Comments Add Comment

राजधानीमा डेंगुको आतंक, बिरामी ६ वर्षकै उच्च

डेंगुको उपचार गराउने चिकित्सक नै बिरामी

२३ भदौ, काठमाडौं । राजधानीमा डेंगु रोगको त्रास फैलिएको छ । ६ वर्ष यताकै सबैभन्दा बढी डेंगु रोगका बिरामी भेटिएपछि राजधानीमा डेंगु रोगको त्रास फैलिएको हो ।

राजधानी बाहिरकेही महिना अघिदेखि नै डेंगुको संक्रमण फैलँदा पनि सरकारले रोकथाम गर्न सकिरहेको छैन ।

आइतबार एकैदिन राजधानीमा ३६३ जनाको डेंगु परीक्षण गराइएकोमा १९४ जनामा डेंगु रोग फेला परेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका सूचना अधिकृत रुपनारायण खतिवडाले अनलाइनखबरलाई बताए ।

त्यस्तै, शनिबार २९६ जनाको परीक्षण गराएकोमा १४४ जनामा डेंगु रोगको संक्रमण फेला परेको थियो ।

दैनिक ४ सयजना भन्दा बढी बिरामी डेंगु रोगको परीक्षण गराउन आएकामा भदौ १५ यता आधा बिरामीमा डेंगुको संक्रमण फेला परेको उपचारमा संलग्न टेकु अस्पतालका डा. शेरबहादुर पुनले बताए ।

बैशाखदेखि साउनसम्म ५२८ जना बिरामीमा डेंगुको परीक्षण गरिएकोमा ८५ जनामा डेंगु फेला परेको खतिवडाले बताए । भदौयता राजधानीमा डेंगुको चाप ह्वात्तै बढेको उनले बताए ।

भदौ १ गतेदेखि २२ गतेसम्म २ हजार ६८० जनामा डेंगु परीक्षण गरिएकोमा ४६ प्रतिशत बिरामी अर्थात १२ सय भन्दा बढीमा डेंगुको संक्रमण फेला परेको खतिवडा बताउँछन् ।

डेंगु रोगका सबै संक्रमित बिरामीहरु अस्पताल भर्ना नहुने उनले बताए । भर्ना भएका मध्ये १२९ जना बिरामी उपचार गराएर घर फर्किसकेको र २३ जना बिरामी अहिले पनि अस्पतालै रहेको खतिवडाले जानकारी दिए । अन्यलाई घरमा नै आराम गरेर नियमित औषधी खाना सल्लाह दिएर पठाइएको उनले बताए ।

टेकु अस्पतालको तथ्याङ्क अनुसार राजधानीमा ०७०/७१ मा ६० जनामा डेंगु देखिएको थियो । ०७१/७२ मा ५८ जनामा डेंगुको संक्रमण पाइएको थियो भने ०७२/०७३ मा २२ जनाका यो रोग देखा परेको थियो । त्यस्तै ०७३/७४ मा १४० जना र ०७४/७५ मा २५३ जना डेंगु रोगी फेला परेका थिए ।

०७५/७६ को पाँच महिनामा ६ वर्षयताकै डेंगुका बिरामीको तथ्याङ्कलाई उछिनिसकेको खतिवडाले बताए । भदौ १५ गतेदेखि यता बिरामीको चापलाई नियाल्दा डेंगु रोगका बिरामीहरु अझै बढ्ने संकेत देखा परेको उनले बताए ।

बैशाखको अन्तिम सातादेखि नै देशका विभिन्न भागमा देखा परेको डेंगु रोगको त्रास राजधानीमा पनि फैलिएपछि अस्पतालमा मानिसहरुको भीड लागेको छ ।

दैनिक ४ सयभन्दा बढीको स्वास्थ्य परीक्षण गर्दै आएका डा. पुनले आधा बिरामीमा डेंगु रोगको संक्रमण फेला परेको बताए । उपत्यकाको डल्लु, असन, जैसीदेवल लगायतका स्थानबाट आउने विरामीमा डेंगु रोगको संक्रमण देखा परेको पुनले बताए ।

विहान ८ बजेदेखि साँझ ६ बजेसम्म बिरामी हेर्दै आएका डा. पुनले दिनभरि नै बिरामीको चाप एकैनास हुने गरेको बताए ।

डेंगुको उपचार गराउने चिकित्सक नै बिरामी

डेंगु रोगका बिरामीको उपचार गराउँदै आएका टेकु अस्पतालका चिकित्सकसहित १२ जना कर्मचारी डेंगु रोगबाट संक्रमित भएका छन् ।  अस्पतालका कन्सलटेन्ट फिजिसियन एक जना र मेडिकल अफिसर दुईजना सहित १२ कर्मचारीमा डेंगुको संक्रमण देखा परेको छ ।

उपचारपछि डेंगुबाट संक्रमित ६ जना कर्मचारी काममा फर्किसके पनि ६ जना भने अझै आराम गरिरहेका छन् ।

उपचारको व्यवस्था कसरी हुँदैछ ?

अस्पतालमा डेंगु रोगका बिरामीको चाप बढेपछि अस्पतालले २ वटा ज्वरो क्लिनिक अर्थात ‘ज्वरो डेक्स’ सञ्चालनमा ल्याएको छ । ज्वरो आएर उपचार गराउन आउने बिरामीलाई उपचारमा सहजताका लागि हेल्प डेक्सका रुपमा ज्वरो डेक्स सञ्चालनमा ल्याएको खतिवडाले अनलाइनखबरलाई बताए ।

बिरामीको अत्यधीक चाप बढेपछि ओपीडी कक्षसमेत थप गरिएको उनले बताए । अहिले ४ वटा ओपीडी डेक्स सञ्चालन भइरहेको उनले बताए ।

डेंगु रोगको पहिचान भएका बिरामीलाई उपचारमा सहजता ल्याउन महिला वार्ड र पुरुष वार्डको व्यवस्था गरिएको उनले बताए । बेडमा उपचार गराइरहेका बिरामीलाई अस्पतालले झुलको व्यवस्था गरेर छुट्टाछुट्टै वार्डमा राखेको उनले बताए ।

अस्पतालमा जनशक्तिको अभाव

उपचार गराउन आउने बिरामीहरुले समयमा नै रगत, पिसाव लगायतका अन्य परीक्षणको रिपोर्ट आउन ढिलाइ हुने गरेको गुनासो गरेका छन् ।

रगत परीक्षण गराउने कक्षमा बिरामीहरुको भीड लागेको छ । रगत झिक्ने ल्याबको उचित व्यवस्थापन हुन नसक्दा बिरामी थप मारमा परेका छन् । रगत परीक्षण कक्षमा जनशक्ति अभावका कारण काममा ढिलाइ हुँदा बिरामीले समस्या भोग्नुपरेको छ ।

रगत परीक्षण गर्ने मेशिनमा प्रयोग गरिने केमिकलको अभाव हुँदा सोमबार केही समय परीक्षण कार्य समेत प्रभावित बनेको थियो । अस्पतालमा बिरामीको चाप बढेपछि व्यवस्थापनमा केही फितलो भएको अस्पताल प्रशासनले स्वीकार गरेको छ ।

अरु समयमाझैँ अस्पतालमा आउनेलाई सहज ढंगले उपचारको व्यवस्थापन गर्न जनशक्तिको अभावले असहज भएको अस्पतालले प्रशासनले जनाएको छ ।

अस्पतालमा रहेको जनशक्तिलाई बढी समय खटाएर बिरामीहरुको उपचार गराउँदै आएको अस्पताल प्रशासनले जनाएको छ ।

मनोवैज्ञानिक असर

अस्पतालमा ६ वर्षयताकै डेंगु रोगका बिरामी उच्च भए पनि यसलाई डेंगुको त्रासकै रुपमा लिन नहुने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका सूचना अधिकृत खतिवडा बताउँछन् ।

सर्वसाधारणमा सचेतना बढेकाले सामान्य ज्वरो आउनेवित्तिकै उपचारका लागि अस्पताल आउने गरेकाले बिरामीको संख्या बढी देखिएको उनको तर्क छ ।

विगतका वर्षभन्दा बिरामीको संख्या बढी नै देखा परे पनि उनले यसलाई चेतनाको वृद्धिले गर्दा मनोवैज्ञानिक असर देखिएको खतिवडाको तर्क छ ।

डाक्टरको सुझाव

डेंगु रोगबाट बच्नका लागि लामखुट्टेको नियन्त्रण गर्नुपर्ने सुझाव चिकित्सकहरुको छ । लामखुट्टेबाट रोग सर्ने भएकाले घर वरपर खाल्डाखुल्डीमा पानी जम्न दिन नहुने डा. शेरबहादुर पुन बताउँछन् ।

ज्वरो आउने, टाउको दुख्ने, शरीरमा मसिना बिमिरा आउने, शरीरको पछाडिको भाग दुख्नेलगायतका लक्षण देखिएमा स्वास्थ्य परीक्षण गराउनुपर्ने चिकित्सकको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment