रतिष्ठानले म्यानेजरहरुसमेत युवा नै राखेका छन् । तथ्यांकअनुसार देशभर खुलेका आर्थिक प्रतिष्ठानमा युवा म्यानेजरको संख्या ५४ प्रतिशत रहेको पाइएको छ ।

तथ्यांक अनुसार करीव ५ लाख आर्थिक प्रतिष्ठानमा म्यानेजरका रुपमा युवाले नेतृत्व गरिरहेका छन् । विदेशी लगानीकर्ताको संख्या १.२ प्रतिशत रहेको पाइएको छ भने महिलाको नेतृत्वमा पनि उल्लेख्य आर्थिक प्रतिष्ठानहरु खुलेको तथ्यांकले देखाएको छ ।

भाडामा धेरै प्रतिष्ठान

आर्थिक गणनाले देखाएअनुसार धेरैजसो आर्थिक प्रतिष्ठानको आफ्नै सम्पत्ति छैन । अरुको सम्पत्ति भाडामा लिएर उद्यम सञ्चालन हुने गरेको पाइएको छ । सवा ९ लाख आर्थिक प्रतिष्ठानमध्ये आफ्नै भवन र कोठामा सञ्चालन भएका आर्थिक प्रतिष्ठान मात्र ४६.७ प्रतिशत (४००८४८) रहेका छन् । भवन तथा कोठा भाडामा लिएर ४९.७ प्रतिशत उद्यम संचालनमा रहेका छन् ।

सडकमै ३४ हजार विजनेश

आर्थिक गणनाले देखाएरअनुसार ३४ हजार वटा व्यवसाय भने सडकमै सञ्चालनमा छन् । यसरी सञ्चालन हुने उद्यमको संख्या ३.७ प्रतिशत हुने तथ्यांकले देखाएको छ ।

कूल आर्थिक प्रतिष्ठानमध्ये पौने ४ लाख आर्थिक प्रतिष्ठान पारिवारिक रुपमा निरन्तरता दिइएका हुन् । यस्ता प्रतिष्ठानमा किराना पसलदेखि अन्य साना-ठूला पसलहरु पर्छन् ।

आर्थिक प्रतिष्ठानहरुले कूल ३२ लाख २८ हजार ४ सय ५७ रोजगारी सिर्जना गरेका छन् । उक्त तथ्यांकअनुसार एक प्रतिष्ठानले औसतः ३.५ जना व्यक्तिलाई रोजगारी दिन्छन् ।

आर्थिक गणनाले देखाएअनुसार सन् २०१५ यता मुलुकभित्र स्वरोजगारको संख्या निरन्तर बढ्दै गएको छ । आर्थिक गणनाका दौराना नयाँ विजनेसका रुपमा अपि्रल २०१५ पछि खुलेका आर्थिक प्रतिष्ठानलाई समेटिएको थियो । यस अविधमा झण्डै ४ लाख नयाँ आर्थिक प्रतिष्ठानहरु खुलेर आर्थिक गतिविधिमा लागेको पाइएको छ ।

काठमाडौंमा १ लाख २५ हजार, मनाङमा ४८७ प्रतिष्ठान

आर्थिक गणनाले देखाएअनुसार काठमाडौंमा सर्वाधिक आर्थिक प्रतिष्ठान खुलेका छन् भने मनाङमा सबैभन्दा कम छन् । मनाङमा ४ सय ८७ प्रतिष्ठान रहेकोमा १६ सय ९५ जनाले रोजगारी पाएका छन् । काठमाडौंमा १ लाख २५ हजार ४७ प्रतिष्ठानले ५ लाख ९० हजार २ रोजगारी सिर्जना गरेको छ ।

कुन व्यवसाय कति ?

कृषि वन तथा माछापालन व्यवसाय (दर्ता भएका मात्र) : २४२२९

खानी तथा उत्खनन् : ६६३

औद्योगिक उत्पादन : १०४०५८

विद्युत, ग्यास, वाफ तथा वातानुकुलित आपूर्ति : १२४२

पानी, आपूर्र्ति ढल, फोहोर व्यवस्थापन तथा प्रशोधन क्रियाकलाप : २५२५

थोक, खुद्रा व्यापार, मोटर गाडी, मोटरसाइकलको मर्मत : ४९८०६९

यातायात तथा गोदाम : ३१८२

आवास सुविधा तथा खाना व्यवस्था : १३०५४२

सूचना तथा संचार : २७९६

वित्तीय तथा बीमा : १७९९६

घर जग्गा कारोबार : २०७

पेशागत, वैज्ञानिक तथा प्राविधिक क्रियाकलाप : ८२०४

प्रशासनिक तथा सहयोगी क्रियाकलाप : ६८७३

शिक्षा : ४०८३९

मानव स्वास्थ्य तथा सामाजिक कार्यका क्रियाकलाप : १९९९०

कला, मनोरन्जन तथा मनोविज्ञान क्रियाकलाप : २८२१

अन्य सेवा क्रियाकलाप संचालन गर्ने प्रतिष्ठान : ५७५१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment