Comments Add Comment

नेपालमा पर्न सक्ने विश्व आर्थिक मन्दीको प्रभाव

अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकका सर्भेहरुले समग्र विश्व अर्थतन्त्रमा संकुचनका संकेतहरु देखा पर्न थालेको देखाएका छन् । विश्वको आर्थिक बृद्धिदर ओरालो लाग्न थालेको छ । अर्थविज्ञहरुले विश्वमा छ/आठ महिनाभित्र मन्दीको प्रवेश हुने अनुमान गरेका छन् ।

विश्व परिवेशमा नेपालको अर्थतन्त्रको एउटा पाटोलाई मूल्यांकनगर्दा हाम्रा मुख्य आर्थिक सूचकहरु अहिलेसम्म मजवुत देखिन्छन् । आर्थिक बृद्धिदर लगभग सात दशमलव एक प्रतिशतको हाराहारीमा भएको छ । क्षेत्रगतरुपमा कृषि उद्योग व्यापार र सेवा क्षेत्र तथा भौगोलिकरुपमा सवै प्रदेशको आर्थिक बृद्धिदर सन्तुलित छ ।

वित्तीय क्षेत्र स्थायित्वका सूचकहरु समग्रमा सवल रहेका छन् । बैंकहरु नाफामा छन् । सरकारको खर्च गर्ने क्षमता बढेको छ । विदेशी सहायताको प्रतिबद्धता बढेको छ । मुद्रास्फिति नियन्त्रणभित्र छ । बैंक तथा वित्तीय संस्थाहरुको देशव्यापी विस्तारले जनताको वित्तीय पहुँच र अर्थतन्त्रको मौद्रीककरण दुबै बढेको छ । वित्तीय वजार र आर्थिक गतिविधि स्थानीयतहसम्म पुगेका छन् । ग्रामीण वस्तु साटासाट र शहरको मौद्रिक अर्थतन्त्रबीचको अन्तर घट्दै दुई किसिमको अर्थतन्त्रको आकार पनि साँघुरिएको छ । देश समृद्धिको आधार वर्षबाट विकास वर्षको चरणमा प्रवेश गरेको छ ।

बैंकहरुको निक्षेप बढेको छ र निक्षेपको व्याजदर पनि स्थिर छ । बचतको तुलनामा लगानी उच्च रहेको छ । कर्जाको व्याजदर घट्दो क्रममा रहेको र लगानीका अवसरहरु पनि देखिएकाले निजी लगानीको लागि बैंक ऋणको माग बढिरहेको छ ।

लक्ष्मीविलाश कोइराला

फलस्वरुप कर्जा प्रवाह बढेको भए पनि मुद्रा प्रदाय उपयुक्तस्तरमा रहेको छ । रोजगारीको अभावमा युवा जनसंख्याको ठुलो हिस्सा विदेशमा रोजगारीका लागि जाने क्रम जारी छ । बैदेशिक रोजगारीमा जानेहरुले पठाएको विप्रेषणको कुल ग्रार्हस्थ्य उत्पादनमा झण्डै २५ प्रतिशत योगदान छ । करिब आठ महिनाको आयात धान्न सक्ने विदेशी विनिमय सञ्चिति छ । पर्यटकको आवागमन पनि सन्तोषप्रद रुपमा बढेको छ ।

अर्थव्यवस्थामा देखिएको वर्तमान स्थितिलाई हेर्दा अहिले नै मन्दीको सम्भावना नभए पनि विश्वव्यापी अर्थतन्त्रमा देखिएको मन्दीउन्मुख लक्षणहरुलाई वेवास्ता गरेर बस्न भने मिल्दैन ।

अर्थतन्त्रको दोस्रो पाटो हेर्दा भने विकास कार्यका लागि पूँजीगत खर्च गर्ने क्षमतामा सुधार आएको छैन । विनियोजित बजेटको ठूलो हिस्सा बर्षेनी फ्रिज हुँदै आएकोछ । कर्मचारीतन्त्रलाई समायोजनको पिरलोले छोडेको छैन । वैदेशिक लगानी अपेक्षित रुपमा आउन सकेको छैन । लगानी वातावरण भनेजस्तो बन्न सकेको छैन । डुईङ विजनेसमा हाम्रो र्‍यांक ११० औं स्थानमा छ ।

शेयर बजारमा अत्यधिक अस्थिरता देखिएको छ । मौद्रिक नीतिले बचत र लगानीबीचको व्याजदर फरकलाई निश्चित दिशा दिन सकेको छैन । बैंकको तरलता पनि स्थिर छैन । बैदेशिक सहायतामा ऋणको भार थपिँदै गएको छ । बैदेशिक व्यापार घाटा उच्च छ । नेपालमा भएको सार्वजनिक निजी लगानीले बर्षेनी श्रम बजारमा आउने जनसंख्यालाई रोजगार दिन नसकेका कारण बेरोजगारीको दर ११.४ प्रतिशत रहेको छ । लगानी बढेअनुरुप रोजगारी सिर्जना भएको छैन वा सिर्जना भएको रोजगारीमा अरु नै कोही कार्यरत छन्, अन्योल छ ।

बेरोजगारी समस्याले मन्दीलाई निम्त्याउँछ । वैदेशिक रोजगारको अवसर साँघुरिँदै गएको छ । रेमिटान्सको आकार बर्षेनी साँघुरिँदै गएको छ । समग्रमा नेपालको अर्थतन्त्र पनि अन्तराष्ट्रिय अर्थतन्त्रसँग गाँसिएको कारण मन्दीको जोखिम उच्च नै रहेको छ ।

विश्वव्यापीकरण र उदारवादको ठाउँमा संरक्षणवाद पुनरुत्थानको छनकपछि उदार अर्थतन्त्रमा नकारात्मक बादल मडारिन थालेको हो । अमेरिका र चीनबीचको व्यापार युद्ध र सो व्यापार युद्ध हङकङमा मच्चिएको जनआन्दोलनसँग टाँसिन पुगेपछि विवाद छिट्टै टुङ्गिनेवाला देखिँदैन । चीन र अमेरिकाको व्यापार किचलोको प्रभाव ती दुई देशमा मात्र सीमित हुँदैन ।

जर्मनको अर्थतन्त्र चीनको बजारमा बीएमडब्लु, भक्सवागन, डयामलर जर्मनी कारको बिक्री घट्नासाथ जर्मन अर्थतन्त्र संकुचनतर्फ ओर्लिसकेकोे छ । जर्मन अर्थतन्त्रको संकुचन र ब्रेजिक्टको अनिश्चितताले मन्दीको लक्षण विस्तारै युरेपियन देशहरुमा पनि फैलँदै गएको छ ।

अमेरिकाले चिनियाँ उपभोग्य वस्तुहरुमा भन्सार कर बढाएपछि अमेरिकन बजारमा उपभोग्य वस्तुहरु महङ्गा भएका छन् । अमेरिकन उपभोक्ताहरु वस्तुको मूल्यवृद्धि भएका कारण उपभोग घटाउन बाध्य छन् । चीनमा अमेरिकन पूँजीगत वस्तु (जहाज) को माग घटेको कारण अमेरिकामा ती वस्तुको उत्पादन घटन शुरु भएको छ । अमेरिकाको चीनमा हुने निर्यातसँगै चीनको अमेरिकामा हुने निर्यात पनि घटेको छ ।

एशियन दुई अर्थतन्त्र जापान र कोरियाबीचको व्यापार झगडा पनि सङ्लिन सकेको छैन । जापानले दक्षिण कोरियामा निर्यात हुने विद्युतीय उपकरणको उत्पादनमा प्रयोग हुने सेमि कन्डक्टरमा लाग्ने फलुरिनेटेड पोलिमेड्स र हाईड्रो ल्कोराईडमा रोक लगाएपछि दुईदेशबीच व्यापार विवाद बढेको मात्रै होइन, जापानी उपभोग्य वस्तुको दक्षिण कोरियाली नागरिकले बहिस्कारसमेत गरेका छन् ।

वस्तुको आयात निर्यात निवार्ध हुनुपर्नेमा बाधाहरु आएपछि वस्तु उत्पादनमा ह्रास आउनु स्वाभाविक हो । यसैगरी, भारत र पाकिस्तानबीच कास्मिरको विषयमा देखापरेको विवादले पनि संकुचनउन्मुख अर्थतन्त्रमा घ्यू थप्ने काम गरेको छ । भारत आफ्ना आर्थिक सूचकहरु गम्भीर भएर हेरिरहेको छ ।

