Comments Add Comment

‘मोदीसँग हातेमालो गर्न तयार छु’

२४ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षीसँग हातेमालो गर्न आफू तयार रहेको बताएका छन् ।

मोतिहारी अमलेखगन्ज पेट्रोलियम पाइपलाइन उद्घाटनपछि भिडियो कन्फरेन्समार्फत सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यो परियोजना निर्धारित अवधिभन्दा आधा समयमै सम्पन्न भएकोमा खुसी व्यक्त गरे । यो परियोजनाले समय बचत, सडकमा सवारी चाप कम गर्नुका साथै यस्तो पाइपलाइन नेपालभर वस्तार गर्ने ढोका खोलेको उनले बताए ।

नेपाल–भारत सहकार्यले सबै क्षेत्रलाई समेटेको र भारतसँगको सम्बन्धलाई नेपालले उच्च महत्व दिएको उनले बताए ।

दुबैतिर बलिया बहुमतीय सरकारसहित राजनीतिक स्थायित्व रहेको भन्दै उनले आपसी हितका लागि सहकार्य अझ सशक्त बनाउने वातावरण बनेको बताए । नेपाल–भारत सम्बन्धमा नयाँ उर्जा, गतिशीलता र मार्गदर्शन प्रदान गर्नु आवश्यक रहेको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘यसका लागि मोदीजीसँग हातेमालो गर्न म तयार छु ।’

उनले मोदीलाई नेपाल भ्रमणको निम्तो समेत दिएका छन् ।

प्रधानमन्त्री ओलीको सम्बोधनको पूर्णपाठ

नेपाल–भारत सहयोग अन्तर्गतको महत्वपूर्ण परियोजना, मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको उद्घाटनका अवसरमा बोल्न पाउँदा म खुसी छु ।

यस अवसरमा म, संवत् २०७४को चैतमा म भारत भ्रमणमा हुँदा प्रधानमन्त्री मोदीजी र म मिलेर यो परियोजनाको शिलान्यास गरेको तथ्य सम्झन चाहान्छु ।

यो परियोजना एकदमै छिट्टै, निर्धारित अवधिभन्दा आधा समयमै सम्पन्न भएकोमा खुसी लागेको छ र हामी यसको सञ्चालनको उद्घाटन गर्न सक्षम भएका छौँ ।

यो पाइपलाइन परियोजना नेपाल र भारतबीच मात्र नभई दक्षिण एसियामै यस किसिमको पहिलो परियोजना हो ।

मेरो विश्वास छ कि यो परियोजनाले समय बचत गर्छ, मूल्य एवं सडकमा सवारी चाप घटाउँछ र भारतबाट नेपालमा पेट्रोलियम पदार्थ ढुवानी गर्दा हुने वायु प्रदूषण पनि कम गर्छ । त्यति मात्र नभई यसले यस्तो पाइपलाइन नेपालैभरि विस्तार गर्ने ढोका पनि खोल्छ ।

यस पाइपलाइनले उपभोक्ता मूल्यमा पार्ने सकारात्मक प्रभावबारे चर्चा गर्दै गर्दा, नेपाल आयल निगमले आजैदेखि लागू हुने गरी डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको जानकारी दिन पाउँदा म खुसी छु ।

सँगसँगै, निस्सन्देह यो परियोजनाले हाम्रा दुई देशहरूबीचको अन्तर्सम्पर्क र अन्तर्निर्भरतालाई अझ सशक्त बनाउनेछ । यो परियोजना व्यापार तथा पारवहन पूर्वाधारका हिसाबले नेपाल र भारतबीचमा कनेक्टिभिटीको एक उत्कृष्ट उदाहरण हो ।

यस्तो महत्वपूर्ण परियोजना सञ्चालनमा सहयोग र सहकार्यका लागि म प्रधानमन्त्री मोदीजी र भारत सरकारप्रति आभार व्यक्त गर्न चाहान्छु ।

प्रधानमन्त्री मोदीजी तथा विशिष्ट श्रोतागण,

नेपाल–भारत सहयोग केही परियोजनामा मात्र सीमित छैन । रेलमार्ग, आन्तरिक जलमार्ग, सडक, जलविद्युत् उत्पादन, एकीकृत जाँच चौकी, पुल, कृषि र पर्यटन लगायतका विविध क्षेत्र समेट्ने द्विपक्षीय परियोजनाहरू पनि तयारीका क्रममा छन् ।

यस्तै गति र प्रयासमा तिनको समापन हुँदा दुबै देश र दुबै देशका जनतालाई अधिकतम लाभ हुने मेरो विश्वास छ । हाम्रा अघिल्ला भेटहरूमा मोदीजी र मबीच भएका समझदारी पश्चात् पछिल्ला वर्षहरूमा भारतको सहयोगमा सञ्चालित परियोजनाको कार्यान्वयनले गति लिएको उल्लेख गर्दा म खुसी छु ।

यस अवसरमा, म भारतको आर्थिक सहयोगमा सम्पन्न नेपालका गोरखा र नुवाकोट जिल्लाका करिब ५० हजार घरको भूकम्पपश्चात्को पुनर्निर्माणको पनि प्रशंसा गर्न चाहान्छु । यी घरहरू नेपाली जनताका लागि भारतको सहयोग र मित्रवत् व्यवहारको सङ्केतका रूपमा रहनेछन् ।

यस्ता विकासका गतिविधिमध्ये अधिकांशले जनतालाई प्रत्यक्ष फाइदा दिन्छन् भने हाम्रो सम्बन्धलाई अझ बलियो र सार्थक बनाउँछन् ।

भारतसँगको सम्बन्धलाई नेपालले उच्च महत्व दिन्छ । यी दुई देशहरूको सम्बन्ध यति गहिरो र बृहत् छ कि कुनै पनि क्षेत्र हाम्रो सहकार्यबाट अछुतो छैन । यसलाई थप विस्तार गर्ने सम्भाव्यता पनि सदैव विद्यमान छ ।

हामी अहिले इतिहासको महत्वपूर्ण विन्दुमा छौँ । नेपाल र भारत दुबैतिर बलिया बहुमतीय सरकार सहितको राजनीतिक स्थायित्व छ । बढ्दो आर्थिक वृद्धि दर, गतिशील तथा सक्षम मानव स्रोतको उपलब्धता एवं प्राकृतिक स्रोतसम्पन्नताले गर्दा विकास तथा समृद्धिका लागि उत्साहजनक वातावरण बनेको छ । यसले गर्दा आपसी हितका लागि दुई देशबीचको साझेदारी र सहकार्यलाई अझ सशक्त बनाउने वातावरण निर्माण भएको छ ।

यसबाहेक, विकास, समृद्धि तथा जनताको खुसीबारे हाम्रा दृष्टिकोण समान छन् । ठोस राजनीतिक प्रतिबद्धता र तिनलाई कार्यान्वयन गर्ने बलियो सङ्कल्पले तिनलाई साथ दिएका छन् । मोदीजीको ‘सबका साथ, सबका विकास, सबका विश्वास’ र मेरो ‘समृद्ध नेपाल र सुखी नेपाली’को सपनाले हाम्रा प्रतिबद्धता, दृढता र आआफ्ना देशका विकासको अवस्थितिलाई रूपान्तरण गर्ने प्रयासको मूल रूपलाई समेट्दछन् ।

यस सन्दर्भमा म के विश्वास गर्दछु भने हामीले नेपाल–भारत सम्बन्धमा नयाँ उर्जा, गतिशीलता र मार्गदर्शन प्रदान गर्नु आवश्यक छ ता कि यसले आगामी दिनमा नयाँ उचाइ चुमोस् ।

यस उद्देश्यको प्राप्तिका लागि मोदीजीसँग हातेमालो गर्न म तयार छु ।

विगतमा भएका सफल भ्रमणहरूको आदानप्रदानलाई सम्झँदै म यस अवसरमा प्रधानमन्त्री मोदीजीलाई यथासक्य छिटो समय मिलाएर नेपाल भ्रमण गर्न हार्दिक निमन्त्रणा गर्दछु ।

अन्त्यमा, नेपाल–भारत सम्बन्धको यस महत्वपूर्ण परियोजना सञ्चालनका लागि अथक प्रयास गर्नुहुने सरकारी अधिकारी, स्थानीय निकाय तथा अन्य सम्बन्धित निकायलाई हार्दिक धन्यवाद दिन चाहान्छु ।

धन्यवाद !

यो पनि पढ्नुहोस ‘मेरा मित्र ओलीजी, चाँडै भेट्न आउँछु’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment