+
+
Shares

कश्मीरमा अहिले आमा बन्न निकै कठिन छ

पुनम कौशल पुनम कौशल
२०७६ भदौ २५ गते १८:००

काठमाडौं । श्रीनागरका अधिकांश क्षेत्रमा सन्नाटा छ, तर लल्ला देड अस्पतालको गल्लीमा भने चहल पहल छ ।

बाहिरको तनावको असर यहाँ पनि देखिन्छ । श्रीनगरकै सबैभन्दा ठूलो प्रसूति अस्पतालमा नवजात शिशुलाई संसार देखाइरहेका आमाहरूको अनुहारमा खुशीको भन्दा पनि उदासीपन बढी देखिन्छ ।नवजात शिशुलाई छातीमा च्याप्दै एक आमाले भनिन्, ‘मेरी छोरी संसारमा धेरै गाह्रो परिस्थितिमा आएकी छे, अल्लाहले उनलाई अझ राम्रो जीवन दिऊन् ।’

पहिलो पटक आमा बनेकी समीराले भनिन्, ‘हामी जुन वातावरणमा हुर्क्यौं, हाम्रा बच्चाहरूले त्यो वातावरण चाहँदैनन् । म छोरीको अनुहारमा शान्तिका लागि प्रार्थना गरिरहेको छु ।’

अस्पतालका एक डाक्टरले तथ्याङ्क हेर्दै भने, ‘यहाँ प्रत्येक दिन औसतमा १ सय जना बच्चाहरु जन्मने गर्छन् । हाम्रो तयारी पूर्ण भएको छ, त्यसैले कुनै समस्या छैन ।’

यद्यपि गर्भवती महिलाहरूले अस्पतालसम्म पुग्दा सन्तोषजनक सुविधा पाइरहेका छन् । यहाँसम्म पुग्नु उनीहरूका लागि ठूलो चुनौती हो ।

गर्भवती महिलाका लागि समस्या

अगस्तमा जम्मू कश्मीरको विशेष संवैधानिक दर्जा खारेज गरेपछि केन्द्र सरकारले भारत प्रशासित काश्मीर उपत्यकामा कडा प्रतिबन्ध लगाएको छ । प्रतिवन्धपछि सबैजना पीडित छन् । तर, सबै भन्दा बढी प्रभावित महिला र बच्चाहरु भएका छन् ।

लल्ला देड अस्पतालमा भर्ना हुन पर्खिरहेकी एक गर्भवती महिला भन्छिन्, ‘हामी यहाँ निकै कठिनका साथ आएका छौं । गाडीमा बिरामी हुँदा पनि ठाउँ ठाउँमा रोकियो । आशा छ, सबै कुरा ठीकै हुनेछ ।’

ग्रामीण क्षेत्रबाट आएकी एक गर्भवती महिलाकी आफन्त भन्छिन्, ‘प्रतिबन्धका कारण औषधि लिन र जाँच गर्न गाह्रो भयो ।’

कश्मीर उपत्यकाको ग्रामीण इलाकामा दुई महिना बिताएर कतार फर्किन लागेकी एक महिला भन्छिन्, ‘सबैभन्दा समस्यामा गर्भवती महिलाहरू छन् । उनीहरुलाई अस्पताल जानका लागि गाडी पाइँदैन । गर्भवती महिला मात्रै होइन, सबै बिरामी मानिसको अवस्था धेरै खराब छ ।’

निराश छन् निर्दोष बालबालिका

स्कूल बन्द भएकाले बालबालिकाहरु घरमै थुनिएका छन् । दुईजना बालिका श्रीनगरको खाली सडकमा छिटो हिँडिरहेका भेट्टाएँ । निर्दोषपनले उनीहरुको निराशालाई छोपेको थियो । उनीहरु आज स्कूल जान सक्दैनन् । डाक्टर बन्न चाहने यी बालिकाहरु भन्छन्, ‘हड्तालका कारण विद्यालयहरू बन्द छन् । जताततै सेना छन्, हामी खेल्न समेत सकेका छैनौं ।’

उनी भन्छिन्, ‘परीक्षा आउँदैछ, हामी सबै चाहन्छौं कि स्कूल चाँडै खुलोस् ।’

सरकारले श्रीनगर र अन्य क्षेत्रमा सबै जसो विद्यालय खोलिएको दाबी गर्छन् । तर, बालबालिकाहरु स्कूलमा देखिँदैनन् ।

श्रीनगरको जीबी पन्त अस्पताल बाहिर छोरीलाई काखमा च्यापेकी एक महिला भन्छिन्, ‘म मेरो छोरीका लागि राम्रै सोच्छु । मेरो छोरीले भविष्यमा राम्रो गरेको हेर्न चाहन्छु । तर, अवस्था अहिले अत्यन्तै खराब छ । विद्यालय बन्द भएपछि छोरीको प्रशिक्षण रोकिएको छ । अहिले त आगो नै आगो देखिरहेको छु ।’

महिला बढी आक्रोशित

पुरुषहरू त अहिले पनि घरबाट बाहिर जान सकेका छन् । तर, महिलाहरू पूर्ण रुपमा घरभित्रै थुनिएका छन् । जसका कारण उजनीहरुमा आक्रोश र उदासीनता बढ्दै छ ।

रिसले चूर भएकी एक महिला भन्छिन्, ‘अधिकारीहरूलाई खानेकुरा जम्मा गर्न भनिरहेको रहेछ । तर हामीलाई भनिएन । हामीसँग भएका खाने सामाग्री सकिँदैछ । अब हामी घरमै मर्दैछौं । तर कसैले पनि खबर लिनेवाला छैन ।’

उनी भन्छिन्, ‘कश्मीर उपत्यकामा केही पनि ठीक छैन । पीडित महिलाको संख्या धेरै बढेको छ । उनीहरुको बच्चा पेटभित्रै मर्ने अवस्था छ । गर्भवती महिला अस्पतालमा पुग्ने अवस्था छैन ।’

मिडियाबाट कश्मीर उपत्यका सामान्य भएको दाबी गरिएको समाचार सुनेपछि उनी सबैभन्दा बढी मिडियासँग रिसाएकी छन् । उनी कडा आवाजमा भन्छिन्, ‘मेरा मनले भनिरहेको छ कि टिभी फुटाऔं । यदि सरकारले हामीसँग कुरा गरेको भए, हाम्रो कुरा सुनेको भए हामी खुशीसाथ भारतमै रहन्थ्यौं ।’

त्रास

मोबाइल र इन्टरनेट सेवामा प्रतिबन्धले महिलाको मानसिक स्वास्थ्यलाई पनि असर गरिरहेको छ । पुरुषहरु घरबाट बाहिर जाँदा चिन्ता हुन्छ कि उनीहरु ठीक छन् कि छैनन् ?

डल नजिकै पसल चलाउने एक व्यापारी भन्छन्, ‘ल्याण्डलाइन फोन चलेपछि अवस्था केही सुधार भएको छ । पहिले मेरो आमाले दिनभर घरको ढोकामा बसेर म कतिखेर घर फर्कन्छ भनेर कुरेर बस्नु हुन्थ्यो । अहिले पटकपटक फोन गरेर मेरोबारे जानकारी लिने गर्नुहुन्छ ।’

काश्मीरमा महिलाहरूको लागि पहिले पनि अवस्था गाह्रो नै थियो । तर, अहिले उनीहरूमा थप पीडा थपिएका छन् । विगत धेरै हप्तादेखि आफ्नै घरभित्र बन्दी बनेकी एक महिला भन्छिन्, ‘हाम्रो सास नै रोकिए झै भएको छ । जब घर बाहिर हेर्छौं, मौनता देखिन्छ ।’

१० वर्षदेखि लन्डनमा बसिरहेकी हिबा आफ्ना आमाबुबाको अवस्था थाहा पाउन श्रीनगर आइपुगेकी छिन् । धेरै प्रयास गर्दा पनि उनले आफ्ना आमा र बुबालाई सम्पर्क गर्न सकिनन् । भन्छिन्, ‘बुबाले मलाई भन्नुभयो कि सामाजिक सञ्जालमा यहाँको विषयमा केही नलेख्नू । उहाँ मेरो सुरक्षालाई लिएर हुनुहुन्थ्यो, म उहाँको सुरक्षालाई लिएर ।’

हिबा भन्छिन्, ‘त्यसपश्चात परिवारका सदस्यहरूसँग मेरो कुनै सम्पर्क भएन । मेरो बुवालाई मधुमेह भएको छ, मलाई उहाँसँग कुनै औषधि छ कि छैन भनेर थाहा थिएन ।’

‘मैले जे सोचेको थिएँ त्यो भन्दा पनि खराब अवस्था रहेछ । मेरो हजुरआमा अस्पतालमा भर्ना भएकी छिन् । म उहाँलाई कम्तीमा दश चोटि भेट्न गएको थिएँ । कर्फ्यू सकिए पनि हामीलाई रोकियो । किनकि सडकमा कुनै प्रकारको आवाज आउन हुन्थेन । मैले मेरो हजुरआमाको अवस्था थाहा पाउन सकिन ।’

कुनै अवसर नभएकाले उनले कश्मीर छाडेकी थिएन । उनी भन्छिन्, ‘तर यहाँ त कुनै कश्मीर नै छैन । मलाई मेरो बाल्यकाल याद छ । हाम्रो घरको ढोका साँझ पाँच बजे बन्द रहन्थ्यो ।’

हिबाका अनुसार उनका भतीजीहरु अहिले धेरै निराश छन् । उनी भन्छिन्, ‘हिजो राती मैले मेरी सानी बहिनीसँग कुरा गरिरहेको थिएँ । उनी सातौं कक्षामा पढ्छिन् । उनी आफ्नो भविश्यबारे चिन्तित छन् । उनको पूरै पाठ्यक्रम पढाई भइसकेको छैन । स्कूलहरू बन्द छन् । सबै भन्दा महत्वपूर्ण कुरा उनी विद्यालय जान पाएकी छैनन् ।’

हिबा भन्छिन्, ‘म १० बर्षदेखि लन्डनमा बसिरहेको छु । यो पहिलो पटक हो, काश्मीरबारे भारत बाहिर यति धेरै महत्वका साथ हेरिएको छ । विश्वको सबैभन्दा ठूलो प्रजातन्त्र भएको भारतको दाबीमाथि प्रश्न उठाइरहेको छ । सञ्चार सेवाहरूको अभावले प्रेमीहरूलाई पनि असर गरेको छ ।’

प्रेमीहरुलाई भेट्टाउन गाह्रो भयो

सञ्चार सुविधा अवरुद्ध भएपछि यसको असर विशेष गरेर प्रेमी जोडीलाई पनि परेको छ ।श्रीनगर एयरपोर्ट नजिकै काम गरिरहेका केही युवाले भनेका छन्– पत्र लेखेर प्रेमीकाहरुलाई आफ्नो हालखबर दिने गरिरहेका छौं ।

एक जना युवतीले आफ्नो प्रेमिकालाई लेखेको पत्रमा भनेको छ, ‘मलाई थाहा छ प्राविधिक रूपमा हामी दुबै सम्पर्कमा छैनौं । तिमीले मलाई जसरी छाडेर गयौं, यो राम्रो थिएन । म तिम्रो समस्यालाई बुझ्छु । म यो पत्र किन लेखिरहेको छु भने म प्रबन्धक बनिसकेको छु । अब म तिम्रो ख्याल राख्न सक्छु । म स्पष्ट सँग भन्न चाहन्छु, तिमीलाई माया गर्छु ।’

यसैगरी अर्का युवाले भने, ‘मोबाइल बन्द भएका कारण प्रेमिकासँग कुरा गर्न सकेको छैन । मलाई थाहा छैन अब कहिले उनीसँग कुरा गर्न पाउने हो ।’ उनी यती भन्न सक्छन्, ‘सरकारको यो निर्णयले मेरी प्रेम कहानीलाई अन्त्य गरिदियो । मलाई थाहा छैन उनलाई कस्तो छ, के गरिरहेकी छिन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?