+
+
Shares

प्रधानमन्त्रीमा कार्की : प्रधानसेनापति र जेनजीको दबाबपछि जुटेको सहमति

जेनजी नेताको प्रतिक्रिया- अब भ्रष्टाचारलाई जरैबाट फ्याँकिन्छ

अबेरसम्म सहमति नजुटे संकटकाल लगाउने प्रधानसेनापति अशोक सिग्देलको चेतावनी र सडकमा फर्किने जेनजीको तयारीपछि नाटकीय रुपमा बेलुकी दलहरूको प्रस्ताव पन्छाइएको थियो । र, कार्कीलाई पहिलो महिला प्रधानमन्त्री बन्ने बाटो खुल्यो ।

गौरव पोखरेल गौरव पोखरेल
२०८२ भदौ २७ गते २३:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रपति रामचन्द्र पौडेलले संविधान बमोजिम पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको छ।
  • सुशीला कार्कीले शुक्रबार साँझ प्रधानमन्त्रीको शपथ ग्रहण गरेकी छन् र ६ महिनाभित्र चुनाव गर्ने योजना रहेको छ।
  • जेनजी आन्दोलनको दबाबमा बनेको सरकारलाई माओवादी केन्द्रले असहमति जनाएको छ भने जेनजी समर्थकहरू यसलाई आफ्नो सरकार भन्छन्।

२७ भदौ, काठमाडौं । अन्तत: देशले पाँच दिन लामो तनावपछि जेनजी पुस्ताको प्रस्ताव अनुरुप नयाँ प्रधानमन्त्री पाएको छ ।

राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै ‘मुलुकमा उत्पन्न विषम तथा असाधरण परिस्थितिलाई सम्बोधन गर्दै युवा पुस्ताद्वारा प्रकट गरिएको इच्छा र आकांक्षा अनुसार सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त’ गरिएको भनेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार अबेर प्रधानमन्त्री नियुक्त गरेपछि बेलुकी नै पूर्वप्रधानन्यायाधीश कार्कीले शपथ ग्रहण गरेकी छन् ।

शपथ ग्रहण समारोहमा जेनजी पुस्ताको बाक्लो उपस्थिति रह्यो । पूराना राजनीतिक दलका नेताहरू नगन्यरुपमा उपस्थित सभामा कार्कीले जेनजी युवाहरूको हात समाउँदै अर्थपूर्ण तस्वीर समेत खिचाएकी छन् । शपथ ग्रहण समारोहमा राष्ट्रपति कार्यालयका सचिव दिपक काफ्लेले कार्की नेतृत्वको सरकारले ६ महिनाभित्र चुनाव गराउने समेत उल्लेख गरेका छन् ।

राष्ट्रपति कार्यालयले विज्ञप्तिमा राजनीतिक दल तथा सरोकारवालाहरूसँग परामर्श समेतका आधारमा संविधान बमोजिम राष्ट्रपतिका अन्तरनिहीत संवैधानिक अधिकार प्रयोग गरेर कार्कीलाई नियुक्त गरिएको उल्लेख गरेको छ । ‘संविधानको पालना र संरक्षण एवं नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्न आवश्यक भएकाले राष्ट्राध्यक्षको हैसियत’ ले यो निर्णय लिएको भनिएको छ ।

तर, परम्परागत दलहरूले संसद् विघटन गरेर कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने राष्ट्रपतिको निर्णयप्रति असन्तुष्टि जनाइरहेका छन् । माओवादी केन्द्रले विज्ञप्ति नै जारी गरेर गम्भीर असहमति रहेको बताएको छ ।

प्रधानसेनापति र जेनजेको दबाबपछि गले राष्ट्रपति

सोमबार र मंगलबार भएको जेनजी प्रदर्शनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन बाध्य भएका थिए । लगत्तै नेपाली सेनाले परिस्थितिलाई नियन्त्रणमा लिन अग्रसरता देखाएको थियो । राष्ट्रपति रामचन्द्र पौडेलसँग समन्वय गरेर प्रधानसेनापति अशोकराज सिग्देलले जेनजी प्रतिनिधिहरूसँग सोही दिन रातिदेखि छलफल थालेका थिए ।

भोलिपल्ट नेपाली सेनाको मुख्यालयमा २० जनाभन्दा बढी जेनजी प्रतिनिधि पुगेपछि उनले पहिले एकमत भएर आउन भनेका थिए । त्यसपछि जेनजी प्रतिनिधिहरूबीच अलग्गै वार्ता भएको थियो । बुधबार बेलुकी जेनजी युवा सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार बनाउन तयार देखिएका थिए ।

सुरुमा संघीयता, संविधानसहितका विषयमा छलफल गर्दा उनीहरू विभाजित देखिएका थिए । पछि उनीहरू चुनावी सरकारको नेतृत्व छान्नेमा मात्र कायम रहे । त्यसपछि उनीहरूले सामाजिक सञ्जाल डिस्कर्डमा समेत डिजिटल मतदान गराए, त्यसमा सुशीला कार्कीको पक्षमा धेरै मत आएको थियो ।

दिउँसो नाटकीय घटनाक्रम विकसित भयो । प्रधानसेनापति सिग्देलले शुक्रबार पनि नयाँ सरकार प्रमुख नियुक्त गर्न नसक्ने हो भने संकटकाल लगाउनुपर्ने प्रस्ताव अघि सारे ।

जेनजीबाट टुंगिएर प्रस्ताव आएपछि प्रधानसेनापति सिग्देलले राष्ट्रपति पौडेलसमक्ष त्यो सन्देश पुर्‍याएका थिए । त्यसपछि बिहीबार अबेरबाट राष्ट्रपति पौडेलले नयाँ सरकार गठनका लागि राजनीतिक सहमति जुटाउन दलका नेताहरूसँग परामर्श थालेका थिए ।

त्यसक्रममा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादीका नेताहरूले जेनजी आन्दोलनको म्यान्डेट अनुसार पूर्वप्रधानन्यायाधीश सुशीला कार्की सरकार प्रमुख बनाउन सहमति जनाए । तर, दलका अधिकांश नेताले उनलाई संविधान र संसद्को फ्रेमबाट शासकीय जिम्मेवारी दिनसक्ने प्रबन्ध गर्नुपर्ने मत राखेका थिए ।

बिहीबार बेलुकी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समेत राष्ट्रपति पौडेलको निमन्त्रणामा शीतलनिवास पुगेका थिए । उनीसँगै माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन पनि उपस्थित थिए ।

माओवादी नेताहरू शीतलनिवास पुगेपछि राष्ट्रपति कार्यालयबाट कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई बोलाइएको थियो । राति ११ बजे उनीहरूलाई कार्यालयबाट बोलाइएपछि फरकफरक ठाउँमा रहेका उनीहरूले टेलिफोनमार्फत नै पार्टीको मत राखेका थिए ।

त्यसक्रममा दलहरूले जेनजी आन्दोलनको मर्म अनुसार, नयाँ सरकार गठनका लागि सहयोग गर्न पार्टी तयार रहेको सन्देश दिएका थिए । त्यसका लागि संसद् विघटन नगरी कार्कीलाई अघि बढाउने बाटो खोज्नुपर्ने उनीहरूको भनाइ थियो ।

तर, सुशीला कार्कीसहित काठमाडौंका मेयर बालेन शाह, उनका कानूनी सल्लाहकार ओमप्रकाश अर्याल त्यसमा तयार भएनन् । जेनजीका माँझ लोकप्रिय मेयर बालेनले त दुईपटक संसद् विघटन नगरी वार्तामै बस्न नहुने भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखेका थिए । यसैमा कुरा नमिल्दा सरकार गठन प्रक्रिया लम्बिएको थियो ।

शुक्रबार दिनभर समेत छलफल गर्नु परेको थियो । वार्तामा सहभागी स्रोतका अनुसार, राष्ट्रपति पौडेलले समेत संसद् विघटन नगरी अघि बढ्नुपर्ने मत राख्दै आएका थिए ।

तर, दिउँसो नाटकीय घटनाक्रम विकसित भयो । प्रधानसेनापति सिग्देलले शुक्रबार पनि नयाँ सरकार प्रमुख नियुक्त गर्न नसक्ने हो भने संकटकाल लगाउनुपर्ने प्रस्ताव अघि सारे ।

‘बाहिर जनता प्रदर्शन गर्नलाई तयार भएर बसेका छन्, त्यस्तोमा बेलुकीबाट संकटकाल लगाउनुको विकल्प हुँदैन,’ उनले स्पष्ट सन्देश दिएका थिए, ‘त्यसपछि राष्ट्रपति पौडेल दबाबमा परेका थिए ।’

त्यहीबीच जेनजीको विभिन्न समूहले शुक्रबार रातिसम्ममा प्रधानमन्त्री नियुक्ति नभए फेरि सडकमा जाने चेतावनी दियो । र, अन्तिममा दलहरूको भावना विपरित राष्ट्रपति पौडेलले जेनजी युवाको पक्षमा निर्णय लिए ।

आशावादी छन् जेनजी प्रदर्शनकारी

शुक्रबार राति नै जेनजी समर्थनमा प्रधानमन्त्री बनेकी कार्कीले कार्यभार सम्हालिसकेकी छन् । तर, मन्त्रिपरिद् सदस्यहरू भने टुंगो लगाइएको छैन ।

बैठक स्रोतका अनुसार, बालेनका कानुनी सल्लाहकार समेत रहेका ओमप्रकाश अर्याल, विद्युत् प्राधिकरणमा छँदा गरेका कामका कारण चर्चा पाएका कुलमान घिसिङ लगायतलाई मन्त्री बनाएर अघि बढ्नसक्ने विषयमा छलफल भएको छ । नेपाली सेनाको पृष्ठभूमिबाट पनि कोही पूर्वजनरल मन्त्री बन्नसक्ने सम्भावना छ ।

‘तर, अहिल्यै मन्त्री बनाउने विषयतिर लाग्दा अनेक टिकाटिप्पणी हुनसक्छन् भन्ने सोचेर हतार नगर्ने भन्ने कुरा भयो,’ स्रोतले भन्यो, ‘भोलिबाट यसबारे कुराकानी हुन्छ ।’

अहिले सुशीला कार्कीको नियुक्तिमै जेनजी अभियन्ता खुशी देखिएका छन् । ‘यो सरकार हाम्रो पुस्ताको सरकार हो, भ्रष्टाचारमा नो कम्प्रमाइज भन्ने सरकार हो,’ सेनासँग भएको छलफलमा समेत सहभागी जेनजी नेता युजनराज भण्डारी भन्छन्, ‘यो सरकारले कुनै पनि गलत काम हुन दिँदैन, ६ महिनापछि चुनावबाट आउने सरकारले झन् बलियो म्यान्डेट लिएर भ्रष्टाचार निमिट्यान्न पार्छ ।’

जेनजी आन्दोलनको म्यान्डेट नै देशबाट भ्रष्टाचारलाई जरैबाट उखेलेर फाल्नु भएको बताउँदै उनी भन्छन्, ‘अब देखि फेरि लयमा फर्किन्छ ।’

लेखक
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?