Comments Add Comment

शरद ऋतुमा २ सय ३० जनाले लिए आरोहण अनुमति, आकर्षण मनास्लुमा

Photo Credit : अनलाइनखबर फाइल

१८ भदौ, काठमाडौं । शरद ऋतु (असोज-कात्तिक) मा हिमाल आरोहण गर्न ८ हजार १ सय ६३ मिटर उचाईको मनास्लुमा पर्वतारोहीको आकर्षण देखिएको छ । पर्यटन विभागका अनुसार मंगलबारसम्म कूल २४ टोलीका २ सय ३० जना आरोहीले शरद ऋतुमा हिमाल चढ्न अनुमति लिएकामध्ये मनास्लुका लागि मात्र १८ टोलीका १ सय ९४ आरोही छन् ।

यस हिमालबाट आगामी सिजनका लागि जारी पर्वतारोहण अनुमतिबाट २ करोड रुपैयाँ रोयल्टी संकलन भइसकेको छ । मनास्लुपछि द्यौलागिरी हिमाल चढ्न आरोही इच्छुक देखिएका छन् । विभागको तथ्यांक अनुसार द्यौलागिरीमा एउटा मात्र टोलीले अनुमति लिए पनि त्यसमा १५ जना सदस्य रहने छन् । यो हिमाल ८ हजार १ सय ६७ मिटर अग्लो हो ।

माउन्ट ल्होत्से (८५१६ मिटर) आरोहण गर्न २ समूहका १३ जना सदस्यले अनुमति लिएका छन् । मकालु हिमाल (८४३६) आरोहण गर्न एक समूहमा ४ सदस्यले अनुमति लिएको विभागले उल्लेख गरेको छ । मनास्ली हिमाल (६१०३) चढ्न एक समूहमा तीन सदस्यले अनुमति प्राप्त भएका छन् ।

मंगलबारसम्म सगरमाथा आरोहणका लागि भने एक मात्र अनुमति जारी भएको छ । सगरमाथामा वसन्तु ऋतुमा बढी भीड लाग्छ । शरद ऋतुमा भने सगरमाथा आरोहण प्राविधिक रुपमा कठिन मानिन्छ । प्रतिकूल मौसमका कारण यो हिमाल चढ्न शरद ऋतुमा धेरै आरोही इच्छुक हुँदैनन् ।

मंगलबारसम्म कूल ६ वटा हिमालका लागि मात्र अनुमती जारी भएको छ । यस अवधिमा हिमाल आरोहणमा जाने पर्वतारोहीबाट सरकारले २ करोड ४० लाख रुपैयाँ रोयल्टी संकलन गरिसकेको छ ।

शरद ऋतुमा सगरमाथालगायत हिमाल चढ्दा वसन्तु ऋतुको तुलनामा आधा मात्र रोयल्टी लाग्ने गर्छ । सगरमाथा आरोहणमा वसन्तु ऋतुमा सरकारले ११ हजार डलर लिने गरेकामा शरद ऋतुमा भने मात्र ५५ सय डलर लिने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment