Comments Add Comment

‘न त्यो समाज रह्यो, न हाम्रो सिप रहने भयो’

३० भदौ, काठमाडौं । भरतपुर महानगरपालिका– २१, पार्वतीपुरको पाँडेचोक । सानो झुप्रो । भित्र पस्दा निहुरिएन भने टिनले टाउको काट्ला भन्ने डर । यहीभित्र छ भीमबहादुर र श्रीमती पिरिममाया विश्वकर्माको आरान । यहाँ भीमबहादुर दम्पत्तीको जिविकोपार्जनको मेसो एकाविहानैदेखि सुरु हुन्छ ।

बालीघरे प्रथा त्यागेका विश्वकर्मा दम्पत्ती हाताहाती काम गर्छन् । हामी आरानमा पस्दा पिरिममाया एक सुरले कोइला बाल्ने हाते मेसिन घुमाइरहेकी थिईन् भने भीमबहादुर लिहीमा तातिएको फलाम राखेर मार्तोल चलाइरहेका थिए ।

पूख्यौली थलो गोरखा भएका भीमबहादुर ५७ बर्षअघि चितवनमै जन्मिएका रहेछन् । गरिखाने उमेर भएसँगै उनले पूख्यौली पेशा अँगाले । आरनलाई जीविकोपार्जनको माध्यम बनाए । बालीघरे प्रथाअनुसार काम नगरेको चाहिँ १२ वर्ष भएछ । आरनमा वर्षभरी ‘बिष्ट–बराजु’को काम गरेर एकपटक ज्यालाको रुपमा अन्न लिने–दिने पहिलाको चलनलाई बालीघरे प्रथा भनिन्छ ।

खुकुरी, बञ्चरो, कोदालो लगायतका औजार कमाउने र अर्जाप्नेदेखि भाँडावर्तन मर्मत गर्नेसम्मको कामबाट अहिले दैनिक औसत हजार रुपैयाँजति कमाई भइरहेको भीमबहादुर बताउँछन् । यसबाट घरको गर्जो ठिकठिकै चलेको उनले बताए ।

उनको रेट छ– धार लगाएर अर्जापेको रु. ५०, बिड हालेको रु. ७०, घाँस काट्ने कचिया बनाएको रु. ३ सय, खुर्पाको रु. ५ सय, कोदालो बनाएको रु. ८ सय । कतिपयले यो पनि महंगो भयो भन्ने गरेको भीमबहादुरको गुनासो छ । उनी भन्छन्, ‘बजारमा तयार समानलाई जति पनि पैसा हाल्छन्, आँखै अगाडि गरेको यत्रो मेहनतको भाउ धेरै भयो भन्छन् ।’

र पनि, मानिसहरुलाई भीमबहादुर दम्पत्तीको आरानमा नगई हँुदैन । धान काट्ने सिजन मंसिर, मासु काट्ने दशैं–तिहारताका उनीहरुकोमा कचिया, खुकुरी अर्जाप्नेहरुको भिड लाग्छ । बजारमा किनेको नयाँ औजारमा धार लगाउन पनि आरानमा नपुगी हुँदैन । यस्तो सिजनमा दैनिक १५ सयसम्म कमाई हुने भीमबहादुरले बताए ।

बेसिजनमा उनी गाडीको पत्ता किनेर विभिन्न औजार बनाउँछन् । कसैले पत्ता ल्यायो भने अदियाँ पनि गर्छन् । पत्ताबाट नयाँ औजार बनाउँदा श्रीमती पिरिममायाँले घन हान्छिन् । आरनमा यस्तो काम एक्लै गर्न सकिँदैन ।

भीमबहादुर र पिरिममायाको प्रेम विवाह भएको रहेछ । एउटा दाँत बिनाको मुस्कान छर्दै भीमबहादुरले भने, ‘पिरिम गरेर ल्याएको हुनाले मलाई उसको धेरै माया लाग्छ, मलाई उत्तिकै पिरिम गर्छे ।’

थोते हाँसोको प्रसंगमा पिरिममाया पनि ठट्यौलो बन्दै बुढाको अगाडिको एउटा दाँत धेरै सूर्ती खाएर झरेको बताइन् । ‘सुनको हाल्न पैसा छैन, फलामको हाल्न मिल्ने भए म आफैं बनाएर लगाई दिन्थेँ’, उनले भनिन्, ‘कि मान्छेहरुलाई झुक्याउन पित्तलको हाल्द्यौ कि !’

पित्तलको प्रसंग आएपछि भीमबहादुरले केही समय तनहुँको डुम्रेमा तामाको काम गरेको अनुभव सुनाए

उनीहरुले हुर्काएर बुहारी समेत ल्याएका कान्छो छोरा बैदेशिक रोजगारीमा रहेछन् । छेठो छोरा चाहिँ अल्पआयुमै बितेको सुनाउँदा विश्वकर्मा दम्पत्ती उदाश बने ।

उनीहरुले यसरी नै दुःख गरेर १५ धुर जग्गा जोडेका रहेछन् । बुढा बिरामी हुँदा उपचारका लागि पाँचधुर बेचेको र बाँकी १० धुरमा छोराले दुवईमा कमाएको पैसामा मिसाएर दुई कोठे घर बनाएको पिरिममायाले बताइन् । त्यही घर अगाडिको छाप्रोमा भीमबहादुर दम्पत्तीले आरन चलाएका छन् ।

पूख्यौली पेशा हराउने चिन्ता

नेपाली गाउँ घरमा घट्दो कृषि कर्मसँगै परम्परागत आरन व्यवसाय लोप हुन थालेको छ । धेरै मेहेनत, थोरै आम्दानी, त्यसमाथि हेय भावले हेर्ने समाज । यो वातावरणमा आफ्नो शेषपछि यो पूख्यौली पेशा पुरै हराउने भीमबहादुरलाई लानेको छ । भीमबहादुर दम्पत्तीलाई आफ्नै छोराले समेत यो पेशा नअपनाउने थाह छ । पिरिममाया भन्छिन्, ‘बाबुले आरनको काम जानेको त छ, तर अब गर्छ जस्तो लाग्दैन ।’

बजारमा नयाँनयाँ तयार सामान फालाफाल पाइनु, मानिसहरुले गाउँमा समेत खेतीकिसानी छाड्नु लगायतका कारणले आरनको महत्व घटेको भीमबहादुर बताउँछन् । मधेसमा धेरथोर खेतीकिसानी बाँकी रहेको अवस्थामा वरिपरी अर्को आरन नहुँदा मात्र आफ्नो आरन चलेको उनले बताए ।

उनका अनुसार, दश–पन्ध्र वर्षअघिसम्म पनि नेपालभरका गाउँघरमा बालिघरे प्रथाबाट आरनहरु चलेका थिए । त्यही कारण नेपालमा विश्वकर्मा नभएका कुनै गाउँ पाइदैन । ‘हाम्रो सीप समाजलाई अनिवार्य थियो’, गम्भिर बन्दै भीमबहादुर विश्वकर्मा भन्छन्, ‘अब त के–के बदलाव आएर न त्यो समाज रह्यो न हाम्रो आरन रहने भयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment