+
+

एसिड आक्रमणमा परेकी मुस्कानलाई भेट्न अस्पताल पुगे मुख्यमन्त्री राउत

सबै उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ २३ गते १९:०६

२२ भदौ, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई भेटेका छन् ।

खातुन र उनका आमाबुवालाई भेट्न मुख्यमन्त्री राउत कीर्तिपुर अस्पताल पुगेका थिए । उनले चिकित्सकहरुलाई भेटेर खातुनको अवस्था र उपचार प्रक्रियाबारे जानकारी लिएका छन् ।

उनले खातुनको उपचारमा कुनै कमी हुन नदिने बताए । प्रदेश सरकारले बेटी पढाऊ, बेटी बचाऊ अभियान चलाइरहेको भन्दै उनले खातुनको उपचारमा लाग्ने सबै खर्च प्रदेश सरकारले व्यहोर्ने बताएका छन् ।

प्रदेश सरकारले तत्काल ५ लाख उपलब्ध गराएको बताउँदै उनले उपचारमा कुनै किसिमको कमी हुन नदिन अस्पताल व्यवस्थापनसँग आग्रह गरे । ‘५ लाखभन्दा बढी लागे पनि हामी तिर्छौं ’ मुख्यमन्त्री राउतले भने, ‘तर उपचारमा कुनै समस्या नहोस् ।’

मुख्यमन्त्री राउतले उपचार खर्च व्यहोर्ने लिखित पत्र आफ्नो कार्यालयबाट अस्पतालमा पठाउन लगाएका थिए ।

कक्षा ९ मा अध्ययनरत खातुनमाथि शुक्रबार स्कुल जाँदा गर्दा दुई जनाको समूहले एसिड आक्रमण गरेको थियो । एसिसले उनको अनुहार, छाती र हातमा घाउ लागेको छ ।

मुख्यमन्त्री राउतले मुस्कानका परिवारसँग एसिड प्रहार गर्नेलाई कडा कारबाही गर्ने प्रतिबद्वतासमेत जनाएका छन् ।

यसैबीच सामाजिक अभियन्ता बिटू मिश्रले संकलन गरेको ३९ हजार २ सय ८८ रुपैयाँ मुस्कानको परिवारलाई हस्तान्तरण गरिएको छ । मिश्रले काठमाडौंमा रहेका विभिन्न व्यक्तिहरुले सहयोग गरेको उक्त रकम मुस्कानको परिवारलाई हस्तान्तरण गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?