Comments Add Comment

बाघ र गैंडाको चोरी शिकारी घट्यो, रेड पाण्डा खतरामा

२६ भदौ, काठमाडौं । पछिल्लो समय नेपालमा वाघ, गैंडालगायतका वन्यजन्तुको चोरी शिकारी घटेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार आर्थिक बर्ष २०६९÷७० सालमा ९ वटा बाघ, एउटा गैंडा र २ वटा हात्तीको चोरी शिकारी भएको थियो ।

तर त्यसपछिका वर्षहरुमा निरन्तर घटेको छ । आर्थिक वर्ष २०७४/७५ मा चोरी शिकारीबाट बाघ र गैंडा मारिएनन् भने २०७५/६ मा एउटा गैंडा र दुईवटा रेडपाण्डाको चोरी शिकारी भएको छ ।

नेपालमा आर्थिक वर्ष २०७३/०७४ मा विभिन्न संरक्षित क्षेत्रमा कुल ३२६ वटा वन्यजन्तुको मृत्यु भएको थियो भने आर्थिक वर्ष २०७४/०७५ मा ३९१ वटा वन्यजन्तुको मृत्यु भएको थियो । अधिकांश वन्यजन्तुको प्राकृतिक कारण, सडक दुर्घटना र अन्य जनावरको आक्रमणमा मृत्यु भएको विभागका उपसचिव विष्णुप्रसाद श्रेष्ठले बताए ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले गरेको अनुसन्धानमा पनि वन्यजन्तुको चोरी शिकारी घट्दै गएको देखिएको छ । सन् २००२ मा ३५ वटा गैडाको चोरी शिकार भएकोमा सन् २०१८ मा एउटा मात्रै गैंडा चोरी शिकारीे भएको छ ।

सीआईबीका अनुसार बाघको चोरी शिकारीमध्ये ८० प्रतिशत भारतीय नागरिक रहेका छन् । चोरी शिकार गरिएको बाघको खरिदकर्ता भने नेपाली र चिनियाँ नागरिक रहेका छन् ।

‘बाघको चोरी सिकारी मध्ये हामीले भारतीयलाई बढी समातेका छांै, भारतमा बाघ बढी पाइने भएकाले उनीहरुले नेपालको सिमाना प्रयोग गरेर चीन लैजाने क्रममा पक्राउ परेको हो’ सीआईबीका प्रवक्ता दीपक रेग्मीले भने ।

रेडपाण्डा खतरामा

अन्य वन्यजन्तुको चोरी शिकारी घटे पनि रेडपाण्डाको भने घट्न सकेको छैन । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभाग र सीआईबीले रेडपान्डाको चोरीशिकारी बढ्न सक्ने जोखिम औल्याएका छन् । रेडपान्डा एकदमै लजालु स्वाभावको हुने भएकाले यसलाई चोरी शिकारीले सजिलै मार्ने गरेका छन् । सीआईबीले आर्थिक बर्ष २०६७ देखि हालसम्म रेडपान्डाको छाला चोरी शिकार गर्ने ६८ जनालाई पक्राउ गरिसकेको छ ।

रेडपान्डा दुर्लभ वन्यजन्तुको सूचीमा रहेकाले यसको मुल्य बढी हुने सोचेर पनि चोरी शिकारी बढेको छ ।

चीन लगिन्छन् आखेटोपहार

चोरी शिकार गरिएको वन्यजन्तुको अधिकांश आखेटोपहार काठमाडौंको ठमेलबाट चिनियाँ नागरिकले किनेर लैजाने गरेको पाइएको सीआईबीका प्रवक्ता रेग्मीले बताए ।
चीनमा वन्यजन्तुको आखेटोपहारबाट घर सजाउन, फेसन, औषधी बनाउन प्रयोग गर्ने भएकाले चिनियाँ नागरिक संलग्न हुने गरेको पाइएको उनको भनाइ छ ।

विश्व वन्यजन्तु कोषका अनुसार नेपाल, भारत, दक्षिण अफिक्रा, अफिक्रा, बर्मालगायतका देशबाट चोरी शिकारी भएको वन्यजन्तु चीन र जापानमा पुग्ने गरेको छ । वन्यजन्तु चोरी निकासी गर्न स्थानीयदेखि अन्तर्राष्ट्रिय गिरोहले गाउँका मानिसलाई प्रयोग गर्ने गरेको प्रहरीको भनाइ छ ।

नेपालमा मुख्य गरी गैडा, बाघ, रेडपान्डा, हिउँचितुवा, हात्ती, कछुवा, सर्पलगायतका वन्यजन्तुको चोरी शिकारी हुने गरेको छ । गैंडाको खाग, रतुवा, मृग, चितुवा, रेडपाण्डाको छाला, ध्वाँसे चितुवाको कसको अवैधानिक व्यापार बढी हुने गरेको छ ।

सन् २०१८ को तथ्यांकअनुसार हाल नेपालमा सकंटापन्न अवस्थामा रहेका वन्यजन्तुमध्ये बाघको संख्या २ सय ३५, हात्ती १ सय ९०, गैडा ६ सय ४५, घडियाल गोही १ सय २४, मृग २४ सय ६, अर्ना ४ सय ४१, गौर ४ सय ७३ र कस्तुरीको संख्या २ सय ९० वटा रहेको छ ।

अवैध चोरी शिकारीले वन्यजन्तुको सख्या घटाउनुको साथै सामान्य अवस्थामा पाउने जनावरलाई पनि संकटापन्न जनावरको अवस्थामा पुर्‍याइदिन सक्ने राष्ट्रिय निकुञ्जका पूर्वमहानिर्देशक श्याम जिमायाले बताए ।

‘यसरी चोरी बढ्दा जनावरको संख्या स्वाट्टै ह्रास हुन्छ’ उनले भने, ‘वन्यजन्तुको चोरी निकासी बढेसँगै भष्टाचार पनि बढाएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment