
१८ भदौ, काठमाडौं । संसदीय समिति अन्तर्गतको कार्य दलले काठमाडौंको महाराजगंजस्थित निर्माणाधिन सुरेश वाग्ले मेमोरियल क्यान्सर केन्द्र भवन निर्माणका लागि अन्तिम पटक समय थप गर्नुपर्ने सिफारिस गरेको छ ।
संंघीय संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तरगतको कार्य दलले स्थलगत अध्ययन गरी तयार पारेको प्रतिवेदनमा सो भवन निर्माण कार्य सम्पन्न गर्न अन्तिम पटक समय थप गर्नुपर्ने निष्कर्ष निकालेको हो ।
बुधबार समितिको बैठकमा सो प्रतिवेदन पेश गर्दै कार्य दलकी संयोजक अञ्जना बिशंखेले भेरिएशन स्वीकृत भएको मितिले ९ महिनाभित्र भवन हस्तान्तरण हुन नसकेमा ठेकेदार कम्पनी गौरा कन्ट्रक्सनसँगको सम्झौता रद्द गर्न निर्देशन दिनुपर्ने सिफारिस गरिएको स्पष्ट पारिन् ।
समयमा निर्माण सम्पन्न नभए सम्झौतामा उल्लेखित क्षतिपूर्ति वापतको रकम असुल गरी सम्झौता रद्द गरेर कम्पनीलाई कालो सूचीमा राख्न पनि सरकारलाई निर्देशन दिनुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।
कार्य दलले सरकारले समयमै भुक्तानी नदिएका कारण सो केन्द्रको भवन निर्माण कार्य सम्पन्न गर्न ढिलाई भएको पनि स्पष्ट पारेको छ ।
सो केन्द्रको भवन निर्माण कार्य ७० प्रतिशत सम्पन्न भएपनि भुक्तानी निकासामा ढिलाई हुँदा सम्पन्न गर्ने काममा पनि ढिलाई भएको पनि पाइएको कार्य दलकी संयोजक विशंखेले बताइन् । भूकम्पका कारण पनि सो भवन निर्माणको काममा ढिलाइ हुन गएको कार्य दलको निष्कर्ष छ ।
२०६८ साल मंसीर २८ गते निर्माण कार्य सुरु गरी ३ वर्ष भित्र सम्पन्न गरी सक्ने लक्ष्य लिइएको सो केन्द्रको भवनको निर्माण कार्य बजेट निकासा र भूकम्पका कारण ढिलाई हुन गएको दावी गरिएको छ ।
कार्य दलको प्रतिवेदनमा सो भवनको डिजाईनमा फेरबदल भइरहने, पानी तथा ढल निकास र सडक विस्तार कार्यले पनि सो भवनको निर्माणका कार्यमा केही अवरोध हुन पुगेको पनि कार्य दलको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया 4