अर्थतन्त्रमा उतार चढाव आउनु स्वाभाविक घटना हो । अर्थतन्त्रमा मन्दी र स्फितिको अवस्था आइरहन्छ । आर्थिक गतिविधमा आउने सिथिलताको पूर्वानुमान गर्दै सिथिलता संरचनात्मक हो या चक्रीय हो जानकारी लिनुपर्छ । संरचनात्मक हो भने आर्थिक सुधार कार्यक्रमहरु ल्याउनुपर्छ र चक्रीय सिथिलता भएमा समस्त माग व्यवस्थापन गर्नु पर्छ ।

प्रसिद्ध अर्थशास्त्री किन्सअनुसार अर्थतन्त्रलाई स्थिर राख्न र समस्त माँग व्यवस्थापन गर्न मौद्रिक नीति र वित्तीय नीतिको सन्तुलित एवं एकअर्कालाई सहयोग पुग्ने गरी कार्यान्वयनमा ल्याउनुपर्छ । मन्दीको समयमा अर्थतन्त्रको सन्तुलन बिग्रने र समस्त माग घट्ने हुन्छ । यस समयमा मौद्रिक र वित्तीय नीति समस्त माग व्यवस्थापनमा केन्द्रित हुनुपर्छ ।

मन्दीमा उत्पादनका साधनहरुको न्यून उपयोग हुन्छ भने स्फितिको समयमा बढी । परंपरावादी अर्थशास्त्रीहरु स्फिति र मन्दी स्वचालित संयन्त्रले सच्याउने विश्वास गर्थे । अर्थतन्त्रका उतारचढावलाई स्वचालित संयन्त्रहरुले सच्याउन नसकेपछि सरकारको हस्तक्षेप आवश्यक मानियो ।

अर्थतन्त्रलाई विश्वसनीय राख्न सरकारको संलग्नता स्वीकार्य हुन पुगेपछि सरकारले वित्तीय नीति र मौद्रिक मार्फत अर्थतन्त्रलाई स्थीर, सन्तुलित बनाउने गर्दछ । वित्तीय नीतिले खर्च र कर नीतिमा परिवर्तन गरेर तथा मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाहरुमा आवश्यक तरलता व्यवस्था गरेर देशको अर्थतन्त्रको समस्त माँग (एग्रिगेट डिमाण्ड) लाई प्रभावित गर्दछ ।

यसकारण वित्तीय नीति र मौद्रिक नीतिलाई समस्त माँग व्यवस्थापन नीति पनि भनिन्छ । सार्वजनिक खर्च बद्धि र कर कटौति वित्तीय नीतिका उपकरण हुन् भने खुला बजार कारोवार, बैंकदर तथा अनिवार्य बचत अनुपात मौद्रिक नीतिका उपकरणहरु हुन् ।

वित्तीय नीति र मौद्रिक नीतिका उपकरणहरुको कार्यान्वयनबाट अर्थतन्त्रमा समस्त माँग बृद्धि गरी स्थायित्व कायम गर्ने कोशिस गरिएको हुन्छ । मन्दीको समयमा सरकार जानी जानी सरकारी खर्च बढाउने र कर दरमा परिवर्तन गरी खर्च उपभोक्ताको उपभोग्य आय बढाउने कार्य गर्दछ । मन्दी व्यवस्थापन र वेरोजगारीको समस्या समाधान गर्न ल्याएको विस्तारकारी खर्च नीति घाटा बजेट हो ।

सरकारी खर्चको विस्तारले अर्थतन्त्रमा प्रत्यक्ष र अप्रत्यक्ष प्रभाव पार्ने गर्दछ । खर्च बृद्धिले प्रत्यक्षरुपमा सार्वजनिक कार्यहरु बृद्धि हुन्छन् । रोजगारीका अवसरहरु बढछन् । मान्छेहरुले काम पाउँछन् । आय बढ्छ । कर कटौति गरेको कारण उपभोग्य आय बढ्छ ।

आयको कारण बजारमा वस्तुसेवाको माग बढछ । सीमान्त उपभोग प्रवृति उच्च हुन्छ । बस्तुसेवाको माँग बढन थालेपछि नीजि क्षेत्र लगानी गर्न उत्सुक हुन्छ र बैंकहरु पनि ऋण प्रवाह गर्न अग्रसर हुन्छन् । लगानीलाई बढाउन केन्द्रीय बैंकले मौद्रिक नीतिको मार्फत लगानी बढाउन बैंकमा तरलता कम हुन दिँदैन ।

बजारमा देखिएको चहल–पहलले उत्पादन र रोजगारीलाई बढाउँछ, आय बढ्छ, लगानी बढ्छ र अर्थतन्त्रमा गुणोत्तर प्रभाव आएको कारण अर्थतन्त्र विस्तारै स्फितितर्फ उन्मुख हुन्छ ।

भारतमा अटो विक्रिमा र चीनमा उपभोग्य बस्तु बिक्रीमा आएको हसले अर्थतन्त्र मन्दीउन्मुख भएको लख काटदै चिनीया अर्थमन्त्री लिग कुन र भारतीय अर्थमन्त्री सीतारमणले मन्दी व्यवस्थापनमा निकै चासो राखिरहेको देखिन्छ । भारत र चीनमा आर्थिक मन्दीको छनक आईसकेको छ । हाम्रो अर्थतन्त्रमा मन्दीको तत्काल संभावना नभए पनि विश्व तथा छिमेकी देशमा आएको मन्दीको प्रभाव ढीलोचाँडो कुनै न कुनै रुपमा पर्ने नै हुन्छ । त्यसका लागि आर्थिक सावधानी आवश्यक छ ।

जब विश्व अर्थतन्त्र मन्दीमा जान्छ, तब विश्वमा उत्पादन र रोजगारीमा व्यापक कटौति हुन्छ । त्यसले एकातर्फ विदा मनाउन नेपाल आउने पर्यटकको आवागमन ठाडै घट्न जान्छ भने अर्कोतर्फ विदेशमा काम गर्न जाने नेपाली कामदारको रोजगारी कटौति भई रेमिटान्सको प्राप्ति पनि घट्न थाल्छ । निर्यात घट्छ । वैदेशिक लगानी घटछ । बैदेशिक सहयोग घटछ । लगानी गर्न सरकारसँग पर्याप्त आम्दानी हुँदैन ।

परिणामस्वरुप, समग्र अर्थतन्त्र गम्भिर मोडमा पुग्छ । समृद्ध नेपाल र सुखी नेपालीको उद्देश्य हासिल गर्न अर्थतन्त्रमा स्थायित्व आवश्यक हुन्छ । अर्थतन्त्रमा विश्वमन्दीको प्रभाव आउनु पूर्व मन्दी व्यवस्थापनका लागि केही अपनाउन सकिने केही सम्भाव्य उपायहरु तल प्रस्तुत गरिएको छ ।

  • सरकार, कर्पोरेशन कम्पनी तथा व्यक्तिको आर्थिक क्रियाकलापहरु अनुशासित र व्यवस्थित बनाउने,
  • अर्थतन्त्रमा समस्त माँगमा आएको परिवर्तनको सुक्ष्म अध्ययन गर्दै कमजोरीहरु सच्याउदै जाने,
  • सरकारी खर्च गर्ने क्षमता सरकारी र खर्च बढाउने,
  • करदरमा कटौति गरी उपभोग्य आय बढाउने,
  • जनतालाई सामाजिक दायित्व पुरा गर्न ट्रान्सफर अफ पेमेन्ट भुक्तानी ठीक समयमा गर्ने,
  • उच्च मूल्य भएका वस्तुहरुको निर्यात बढाउने,
  • लगानी वातावरण वनाई स्वदेशी नीजि र विदेशी लगानीलाई आर्कषित गर्ने,
  • पर्यटक आवागमनलाई आर्कषक, विश्वसनीय एवं सरल बनाउने,
  • रोजगारीका अवसरहरु बढाउने,
  • केन्द्रीय बैंक र बाणिज्य बैंकहरुबीच धितोपत्रका किनबेच हुने खुला बजार कारोवारलाई सञ्चालन गर्ने,
  • बाणिज्य बैंकहरुसँग केन्द्रीय बैंकले लिने बैंकदर व्यवस्थापन गर्ने,
  • जम्मा र ऋणप्रवाहबीचको अनिवार्य बचत अनुपात व्यवस्थापन गर्ने,
  • ऋण प्रवाह अनुकुल व्याजदर कायम गर्ने,
  • फजूल खर्च नियन्त्रण गर्ने,
  • बैंकहरुले स्थिर सम्पति घरजग्गामाथि गर्ने लगानी नियन्त्रण गर्ने,
  • बैंकहरुको खराव कर्जालाई म्यानेजेवल सीमाभित्र राख्ने,
  • बैंक तथा वित्तीय संस्थाहरुको बैकिङ क्षमता (बचत परिचालन र ऋणप्रवाह) बढाउन बैंक तथा वित्तीय संस्थाहरुलाई एकआपसमा गाभ्ने,
  • बैंक तथा वित्तीय संस्थााहरुको खराव कर्जा नियन्त्रण गर्ने,
  • योजनाबद्ध लगानीलाई प्रोत्साहित गर्ने,
  • मन्दीको व्यवस्थापनको लागि आकस्मिक कोषको व्यवस्था गर्ने, र
  • अर्थ मन्त्रालयमा एउटा विश्व आर्थिक गतिविधि अनुगमन टीम बनाउने ।

