Comments Add Comment

गण्डकीमा भेटिए सापुका १४ बिरामी

२५ भदौ, पोखरा । गण्डकी प्रदेशमा मंगलबारसम्म १४ जना सापुका बिरामी चिकित्सको सम्पर्कमा आएका छन् । ती मध्ये कुनै बिरामी उपचारका लागि काठमाडौं गएका छन् भने कुनै पोखरास्थित हिमालय आँखा अस्पतालमा उपचार गराइरहेका छन् ।

सापुु (सिजनल हाइपरएक्युट पनुभिआइटिस) सेतो पुतलीका कारण आँखामा लाग्ने रोग हो । यो रोग सेतो पुतलीको झुस आँखामा परेपछि आँखाको दृष्टि नै गुम्ने खतरा हुन्छ । हिमालय आँखा अस्पतालका चिफ मेडिकल डाइरेक्टर डा. इन्द्रमान महर्जनले ४ जना बिरामी भने निको भएर घर फर्किएको जानकारी दिए ।

‘सापु प्रभावितमध्ये हिमालय आँखा अस्पतालले २ जना बिरामीको शल्यक्रिया गरेको छ । २ जना अस्पतालको निगरानीमा छन्,’ डा महर्जनले भने, ‘७ जना बिरामी थप उपचार गर्न काठमाडौं जान्छौं भन्नु भो । उहाँहरुलाई उतै रेफर गरेका छौं ।’ उनले तिलगंगामा ४ जना बिरामी र टिचिङ अस्पतालमा ३ जना बिरामी रेफर गरिएको जानकारी दिए ।

सापु देखिएका मध्ये ४ जना बिरामी निको भएर घर फर्किसकेको डा महर्जनले बताए । उनले भने, ‘उहाँहरु समयमै अस्पतालको सम्पर्कमा आउनुभयो । ४ जना बिरामी निको भएर घर फर्किसक्नु भएको छ ।’ सापु प्रत्येक २ वर्षमा देखिने गरेको छ र प्रकोपका रुपमा फैलिने गरेको छ ।

२ वर्षअघि पोखरामा ५ वर्षको अन्तरालमा यो रोग देखिएको थियो । त्यसको २ वर्षपछि यसपटक सापुुको प्रकोप पोखरामै देखिएको हो । यस वर्ष भदौको दोस्रो हप्तादेखि यो रोग देखा परेको थियो । गण्डकीमा फेरि सापुको प्रकोप देखिन थालेपछि केही समयअघि काठमाडौंबाटै चिकित्सकको टोली पोखरा आएको थियो । गत बिहीबारमात्रै सापु समस्या लिएर एकैदिन ६ जना बिरामी हिमालयन आँखा अस्पतालमा पुगेका थिए ।

‘पहिले पहिले कास्कीमा यो रोग धेरै देखिन्थ्यो,’ डा महर्जनले भने, ‘तर यो पटक अस्पतालको सम्पर्कमा आउनेमा बाग्लुङ र म्याग्दीका धेरै छन् ।’ उनले अन्य जिल्लाबाट भने सापु प्रभावित बिरामी अस्पतालको सम्पर्कमा नआएको जानकारी दिए ।

सापु पहिलो पटक २०३२ मा पोखरामै देखिएको चिकित्सको दाबी छ । सुरुमा १६ वर्षमुनीका बालबालिकामा देखिएको यो रोग हाल देशैभरि फैलिएको यसको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् । देशभर हाल १५ हजार जना यो रोगबाट प्रभावित भएको चिकित्सकको आँकलन छ ।

आँखा अचानक रातो हुँदै जाने, आँखाको नानीमा सेतो दाग देखिन थाल्ने, उज्यालोमा हेर्न गाह्रो हुन्छ र कम समयमै आँखाको ज्योति कमजोर हुँदै जाने शापुको लक्षण भएको यस रोग पत्ता लगाएका डा. मदनकुमार उपाध्याय बताउँछन् । ‘यो रोग देखिएको ४८ घन्टामा उपचार पाए निको हुन सक्छ । तर निको नै हुन्छ भन्ने हुँदैन । तत्काल उपचार गर्दा आँखाको ज्योति गुम्ने खतरा कम हुन्छ,’ उनले भने ।

सेतो पुतली उज्यालो बत्तीमा बढी आकर्षित हुने हुनाले त्यसबाट बच्न चिकित्सकको सुझाव छ । ‘सेतो पुतलीको सीधैं संसर्गबाटमात्रै यो रोग लाग्छ भन्ने हुँदैन । पर्दा, सिरक, टावेल झ्याल लगायतबाट पनि आँखामा समस्या निम्त्याउन सक्छ,’ डा. इन्द्रमान महर्जन भन्छन्, ‘यसले एउटा आँखाको मात्रै दृष्टि गुम्छ । अर्कोलाई सर्दैन ।’

यो पनि पढ्नुहोस सेतो पुतलीको प्रकोप : गुम्नसक्छ आँखाको ज्योती !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment