Comments Add Comment

बसाइँसराइले सुनसान बन्दैछन् गाउँबस्ती

२१ भदौ, गुल्मी । पहाडबाट तराई र दुर्गमबाट सुगमतिर हुने बसाइँसराइले पुराना गाउँबस्ती निर्जन बन्दै गएका छन् । दूरदराजका गाउँठाउँमा भौतिक विकास र अवसरको सम्भावना कम हुँदा मानिहरु आफ्नो पुर्ख्यौली थातथलो त्यागेर धमाधम सुगमतिर बसाइँ सरिरहेका छन् ।

मुलुकले अपनाएको संघीय शासन प्रणालीले यस्तो बसाइँसराइ रोक्ने कुनै छेकछन्द देखाएको छैन । बसाइँसराइले खास गरेर पहाडी कन्दराका गाउँघरलाई मानवविहीन बनाउँदै लगेको छ । गुल्मी जिल्लामा तालाबन्द घर संख्या धमाधम बढेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका– १० को सिमीचौर मोहराई टोलका ८४ मध्ये २५ घरपरिवार बसाइँ सरिसकेका छन् ।

एउटै कुँवर समुदायको बसोबास भएको मोहराईका यतिका परिवार केही वर्षमै बसाइँ सरेर गएको टोलका लालबहादुर कुँवर बताउँछन् । ती सबै परिवार सुविधाको लागि शहर पसेको उनले बताए । उनी भन्छन्, ‘टोलमा विवाह, पूजाआजा, परम्परागत सामूहिक कार्य आदि गर्नु पर्दा समस्या हुन थालेको छ ।’

मोहराईकै बिनोद कुँवर खेतीपाती बाँदरले सखाप पारिदिनेदेखि खानेपानीसम्मको समस्याले गाउँमा जिविका कठिन बन्दै गएको बताउँछन् । ‘एक त विकास र सुविधामा गाउँहरुलाई पछि पारियो’, उनी भन्छन्, ‘बडा दुःखले गरेको खेतीपाती पनि बाँदरलाई ठिक्क भएपछि सक्ने जति सबै बसाइँ सरेर गए ।’

पछिल्लो समय गाउँहरुमा पनि विकासको लहर चलेको छ । सबैतिर डोजरले सडक खनीरहेको देखिन्छ । मोहराई छेउँमा त रेसुङ्गा विमानस्थल नै बन्दैछ । तर, यतिले मात्रै बसाइँसराइ नरोकिने बिनोद कुँवर बताउँछन् । मोहराई टोलमात्र होइन, सुविधाविहीन पहाडका जताततैबाट बसाइँसराइ बढेको उनले बताए ।

आर्थिक रुपमा सक्षम परिवार थप सुविधाका लागि बसाइँ सरिरहेका छन् भने बिपन्नहरु रोजीरोटीकै लागि गाउँबाट पलायन भइरहेका छन् । कृषिमा लगानीअनुसारको प्रतिफल नपाउनु, गाउँमा राम्रो स्कुल–कलेज र अस्पताल नहुनु जस्ता कारणले बसाइँसराइ बढाएको छ ।

गाउँमा ताला नलागेको घरहरुमा पनि वृद्धवृद्धा मात्र छन् । उनीहरुका छोरा कमाउन विदेश र बुहारी छोराछोरी पढाउन शहर पसेका हुन्छन् ।
गुल्मीको धुर्कोट गाउँपालिकाबाट २०७५ वैशाखदेखि चैत मसान्तसम्म ८४ परिवार बसाइँ सरेर गएको तथ्यांक छ ।

त्यस्तै, मालिका गाउँपालिकाबाट ५८ घरपरिवार, रुरु गाउँपालिकाबाट ६४ परिवार, छत्रकोटबाट ७८ परिवार, इस्मा गाउँपालिकाबाट ५९ परिवार, गुल्मीदरबार गाउँपालिकाबाट ६५ र रेसुङ्गा नगरपालिकाबाट ५४ परिवार गुल्मी बाहिर बसाइँ सरेको तथ्यांक छ ।

स्थानीय सरकारहरुले विकासका विभिन्नखाले योजनाहरु त ल्याएका छन्, तर बसाइँसराइ नै रोक्ने कुनै दीर्घकालीन योजना र लक्ष्य भने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment