+
+
Shares

दूधको मूल्य बढ्दा किसान खुसी

सुवास पण्डित सुवास पण्डित
२०७६ भदौ २१ गते २०:४७

२१ भदौ, चितवन । झण्डै दुई बर्षपछि बढाएको दूधको नयाँ मूल्य शनिबारबाट लागू भएको छ । सरकारको निर्देशनमा दुग्ध विकास संस्था (डीडीसी)ले दूध मूल्य लिटरमा ६ रुपैयाँ बढाएको छ, जस मध्ये ४ रुपैयाँ १६ पैसा किसानले पाउँछन् ।

पश्चिम चितवनको चोकबजार र गीतानगर क्षेत्रमा दुग्ध किसानले दूधको मूल्य बढ्दा थोरै भए पनि राहात पाएको बताए । शनिबार बिहानै अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्था केशरवागमा दूध लिएर आएका भरतपुर महानगरपालिका वडा नः ६ का गाईपालक किसान उपेन्द्र भण्डारी अन्य दिनभन्दा खुसी थिए ।

उनको गोठमा २० वटा गाई छन् । उनले दिनमा १४० लिटर दूध डेरीमा ल्याउने गरेका छन् । मूल्य बढ्दा केही राहत महसुस भएको भण्डारीले सुनाए ।

गाई पालेरै बुढो भएको बताउने सोही ठाँउका शोभाखर चापागाईले पनि दूधको मूल्य बढ्दा केही राहत महसुुस भएको बताए । १४ वटा गाई पालेका उनी भन्छन्, ‘नहुनु भन्दा राहत भयो, तर यसले उपभोक्ताहरुलाई पनि मार पारेको छ, निम्न आय भएकाहरुलाई समस्या हुन्छ ।’ सरकारले दूधको मूल्य बढाउनुभन्दा लागत घटाउनेतर्फ सोच बढाउनुपर्ने चापागाईको धारणा छ ।

अर्का किसान कृष्णराज भट्टराईले मूल्य वृद्धि हुँदा किसानहरुले राहतको महसुस भएको बताए । डीडीसीले प्रतिलिटर दूधमा ६ रुपैयाँ मूल्य बढाउँदा उपभोक्ताको भान्सामा प्रतिलिटर दूधको मूल्य ७६ हुन पुगेको छ ।

बढेको ६ रुपैयाँ मध्ये किसानले ४ रुपैयाँ १६ पैसा र अरुले १ रुपैयाँ ८४ पैसा पाउनेछन् । यसो हुँदा किसानले एक लिटर दूधको ५१ रुपैयाँ ५४ पैसा पाउँछन् भने बिचौलिया, उद्योगी र अन्यले २४ रुपैयाँ ४६ पैसा प्रतिलिटर खान्छन् ।

यसअघि २०७४ भदौ १ मा दूध प्रतिलिटर ६ रुपैयाँ बढाइएको थियो ।

उत्पादनका आधारमा अनुदान देऊ

दुध किसानहरुले उत्पादनका आधारमा सरकारले अनुदान दिनुपर्ने माग गरेका छन् । उनीहरुले मूल्य मात्रै बढाउनु समस्याको सहि समाधान नभएको तर्क गरे ।

भरतपुर-६ का गाईपालक किसान कृष्णराज भट्टराईले सरकारले पहुँच, राजनीतिक पार्टी वा अन्य सम्बन्धका आधारमा नभई उत्पादनको आधारमा किसानलाई अनुदान दिनुपर्ने माग गरे ।

किसानको लागत कसरी घटाउन सकिन्छ भन्ने सरकारले सोच्नुपर्ने उनको धारणा छ । अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्था केशरवागका अध्यक्ष एवम् राष्ट्रिय दुग्ध विकास बोर्डका सदस्य भागिरथ तिमिल्सिनाले दूधको मूल्य बढाउनु तत्कालको आवश्यकता भएपनि दीगो समाधान नभएको बताए ।

दाना, चोकर, घाँस र औषधीमा सरकारले उत्पादनका आधारमा अनुदानको व्यवस्था गर्नुपर्ने तिमिल्सिनाको धारणा छ । दाना र चोक्करको मूल्य व्यापारीहरुले आफूखुसी बढाउँदा किसानहरु मर्कामा पर्दै आएका छन् । अहिले दानाको प्रतिकेजी ३८ रुपैयाँ र चोक्करको प्रतिकेजी ४० रुपैयाँ किसानहरुले तिर्दै आएका छन् ।

औषधि र भुस परालको पनि मूल्य झण्डै ५० प्रतिशतसम्म बढेको किसानहरु बताउँछन् । सरकारले ल्याउन लागेको दूध नीतिले किसानलाई केही राहत दिने अपेक्षा गरिएको दुग्ध विकास बोर्डका सदस्य रहेका तिमिल्सिनाले बताए ।

लेखक
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?