अन्तमा, अर्थतन्त्र उपभोक्ताद्धारा सञ्चालित हुन्छ । उपभोक्ताको खर्च मूलतः आय, सम्पति, व्याजदर तथा आय तथा सम्पतिमाथि भविष्यमा आउने जोखिमको अनुमानले निर्धारण गर्नुपर्छ ।

मन्दीको समयमा कामदार कर्मचारीको रोजगारी कटौति हुन्छ । रोजगारी कटौति तथा मन्दीको भयले उपभोक्ता आफनो खर्चलाई घटाउन थाल्दछन् । उपभोक्ताले खर्च कम गर्नु भनेको अर्थतन्त्रमा मन्दी आउनुको प्रमुख लक्षण हो । मन्दी व्यवस्थापन गर्न सरकारको प्रमुख भूमिका रहन्छ भने उपभोक्ताको खर्च बढाउनु अनिवार्य मानिन्छ ।

हाम्रो आफ्नै आर्थिक सूचक मजवूत हुँदाहुँदै पनि विश्व मन्दीका प्रभावहरु हामीसम्म आइपुग्छन् । मन्दीले अर्थतन्त्रको क्रियाशीलतालाई सिथिल बनाउने वा आर्थिक बृद्धिलाई रोकिदिने भएकाले विश्वव्यापी मन्दीको प्रभावले छोप्नु पूर्व मन्दी व्यवस्थापनका लागि सरकारले समयमा नै वित्तीय नीति र मौद्रिक नीतिलाई अनुकुल बनाउने तत्परता र सावधानी देखाउन आवश्यक हुन्छ ।

आर्थिक मन्दी : व्यापारको चक्र, अर्थतन्त्रको संकुचन

आर्थिक मन्दी भनेको व्यापार चक्रको एउटा चरण हो, अर्थतन्त्रको संकुचन हो । जहाँ वस्तुको उत्पादन र विक्री घट्छ । रोजगारी घट्छ । उपभोक्ताको आय घटछ । उपभोग घटछ । बचत घट्छ र लगानी पनि घट्छ । अर्थतन्त्रमा आउने यसप्रकारको चक्रीय अवस्थालाई मन्दी भनिन्छ ।

मन्दीमा कुल ग्रार्हस्थ्य उत्पादन, प्रतिव्यक्ति आय, उपभोग, मुद्रास्फिति, लगानी र नाफा सबै घट्छन् । बजारमा वस्तुसेवाको माग कम हुनासाथ उत्पादकहरुले उत्पादनमा र्‍यासनिङ गर्न थाल्दछन् । वस्तुको उत्पादन घटाउने निर्णय साथसाथै उद्यमीहरु कारखनाका अस्थायी कामदार कर्मचारीहरुलाई पनि कामबाट हटाउन थाल्छन् ।

श्रम बजारमा वेरोजगारहरुको भीड बढ्छ । उत्पादन कटौति रोजगारीमा कटौती, आम्दानी कटौतीले गर्दा उपभोक्ता खर्च घटाउन बाध्य हुन्छन् । अर्थतन्त्रप्रति विश्वास उपभोक्ताको विश्वास छ भने धेरै खर्च गर्छन् र विश्वास नभए खर्च नियन्त्रण गर्न थाल्छन् । अहिले उपभोक्ताको क्रयशक्तिमा ह्रास आएकाले विश्व बजारमा उपभोक्ता खर्च कम हुँदै जाने क्रम शुरु भएको छ ।

उपभोक्ताको आय कम हुनासाथ बजारमा वस्तुसेवाको मागमा कमी आउँछ र औद्योगिक उत्पादन र व्यापार व्यवसाय दुबै संकुचन हुन थाल्छ । उद्योग व्यापारको संकुचन हुनासाथ कर्पोरेशनहरुको आम्दानी घट्छ । खर्च जोगाउन कर्पोरेशनहरुलाई तत्काल शिरोभार लागत घटाउन सम्भव नहुने कारण सञ्चालन लागत कम गर्न थाल्छन् । उत्पादित वस्तु विक्री नभएपछि कर्पोरेशनहरु बंैकबाट लिएको ऋण भुक्तानी गर्न असमर्थ हुन्छन् ।

कर्पोरेशनहरुको बिग्रँदो आर्थिक अवस्थामा उनीहरुकोे शेयर मूल्य पनि कम हुन थाल्छ । बैंकहरु पनि कर्पोरेशनमा थप ऋण लगानी गर्न अग्रसर हुदैनन् । कर्पाेरेशनहरुसँग लगानी गर्ने क्षमता पनि हुँदैन । उत्पादन झन झन घटन थाल्छ र सँगसँगै रोजगारी कटौती पनि बढदै जान्छ । उद्योगको उत्पादन विक्री नभएर थुप्रिएर बस्छ । निजी लगानी घट्छ ।

निजी लगानी घट्नु भनेको निजी क्षेत्रमा लगानीबाट नाफा कम हुनु वा हुँदै नहुनु हो । लगानीको सीमान्त प्रभावकारिता घटदो हुन्छ र समस्त माग बक्र नै दाहिनेतर्फ झुक्छ । बजारमा वस्तुसेवाको क्रय–विक्रयमा सिथिलता आउनु र अर्थतन्त्रमा समस्त माग घटनु भनेको अर्थतन्त्र मन्दीतर्फ लाग्नु हो ।

अर्थतन्त्रले राम्रोसँग काम गरिरहेको समयमा लगानीकर्ताहरु ऋण माग गर्छन् र बैंकहरु पनि निर्धक्क लगानी गरिरहेका हुन्छन् । उपभोक्ताहरुले पनि रोजगारी पाइरहेका कारण निर्धक्क खर्च गर्छन् । लगानी विस्तारका लागि ऋणको माग झन–झन बढेको हुन्छ । बैंकहरु पनि लगानी बढाउन हौसिन्छन् । लगानीको प्रतिफल राम्रो भैरहेको अवस्थामा बैंकहरु घरजग्गा जस्तो लामो अवधिको लगानी र जोखिमपूर्ण क्षेत्रमा पनि लगानी गर्न पुग्छन् ।

तर, बस्तु र सेवाको अत्यधिक उत्पादन भैरहेको समयमा बैंकहरुसँग लगानी विस्तार गर्न पर्याप्त तरलता हुँदैन । लगानी विस्तारका लागि ऋण सुविधाको अभावमा कर्पोरेशनहरु लगानी घटाउन बाध्य हुन्छन् । कामदारले रोजगारी गुमाउँछन् । बजारमा वस्तुको माग र विक्री घट्न थाल्छ । आम्दानीमा कमी भएकाले कर्पोरेशनहरु बैंक तथा वित्तीय संस्थाको ऋण समयमा फिर्ता गर्न सक्दैनन् । उनीहरु कमजोर वस्तु धितो राखेर लिएको ऋण तिर्न चासो पनि दिँदैनन् जस्लेगर्दा बैंकमा नगद शुन्य बरावर हुन जान्छ ।

अर्थतन्त्रमा गडबडी देखिनासाथ विदेशी लगानीकर्ताहरु आफ्नो लगानी फिर्ता लैजान खोज्छन् । बैंक तथा वित्तीय संस्थाहरुमा तरलता (लिक्विडिटी) को अभाव हुन जान्छ । यसै समयमा बचतकर्ताहरु बैंकमा पैसा झिक्न जान्छन् । एकाएक धेरै बचतकर्ताहरु डिपोजिट झिक्न जाँदा तरलताको अभावमा बैंकहरु भुक्तानी दिन असमर्थ हुन्छन् ।

सञ्चयकर्तामा पाइने मनोवैज्ञानिक सिड्रोमका कारण सबै बैकप्रति उनीहरुको विश्वास घटछ र बैंक डुब्ने डरले जम्मा झिक्नेको होड चल्छ । बैंकहरु तत्काल भुक्तानी दिन सक्दैनन् । बैंक तथा वित्तीय संस्थाहरुले जम्माकर्ताहरुलाई जम्मा फिर्ता गर्न नसक्नु भनेको वित्तीय संकट (फाइनासियल क्राईसिस्) को संकेत हो । वित्तीय संकट मन्दीको परिचायक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment