Comments Add Comment

आत्महत्या रोकथामका लागि के गर्ने ?

सन्दर्भः विश्व आत्महत्या रोकथाम दिवस

मेरा एकजना बाल्यकालदेखिका साथीले एक महिनाअघि मसँगको भेटमा जीवनप्रति निराशा लागेको र आफू यस संसारमा बाँच्ने ईच्छा पटक्कै नभएको भन्दै लाचार प्रकट गरे । एउटा मनोविज्ञका हिसाबले मैंले उनलाई उचित समयमा उचित तरिकाले जीवनका विषयमा बुझाउनेछु भन्ने सोच्दै थिएँ । तर, एक साता नबित्दै थाहा पाएँ, उनले विष सेवन गरी आत्महत्या गरेछन् ।

यो घटना ठीक त्यही दिन भएको थियो, जब सिन्धुपाल्चोक जिल्लामा एकजना तामाङ्ग थरकी किशोरी र बाहिरी जिल्लाबाट त्यहाँ काम गर्न पुगेका एक किशोरले एउटै रुखको हाँगामा डोरीले पासो लगाई झुण्डिएका थिए ।

सञ्चार माध्यममा आए अनुसार दुबैको प्रेम सम्बन्धलाई परिवारले स्वीकार गर्न नसकेपछि बढेको तनाव खेप्न नसकेर दुबैले मृत्युलाई सजिलो उपाय मानिदिए ।

गत वर्ष बुटवलस्थित सरकारी क्वाटरमा झुण्डिएको अवस्थामा प्रदेश सरकारका एकजना उपसचिवको शव फेला पर्‍यो । उहाँको शवसँगै सुसाइड नोट पनि फेला परेको थियो, जसमा आफू विगत २७ वर्षदेखि मानसिक स्वास्थ्य समस्यामा रहेको र सोही पीडा सहन नसकेर आत्महत्या गरेको कुरा उल्लेख थियो ।

ललितानिवास जग्गा प्रकरणमा आरोपित एकजना सरकारी कर्मचारीले सपिङ्ग सेन्टरको झ्यालबाट हाम फालेर आत्महत्या गरेको धेरै भएको छैन ।

एसएसई परीक्षामा ए प्लस नआएको भन्दै काठमाडौंकी एक किशोरीले आत्महत्या गरेको समाचारलाई पनि हामीले बिर्सिएका छैनौं । बहुचर्चित सालिकराम पुडासैनी आत्महत्या प्रकरणले त झण्डै एक महिना देशलाई नै तरङ्गित गर्‍यो ।

यी त भए आत्महत्याका केही प्रतिनिधिमूलक घटनाहरु । आत्महत्याको बाटो रोजिएका दृष्टान्तहरु । तर, समग्रमा व्यक्तिले आत्महत्या किन गर्दछन् ? के कारणले आत्महत्या गर्ने सोचलाई अझ बढाउँछ ? आत्महत्याको रोकथाम किन सोचेअनुरुप सवै पक्षसँग सहकार्य गरेर गर्न सकिएको छैन ? र, अब आत्महत्याको रोकथाममा घरपरिवार, साथीसँगी, विशेषज्ञ, सरकारी संयन्त्रसहित सबैको सहयोग लिएर कसरी योगदान पुर्‍याउन सकिन्छ, अब हामी सबैले सोच्नुपर्ने बेला आइसकेको छ ।

हरेक वर्ष सेप्टेम्वर १० लाई ‘विश्व आत्महत्या रोकथाम दिवस’ को रुपमा मनाइने गरिन्छ । र,  सधैंझैं यस वर्ष पनि विश्व स्वास्थ्य संगठनले तय गरेको ‘आत्महत्या रोकथाममा सबैको सहकार्य‘ भन्ने नाराका साथ नेपाल लगायत विश्वभरि नै यो दिवस मनाउन लागिएको छ ।

यो नाराको विषयवस्तुलाई ह्रदयंगम गरी यो दिवस मनाउँदै गर्दा नेपालमा आत्महत्याको दर किन बढिरहेको छ, किन मानिसहरुले आत्महत्यालाई मुत्युवरण गर्ने माध्यमका रुपमा लिइरहेका छन्, यसको रोकथाम सोचेअनुसार किन गर्न सकिएको छैन ? साथै आत्महत्याको रोकथाममा घरपरिवार, साथीभाइ, समाज, सहयोगी संस्थाहरु, राज्यका संयन्त्रलाई कसरी परिचालन गर्ने भनेर बस्तुगत विश्लेशण गरी उपयुक्तखालको योजना बनाई लागु गर्नुपर्ने देखिन्छ ।

आफ्नो शरीरको हत्या व्यक्ति स्वयंले गर्नुलाई आत्महत्या भनेर बुझिन्छ । मनमा असह्रय हुने गरी पीडा बढ्दै गएपछि व्यक्तिलाई बाँच्ने इच्छा र चाहना घट्दै जान्छ र पीडावाट मुक्ति आत्महत्या गरेपछि मात्र पाइन्छ भन्ने सोचाइ बलियो हुँदै गएपछि व्यक्तिले आत्महत्या गर्ने बाटो रोज्छन् ।

विश्व स्वास्थ्य संघको पछिल्लो आँकडा अनुसार विश्वभरमा एक वर्षमा लगभग ८ लाख मानिसहरुले आत्महत्या गर्दछन् । नेपाल प्रहरीको आर्थिक वर्ष ०६१/०६२ देखि ०७१/०७२ सम्म १० वर्षको तथ्यांक हेर्दा २९ हजार ९०५ जनाले आत्महत्या गरेको पाइएको छ ।

आत्महत्याको वार्षिक दर आ.व. ०७३/०७४ मा ५ हजार १२४ जना, आ.व. ०७४/०७५ मा ५ हजार ३४६ जना र ०७५/०७६ मा ५ हजार ७५४ जना पुगेको देखिन्छ । जस अनुसार १ दिनमा लगभग १४ देखि १६ जना मानिसहरुले आफ्नो जीवन आफैंले समाप्त पारिरहेका छन् ।

युवा तथा किशोर किशोरी, सम्वन्ध विच्छेद गरेर एक्लो जिवन बाँचिरहेका व्यक्तिहरु, तनावयुक्त बैवाहिक जीवन, घरवार बिग्रिएर बसेका व्यक्ति, घरेलु तथा लैङ्गिक हिंसा, यौन शोषण, बलात्कार, सामाजिक लाञ्छना आदिमा परेका महिलाहरु, प्रेममा असफल व्यक्तिहरु, ठूलो आर्थिक हानी नोक्सानीमा परेका व्यक्तिहरु, जीवनदेखि हरेस खाएका र आत्मविश्वास गुमाएका ब्यक्तिहरु आत्महत्याको बढी जोखिममा हुन्छन् ।

आत्महत्या गर्ने कारणहरुमध्ये डिप्रेसन रोग प्रमुख हो । डिप्रेसनका कारण मनमा धेरै पीडा हुन्छ, बाँच्ने इच्छा र चाहना घट्दै जान्छ र पीडावाट मुक्ति आत्महत्या गरे मात्र पाइन्छ भन्ने सोचाइ बलियो हुँदै गएपछि यस्ता बिरामीले आत्महत्या गर्छन् ।

डिप्रेसन भएका विरामीको मद्यपान वा लागुपदार्थ सेवन गर्ने बानी छ भने आत्महत्या गर्ने खतरा अरु बढ्छ । मानसिक असन्तुलन, मदिरापानको लत, लागुपदार्थको दुव्र्यसन, छारे रोग, दीर्घखालको र धेरै पीडा हुने शारीरिक रोग र एचआइभी एड्स आदि जस्ता कारणहरुले पनि मानिसहरुमा आत्महत्याको सोच ल्याउन सक्ने र आत्महत्याको प्रयास समेत गर्ने सक्ने सम्भावना हुन्छ ।

मानसिक तथा शारीरिक पीडा एकदमै धेरै भयो भने र आफ्नो जीवनदेखि नै निराशपना उत्पन्न भयो भने व्यक्तिले आत्महत्याको बाटो रोज्छन र कतिपय अवस्थामा आत्महत्याको बाटो रोज्न परिवारका सदस्यहरु तथा अन्य कसैले बाध्य बनाइरहेको हुन्छ ।

आत्महत्या गर्ने विचार गरेकाहरुले आफ्नो विचार घुमाउरो पाराले परिवारजन तथा साथीभाइलाई भनेका हुन्छन् । जस्तै “यस्तो जिन्दगीको के सार, फेरी भेट हुन्छ कि हुँदैन” आदि । यदि व्यक्तिले धेरै निराश भएको कुरा गर्छन् र मर्न पाए हुन्थ्यो जस्ता इच्छा व्यक्त गर्दछन् भन्ने परिवारजनले उसमा आत्महत्याको विचार आएको हो कि भनी शंका गरी यस्तो कुरा किन गरेको भनेर सोध्नुपर्छ । उसलाई यतिखेर सहयोगको आवश्यकता छ भन्ने बुझ्न सक्नुपर्छ । यदि परिवारका सदस्य वा अन्य कसैले यस्तो विचार व्यक्त गरेमा तुरुन्त मानसिक रोग विशेषज्ञ वा तालिम प्राप्त मनोपरामर्शकर्ता कहाँ लैजानुपर्छ ।

आत्महत्या रोकथाममा केही सरकारी संरचना, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय गैरसरकारी संस्थाहरु मार्फत केही पहल गरिए पनि देशभरका जनताहरुको लागि त्यो पर्याप्त छैन । राज्यका संरचना, सहयोगी संघसस्थाहरु, सेवा प्रदायक, घर परिवारका सदस्यहरुवीच एकापसमा समन्वय र सहकार्य नहुँदा आत्महत्या रोकथाममा नेपालले सोचेअनुसार उपलब्धी हासिल गर्न सकेको छैन ।

मानसिक स्वास्थ्यको प्रवद्र्धन र मानसिक स्वास्थ्य समस्याको रोकथाम र आत्महत्याको प्रयास तथा सोच भएका व्यक्तिहरुलाई आवश्यक मनोपरामर्श सेवा र उपचारका लागि तालिम प्राप्त स्वास्थ्यकर्मीहरु, मनोविदहरु तथा विशेषज्ञहरुमार्फत सेवाको पहुँच सबैका लागि सर्वसुलभ बनाउन संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले आवश्यक नीति र निर्देशिका बनाएर प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने हुन्छ ।

सरकारका स्वास्थ्य, शिक्षा, महिला, बालबालिका, जेष्ठ नागरिक लगायत सवै खालका प्राथमिकताका वर्ग तथा क्षेत्रहरुमा मानसिक स्वास्थ्यलाई पनि एकीकृत गर्दै कार्यान्वयनको प्रक्रिया अगाडि बढाउन जरुरी छ । स्थानीयस्तरका सामुदायिक संघसस्थाहरु र गैरसरकारी संस्थाहरुलाई पनि आत्महत्याको रोकथामको विषयमा जागरुक गराई उनीहरुको क्षमता अभिबृद्धि गर्न सकियो भने त्यस्ता संघसंस्थाहरु मार्फत आत्महत्याको रोकथाममा उल्लेख्य सहयोग गर्न सकिन्छ ।

विशेष गरेर स्थानीय निकायहरुले खासगरी त्यस्ता संस्थाहरुसँग समन्वयकारी भूमिका निर्वाह गर्दै आफ्नो कार्यक्षेत्रमा प्रभावकारी तवरले कार्यक्रम लैजान सक्यो भने आत्महत्याको सोचाई गरेका तथा प्रयास गरेका व्यक्तिहरुलाई जोगाउन सकिन्छ ।

डिप्रेसनका तथा विविध कारणले गर्दा आत्महत्याका सोचाई राखेका व्यक्तिले समयमा उपचार पाए भने मनको पीडा घट्दै जान्छ र निको हुन्छ भन्ने आशा पलाएपछि आत्महत्या गर्ने सोचाइ आउने सम्भावना कम हुन्छ । आत्महत्याको रोकथाममा परिवार, समाज, साथीसङगीहरुको भूमिका सवै भन्दा महत्वपूर्ण हुन्छ ।

आत्महत्याको जोखिम बढी भएका व्यक्तिसँग मायालु व्यवहार गर्ने, उनीहरुको मनको कुरा सुनीदिने, काममा सहयोग गरिदिने, आत्महत्याको लक्षण देखिएमा बेवास्ता नगरी उपचार प्रक्रियामा घरपरिवारका सदस्य तथा साथी भाईहरुले सहयोग गर्नुपर्दछ । सम्पूर्ण सबै पक्षसँग समन्वय, सहयोगका लागि सहकार्य र आत्महत्याको जोखिममा रहेका व्यक्ति, वर्ग र समुदाय लक्षित कार्यक्रम सञ्चालन गर्न सकियो भने आत्महत्याको रोकथाममा हामीले खाजेको जस्तै उपलब्धी हासिल गर्न सक्छांै, जसका लागि यो दिवसले हामी सवैलाई आत्महत्याको जोखिममा रहेका व्यक्तिलाई समयमा पहिचान गर्न र आवश्यक सहयोगको पहलगर्न बल प्रदान गरोस् भन्ने सन्देश दिन चाहन्छु ।

(मनोचिकित्सक श्रेष्ठ विगत ३० वर्षदेखि मानसिक समस्यामा अनुसन्धानरत छन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment