Comments Add Comment

खडेरीको मारमा रौतहटका किसान

२४ भदौ, रौतहट । बाग्मती सिँचाइको नहरमा पानी नआउँदा रौतहटका किसानले लगाएको धानबाली घामले डढेर खेतमै सुक्न थालेको छ ।

नहरमा पानी नआउँदा र आकाशबाट नियमित पानी नपर्दा भदौरे घामले धान खेतमै सुक्न थालेपछि रौतहटका किसान पीडित बनेका छन ।

रौतहटको गढीमाई नगरपालिकाको वडा नम्वर १, २, ४ र ५ का किसानहरुले खेतमा लगाएको धान पानीको अभावमा सुक्न थालेको छ । भदौ महिनामा पानी नै नपर्दा किसानको धानबाली सुकेर नष्ट हुन लागेको हो । अत्याधिक चर्को घामका कारण धानवाली लगाइएका खेत चिरा चिरा पर्न थालेको पीडित किसानहरुले बताए ।

सिँचाइ सुविधाबाट वञ्चित रहेका रौतहटका भूभागहरुमा धान खेती फस्टाउन सकेको छैन । महङ्गोमा धानको विउ तथा मल किनेर जेनतेन खेती गरेका किसानहरु पानी नपर्दा मर्कामा परेका छन ।

गढीमाई नगरपालिकामा वागमती सिँचाइ आयोजनाको उपशाखा नहर बनेको झण्डै २० वर्षको अवधिसम्म पनी नआउँदा किसान दोहरो मारमा परेका छन् । नहरका लागी भनेर आफ्नो जग्गा समेत सिँचाइलाई दिएका किसानले न जग्गाको मुआब्जा नै पाए न बाग्मती सिँचाइको पानी नै । ‘असार मसान्तपछि पानी परेकै छैन, नहरमा पानी नआउँदा खेत चिराचिरा परी सक्यो,’ गढीमाई नगरपालिकाका रामएकवाल बैठाले भने, ‘नहरमा पानी पठाउने तिर कसैले चासो दिदैन, यस वर्ष धान खेती नहुने जस्तो छ, जेनतेन गरेर पैसा जोडेर खेती गरेको थिएँ तर खडेरी पर्‍यो ।’ खेत छेउमै वागमती सिँचाइको नहर भएपनि उनलाई यसको कुनै फाइदा भएको छैन । नहर निर्माण भएको मितिदेखि अहिलेसम्म गढीमाइको चार वटै वडासम्म पानी आउन नसक्दा किसानहरुको हरिविजोग भएको र कही कतै कुनै निकायमा सुनवाई नहुँदा पीडित किसानहरुले डढेको धान खेतमै सिँचाई कार्यालय, स्थानीय तह विरुद्ध प्रदर्शन समेत गरेका छन् ।

स्थानीय किसान तथा समाजसेवी दिपेन श्रेष्ठका अनुसार किसानहरुलाई खेती गर्न सिँचाईको समुचित व्यवस्थापन गर्नका लागि वागमती सिँचाई आयोजनाबाट उपशाखा नहरको व्यवस्थापन गरिए पनि त्यसमा पानी नछाडिँदा किसानहरु मर्कामा परेको बताए । किसानको जग्गा लिएर नहर र टर्सरी बनाइएको भएपनि नहरमा पानी नआउँदा किसानहरु दोहोरोमा मारमा परेको उनले बताए । सिँचाइ सुविधा हुने आशामा नहरका लागि मुआब्जा समेत नलिइकन जमिन उपलब्ध गराइए पनि नहरमा पानी नआएपछि बाध्य भएर धान खेतमै प्रर्दशनमा उत्रनु परेको श्रेष्ठले बताए ।

किसानहरुद्धारा लगभग एक सय विगहा भन्दा बढी जग्गामा लगाइएको धान खेतमा सिँचाइको व्यवस्थापन नहुँदा एवं खेतसम्म विद्युतीय भूमिगत सिँचाईको पनि व्यवस्था नभएकाले स्थानीय किसानहरु आक्रोशित बनेका हुन ।

नहरमा पानी छाड्न ताकेता भइरहेको छः उपप्रमुख

किसानको समस्याकाबारेमा बाग्मती सिँचाइ कार्यालयलाई पटक पटक जानकारी गराएको गढीमाई नगरपालिकाकी उपप्रमुख सुभ्रदा गुप्ताले जानकारी दिइन् ।

नहरमा पानी पठाउने व्यवस्था मिलाउनका लागि आयोजनासँग बारम्बार ताकेता गर्दा पनि कुनै ध्यान नदिएको उनले गुनसो गरिन् ।

यस वर्ष किसानका लागि सहुलियतमा विद्युतीय मोटर तथा कृषि विद्युतीकरण उपलब्ध गराउन नगरपालिकाले पहल गरिरहेको उनले बताइन् ।

पानी खेतसम्म पुर्‍याउन पहल भइरहेको छः आयोजना

वागमती सिंचाई आयोजनाका डिभिजनल इन्जिनियर अखलाख सिद्धकीले किसानको मर्का प्रति आयोजना गम्भीर रहेको बताए ।

किसानको खेतसम्म नहरको पानी नपुग्नुका कारणबारे अध्ययन भइरहेको उनले बताए ।पुराना कर्मचारीहरुको सरुवा भएर नयाँ कर्मचारीहरु आएको हुँदा विगतको अवस्थावारे आयोजनालाई जानकारी नभएकोले समस्या आएको उनले बताए ।

दुई दिनको अनुगमन टोली बनाएर स्थलगत रुपमा निरीक्षण गरिरहेको बताउँदै उनले पानीलाई तल्लो सतहसम्म पुर्‍याउने गृह कार्य भइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment