Comments Add Comment

साथी : कति जाती ?

तपाईंलाई कुनै अप्रत्यासित खुसी मिल्यो ? यो खुसीको कुरा सबैभन्दा पहिले कसलाई सुनाउनुहुन्छ ? के तपाईंसँग आफ्नो खुसी बाढ्ने साथी छन् ?

मानौं तपाईं कुनै समस्यामा नराम्ररी फस्नुभयो । यस्तो अवस्थामा तपाईंलाई कसैप्रति भरोसा छ, जसले यो समस्याबाट पार लगाइदिन सक्छ भन्ने लाग्छ ?

तपाईंको मनमा औडाह भयो, उकुसमुकुस भयो । मनको यो दुःख पोख्नका लागि तपाईंसँग कोही साथी छन् ?

वास्तवमा हामी खुसी साट्न होस् वा दुःख बाँढ्न, साथी खोजिरहेका हुन्छौं । यस्तो साथी, जसले हामीलाई विना स्वार्थ हार्दिकतापूर्वक साथ दिन्छ । सुखमा हामीसँगै रमाउँछ, दुःखमा हाम्रो दुःख साझेदार गरिदिन्छ । भनिन्छ, असल साथीहरु बनाउनुभएको छ भने तपाईं धेरै किसिमको संकटबाट मुक्त हुनुहुन्छ । मानसिक चिन्ता, तनाव हटाउनका लागि पनि साथीहरु आवश्यक हुन्छ भनिन्छ । व्यवसायिक हिसाबले सफलता हासिल गर्न पनि जुझारु साथीहरुको साथ चाहिन्छ । तपाईंको नितान्त एक्लोपन हटाउन होस् वा तपाईंको सुदूर भविष्य उज्वल बनाउन, साथीको साथ आवश्यक हुन्छ । के तपाईंसँग पनि यस्ता साथीहरु छन् ?

साथीको साथ

हामीलाई जीवन बिताउन परिवारको साथको आवश्यकता हुन्छ । आफ्नो सुख-दुःख बाँड्नका लागि र एक्लोपन हटाउनका लागि कोही न कोही आफुसंग हुनु आवश्यक पनि हुन्छ । तर, हामीलाई परिवारको साथ सधैं संगै हुन्छ भन्ने हुँदैन। कहिलेकाहीँ हामी विभिन्न कारणले गर्दा परिवारबाट टाढा पनि हुन पर्छ । परिवारबाट टाढा हुँदा साथी नै तपाईँको परिवार बन्छ र मित्रता नै तपाईको एक्लोपनको साथी बन्न पुग्छ ।

मित्रता भनेको त्यसो मिठो सम्बन्ध हो, जसले जीवन चास्नी जस्तै गुलियो बनाइदिन्छ । जब हामी पढाई अथवा जागिरको शिलशिलामा घरबाट टाढा अन्य शहरमा जान्छौं, त्यहाँ हामीले नयाँ साथी बनाउँछौ र उनीहरु हाम्रो सुख र दुःखमा साथ दिने गहिरो मित्र बन्न पुग्छन् ।

कहिलेकाहिं घरको सम्झनाले हामीलाई उदास बनाउँछ र परिवारको सम्झना धेरै आउँदा हामी रुन थाल्छौं । त्यो समयमा हाम्रो साथी नै हाम्रो साहारा बन्छन् र हामीलाई हँसाउने र हाम्रो उदासी कम गर्न सहयोग गर्छन् ।

त्यस्ता धेरै कुरा हुन्छन्, जुन हामी हाम्रो परिवारलाई भन्न सक्दैनौं तर साथीसंग सजिलै शेयर गर्न सक्छौ र उनीहरुसंग सल्लाह पनि लिन सक्छौं ।

कलेजको कुरा गर्नु पर्दा महिलाहरु आफ्नो साथीहरुसंग अन्य साथीहरुको कुरा गरेर हाँस्नु, ठट्टा गर्नु र रमाउनुको आनन्द नै भिन्दै हुन्छ ।

त्यस्तै पुरुषहरुको बारेमा भन्नु पर्दा साथीभाई मिलेर पार्टी गर्नु, दिन-दिनै नयाँ काण्ड मच्चाउनु, आफ्नो प्रेमको कुरा गरेर रमाउनु र प्रेम विछोडमा साथीहरु माझ बसेर उदास हुनु र आफ्नो पीडा पोख्नु जस्ता क्रियाकलापमा कलेज जीवन बित्ने गर्छ । यी सबै कुराहरु सुन्दा आश्चर्य लाग्न सक्छ तर प्रायः हरेक व्यक्तिको कलेज जीवनको वास्तविकता यहि नै हो ।

तपाईं कुनै समस्यामा हुँदा साथीले नै तपाईलाई सहयोग गर्छन् । तपाईलाई पैसाले समस्या परेमा अथवा तपाईं बिरामी हुनु भयो भने पनि तपाईको हेरचाह गर्ने पनि साथी नै हुन्छ । कलेजमा शिक्षक अथवा अफिसमा हाकिमसंग साथीको राम्रोको लागि झुठो बोल्ने गरिन्छ ।

यी कुराहरु नै हाम्रो जीवनमा मिठो सम्झना भएर रहन्छन् । साथीसंग बिताएका यी रमाइला पलहरुको बारेमा पछि हामी हाम्रो परिवार अथवा नया साथीलाई बताउछौ । हामी आफ्ना विगत सम्झदै भन्छौं- ‘घरभन्दा टाढा साथी नै हाम्रो परिवार थिए र साथीसंगको साथ हामीले यसरी बिताएका थियौं, संसारमा एक्लो रहन धेरै कठिन हुन्छ ।’

आफ्नो मनमा भएका कुरा बताउन नपाउँदा मन भित्र चिड्चिडापन आउन थाल्छ । त्यसैले जीवनमा आफ्नो कुराहरु शेयर गर्नको लागि पनि साथी हुनु आवश्यक हुन्छ । जीवनमा एउटा त्यस्तो साथी हुनु पर्छ, जो पाइला पिच्छे तपाईंको साथ रहोस् र तपाईको होमा हो मिलाउने पनि होस् ।

कहिलेकाहिं साथीले एक-अर्कालाई जिस्काउने गर्छन् तर यो जिस्काईमा पनि एक किसिमको मिठास हुन्छ, जसले जीवन रमाइलो बनाइदिन्छ । एक-अर्कालाई बोलाउँदा पनि नाम बिगारेर अथवा गाली गरेर बोलाउने गर्छन्, तर त्यहि गालीमा पनि साथीको माया र आफ्नोपन झल्केको हुन्छ ।

शायद, त्यसैले भनिएको होला साथी एउटा अनमोल उपहार हो, तपाईंले साथीसंग गरेको व्यवहारका कारण तपाईं आफु पनि खुशी हुनुहुन्छ । त्यसैले जीवनमा एउटा त्यस्तो साथी हुनु आवश्यक छ, जसले तपाईको जीवनलाई रंगिन बनाइदियोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment