Comments Add Comment

चिट्ठामा पाएको सत्ता 

चिट्ठामा पाएको पुरस्कार जहिले पनि आफूले पसिना बगाएर आर्जन गरेको धन जस्तो प्यारो हुँदैन त्यसैले अधिकांश मानिसहरुले चिट्ठामा पाएको पुरस्कारको दुरूपयोग गर्ने गर्छन् । खानपिन, घुमाइ फिराइ, मोज मस्तीमा सबै धन रित्याउँछन् अनि पछि पुन: आफ्नो वास्तविक स्थितिमा पुगेपछि पछुतो मान्छन् तर त्यतिबेला धेरै ढिलो भैसकेको हुन्छ । अहिले ओली सरकारको कार्यशैली देख्दा उनीहरुले यो सत्ता चिट्ठामा पाएजस्तै खानपिन, घुमाइ फिराइ, मोज मस्ती गरेर चलाइरहेका छन् ।

ओली र तत्कालीन नेकपा एमालेलाई नाकाबन्दीको चिट्ठा नै परेको हो भन्दा सायद गल्ती नहोला । मोदी र जयशंकर मिलेर नाकाबन्दीको चिठ्ठा खोले । ओलीले राष्ट्रवाद, आत्मनिर्भरता र विकासका अंकहरु मिलाएर त्यो चिठ्ठा किने । उनलाई उनले सोचे भन्दा पनि धेरै ‘ज्याकपट’ नै पर्‍यो ।

खरो बोल्न सक्ने र उच्च राजनीतिक आकांक्षा भएका ओलीले नाकाबन्दीको निकै राम्रो उपयोग गरे । भारतलाई गाली गरेपछि अधिकांश पहाडियाहरुको जमातमा राष्ट्रवादी हुन नेपालमा अरु केही गर्नै पर्दैन । त्यो कुरा राम्रोसँग बुझेका ओलीले त्यसैको फाइदा उठाएर उनले चर्को राष्ट्रवादको प्रचार गरे । त्यसमा अझ टेवा पुर्‍यायो उनले जनतामाझ बाडेका सपना र उनका ‘भिजन’हरुले । पहिलेका नेताहरुबाट त्यस्ता कुनै ‘भिजन’हरु सुन्न नपाएका नेपालीहरु उनका तिनै ठूला कुराबाट निकै उत्साहित बने ।

जोशका बेला होश हुँदैन भनेजस्तै नेपाली जनताले पनि नाकाबन्दीको बिरोधमा निस्केको जोशका बेला ओलीका हावाबाट बिजुली निकाल्ने, घरघरमा छिट्टै ग्यास पाइप जोडेर खाना पकाउने, नेपालको झण्डा अंकित पानी जहाज आफैले समुद्रमा चलाएर आफ्नो व्यापार आफै गर्ने जस्ता ठूला ठूला सपनामा तुरुन्तै विश्वाश गरे । वास्तविक धरातलीय यतार्थ गएर त्यसलाई विश्लेषण गर्ने र त्यसको सम्भाव्यता कति छ भनेर बुझ्ने कसैले पनि कोशिश गरेनन् ।

यदि कसैले गर्न खोजेको भए पनि त्यतिबेलाको भारत विरोधी माहोलले ती ‘भिजन’हरुलाई सपना मात्र मानेर तिनलाई हावा गफको संज्ञा दिनेलाई देशद्रोहीको संज्ञा दिने थियो । त्यसैले खुलेर त्यो ‘देशद्रोही’ बन्ने हिम्मत कसैमा आएन । ओलीको हावा गफमा आफ्ना पंखहरु फिंजाएर जनताहरु उनको नेतृत्वमा भारतसँगको परनिर्भरता पुरै हटेर आत्म निर्भर हुनेछौं भन्ने सुन्दर सपना बोकी सपनामै उडिरहे ।

भारतको नाकाबन्दी, कांग्रेस सहित अन्य दलको नालायकपन र निरिह नेतृत्व, नेताहरुलाई भगवान जस्तै मान्ने नेकपाका इमान्दार र कर्मठ कार्यकर्ताहरु र मदन भण्डारी र मनमोहन अधिकारीले छोडेर गएको केही बचेखुचेको विरासतले गर्दा चुनाव जित्न नेकपाका नेताहरुलाई निकै सजिलो भयो त्यसैले पनि चुनावको नतिजा र त्यसपछिको सत्तारोहण उनीहरुको लागि चिट्ठा परेसरह नै थियो ।

डा. राजु अधिकारी

वास्तवमा यदि उनले भनेको जस्तो सबै काम गरेर देखाएको भए ओलीको त्यो ‘भिजन’ गलत थिएन । अथवा सत्तामा पुग्नासाथ संयमित भएर व्यवस्थित र क्रमबद्ध रुपमा विकासका योजनाहरु ल्याएर तिनलाई एक-एक गर्दै पूरा गर्दै गएको भए पनि जनताले उनका विचारहरु उनका ‘भिजन’हरुलाई सम्मान गर्थे । तर, सत्तामा पुगे पछि पनि न त उनले हावा गफ दिन छोडे, न त कुनै वास्तविक ‘भिजन’ भएको नेताले गर्ने जस्तो काम नै गरेर देखाए । कतिसम्म भने पानी जहाजको कार्यालय समेत खोलेर त्यसलाई आफै उद्घाटन गरेर जनतालाई मुर्ख बनाउने कोशिश गरे ।

यी सबै देख्दा नाकाबन्दीका बेलाको ओलीको त्यो राष्ट्रवाद सत्ता आरोहणको लागि प्रयोग भएको अश्त्र मात्रै रहेछ भन्ने पुष्टि भयो । ओलीको हावा गफमा आफ्ना पंखहरु फिंजाएर सपनामा उडेका जनताहरु अहिले उनको सरकारको क्रियाकलापले एकपछि अर्को प्वाँख चुँडिएर भुइँमा लडेको पंक्षी जस्ता भएका छन् ।

आफूले दु:ख गरेर आर्जन गरेर पाएको सत्ता भए पो त्यसको महत्व बुझ्नू, त्यसलाई मान सम्मान गर्नू ? चिट्ठामा पाएको सत्तामा अहिले मोजमस्ती नगरे कहिले गर्ने ? यही सोचाइ देखिन्छ अधिकांश मन्त्री, सांसद र जनप्रतिनिधिहरुमा । केन्द्र सरकारमा मात्र होइन, प्रदेश सरकारमा पनि विदेशको सयर र मोज मस्तीको रिति बसेको छ ।

केन्द्र सरकारले काम गर्न दिएन, काठमाडौँको मानसिकता फेर्न गाह्रो रहेछ भनेर दोषजति केन्द्र सरकारलाई थोपर्दै पानीमाथिको ओभानो बन्न खोज्ने प्रदेश सरकारलाई प्रदेशका मन्त्रीहरुको विदेशमा भएको सबै स्वास्थ्य खर्च पनि सरकारले व्यहोर्ने गरी कानुन ल्याउन, नयाँ नयाँ विलासी गाडी किन्न र जनप्रतिनिधिहरुलाई दोहोरो सुविधा उपलब्ध गराउन न त केन्द्र सरकार बाधक बन्यो न त विध्यमान कानुन नै ।

त्यसो त ओलीले सत्ता सम्हालेपछि अलिकति पनि राम्रा कामहरु नभएका होइनन्, केही राम्रा कामहरु पनि भएका छन्, केही दिर्घकालिन योजनाहरु पनि शुरु भएका छन् । तर, कुशासन, दण्डहीनता, भ्रष्ट्राचारले सीमा नाघेको अवस्थामा ती केही राम्रा कामहरु छायाँमा परेका छन् । जनताले ओली सरकारलाई फरक देख्न चाहेका थिए । तर, त्यो आकांक्षामाथि ओली सरकारका मन्त्रीहरु र जनप्रतिनिधिहरुले नै बारम्बार चिसो पानी खन्याउने काम गरेका छन् । जनताले सत्ता र शक्ति मात्र दिएर समय नदिएका होइनन्, नपर्खेका पनि होइनन्, तर यत्रो समय बितिसक्ता पनि जनताका अधिकांश समस्या ज्यूँ का त्यूँ छन् भने अधिकांश नेताहरुको जीवनशैलीले काँचुली फेरेको छ ।

विलासिता, नातावाद र अन्याय अहिलेको सरकारका पर्यायवाची बनेका छन् । दुर्गमका जनताहरु सिटामोल पनि खान नपाएर मर्ने अवस्था छ । तर, सरकारका अधिकारीहरु विदेशमा उपचार गर्न व्यस्त छन् । दिन दहाडै विना कुनै डर र संकोच जनप्रतिनिधिहरुले नै लुटतन्त्रको राज मचाएका छन् । यस्तोबेलामा ओलीले नाकाबन्दी र चुनावको बेलामा घोक्रो फुलाएर कुर्लेको राष्ट्रवाद, विकास, आत्मनिर्भरता पञ्चायतले र कांग्रेसको भन्दा केही मानेमा पनि फरक देखिएन ।

अर्को चुनाव आउन अझै लगभग तीन बर्ष बाँकी नै हुँदा ओली र उनका आसेपासेहरुको अझै पनि बुद्धि नपलाएर उनीहरुले सोझा नेपालीहरुले गरेको विश्वाशलाई वास्ता नगरेर सत्तालाई चिठ्ठाबाट पाएको जस्तै दुरुपयोग गरिरहे भने अर्को चुनावमा खोक्रो राष्ट्रवादको नम्बर किनेर उनीहरुलाई फेरि सत्ताको चिट्ठा पर्ने छैन भन्ने निश्चित छ ।

जनताको विश्वाशमा घाट गरेपछि के हुन्छ भन्ने कुरा गत निर्वाचनमा नेपाली काँग्रेसको लज्जास्पद पतनको ज्वलन्त उदाहरणले प्रमाणित गरिसकेको छ । अब बाँकी तीन वर्ष पनि लुटतन्त्रमै रमाउने कि आफ्ना ‘भिजन’ हरुलाई मूर्तरुप दिनतर्फ लागि पर्ने नेकपा र ओलीको सामू गम्भीर प्रश्न खडा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment