Comments Add Comment

आज मेरा लागि ‘कुलमान दिवस’

सानो छँदा राजारानी र देशभक्तिले भरिएको गीत र समाचार रेडियो नेपालबाट घंकिन्थ्यो । यति सानो रेडियोमा कसरी मान्छे अटाएको होला भनेर अचम्म लाग्थ्यो । राजसंस्थाप्रति असीम श्रद्दा थियो । गाउँमा बिजुली थिएन, घरमा मत्तितेलको मधुरो टुकी बल्थ्यो तर बगाले परिवारको जिन्दगी रमाइलो र जीवन्त थियो ।

६ बर्षको सानो उमेर मै मुवाबुवाले हिडेर तीन दिन लाग्ने पोखराको आवासीय स्कुलमा भर्ना गरिदिनु भयो । छुट्टीमा आउँदा जाँदा बुवाले मलाई बोक्ने भरियाको व्यवस्था गर्नु हुन्थ्यो । हिड्ने रहर लागे सम्म हिड्थेँ । राति सुत्नु अगाडी मधुरो टुकीको प्रकाशमा बुवाले तातो तोरीको तेलले गलेको मेरो खुट्टा मालिस गरिदिनु हुन्थ्यो । बिजुलीको पहिलो अनुभव चाहि पोखरा आएर मात्र भयो ।

कुश्माबाट ग्यादी जान मोदी खोलाको पुल तरेर जानु पर्थ्यो । खोला दुई डांडाको फेदमा निक्कै तल बग्ने भएकोले ठाडो र लामो ओरालो र उकालो हिड्नुपर्थ्यो । कुश्मा पुग्दा कुश्मा र ग्यादी जोड्ने पुलको कल्पना गर्थें । केहि बर्ष अगाडी त्यहा पुल बनेको रहेछ, छोरीछोरालाई देखाउन लगेँ । नौ-दश वर्षको उमेरमा कल्पना गरेको झोलेंगे पुल बन्न करिब चार दशक लागेछ ।

२०४६ सालको जनआन्दोलनमा पुरै होमिएको थिएँ । हामी जस्ता युवाले देशमा केहि सकारात्मक र अर्थपूर्ण परिवर्तन चाहन्थ्यौं । आन्दोलन राजसंस्था बिरुद्ध थिएन, निर्दलीय व्यवस्था बिरुद्ध थियो । काठमाडौँको गल्लि गल्लिमा हुने आन्दोलनमा गर्मीको बेला घर माथिबाट पानि फ्याँकेर समर्थन र स्वागत गरिन्थ्यो ।

राति चाँहि बत्ती निभाएर आन्दोलनलाई निरन्तरता दिइन्थ्यो । रातभर बलेको टायरको खरानी र दिउसो आन्दोलनरत हुँदा घर-घरबाट फ्याकिएको पानीको कारणले जुत्ता कालाम्य हुन्थ्यो । जुत्ता देखेर जोकोहीले पनि सजिलै अनुमान लगाउथे । ६ जना दिदीबहिनीको एक्लो भाइ भएकोले काठमाडौँ बसेका दिदी बहिनीले पीर गर्थे ।

गाउँमा फोन नभएकोले मुवाबुवा र अरु बहिनीहरुले चाहि चाल पाएनन् । म तेतिखेर टंगाल, नरदेवीमा नेवार दाइको घरमा बस्थेँ र खाना खान हरेक बिहान र साझ भोटेबहाल र पछि महाबौद्ध आफन्तको होटेलमा जान्थे । विद्यार्थी जीवनमा बिजुलीको अभाब कहिले महसुस भएन ।

प्रजातन्त्र पुनर्स्थापना पछिको पहिलो निर्वाचनमा जनताले उल्लासपूर्वक सहभागी जनाई नेपाली काँग्रेसलाई बहुमत दिलाए । गिरिजाप्रसाद कोइराला जेष्ठ २०४८ सालमा पहिलो निर्वाचित प्रधानमन्त्री बने । नयाँ व्यवस्था प्रति सबैको ठूलो अपेक्षा थियो । म चाहिँ फागुनमा सीए पढ्न भारत लागे ।

सीएको प्रमाणपत्र लिएरै मात्र नेपाल फर्कने अठोट गरेको थिएँ । त्यसैले बीचमा गाउँबाट एक हप्ता लगाएर मुवाबुवा मलाई भेट्न मद्रास नै आउनु भयो । अठोट पुरा गर्दै तीन वर्षपछि २०५२ श्रावनमा सीएको सर्टिफिकेट सहित नेपाल फर्के । त्यस दिन नेपाल बन्द थियो, काकरभिट्टाबाट ब्रितामोड सम्म रिक्सामा आएँ ।

तीन वर्ष पछि देश फर्कँदा बिजुली आपूर्ति दूरुस्त थियो । त्यतिखेर मनमोहन अधिकारी प्रधानमन्त्रि थिए । आन्तरिक कलहका कारण बहुमतको नेपाली काँग्रेसको सरकार कार्यकाल भन्दा डेढ बर्ष अगाडि नै ढलेर संसद बिघटन भई २०५१ साल कार्तिकमा दोस्रो निर्वाचन भएको थियो । वास्तवमा नेपाली काँग्रेसभित्रको आन्तरिक कलहले नै देशमा राजनैतिक अस्थिरताको बीउ रुपको थियो ।

लेखक गाैचन

गिरिजाको पहिलो सरकारले लिएको उदारीकरणको नीति मनमोहनले अगाडी बढाएका रहेछन् । सरकारी संस्थाहरु धमाधम निजीकरण हुँदै थिए र मेरा सीए मित्र माहाप्रसाद अधिकारी निजीकरण विभागका संयोजक थिए । देशको बित्तीय क्षेत्रमा चाहि नयाँ लहरै आएको रहेछ । नयाँ बैंक र बित्तीय संस्थाहरु खोलिएका थिए र केहि खोलिने क्रममा थियो । साथीहरुले मोटर साइकल वित्त कम्पनीबाट कर्जा लिएर किनेको देख्दा आश्चर्य लागेको थियो ।

नयाँ राजनैतिक व्यवस्थाको प्रतक्ष्य सकारात्मक परिणाम चाहि देशको वित्तीय क्षेत्रमा आएको परिवर्तनले अनुभूति गरेको थिए । सात बर्ष पछि दशैंमा गाउँ फर्कदा बुवाले जेनेटर सञ्चालन गरेर गाउँमा बिजुली वितरण गर्नु भएको रहेछ । हाम्रो गाउको लागि बिजुलीको यो पहिलो अनुभव थियो ।

मनमोहन पछिको प्रधानमन्त्री शेर बहादुरको पालामा फागुन २०५२ बाट देशमा माओबादि हिंसात्मक द्वन्द सुरु भयो । देश दुई दशक भन्दा लामो राजनैतिक अस्थिरताको शिकार भयो । यतिसम्म कि प्रजातन्त्र पुनर्स्थापनाको सात वर्षमा निर्दलीय पञ्चायत कालका दुई प्रधानमन्त्रि लोकेन्द्र र सूर्यबहादुर पुन: पालैपालो केहि महिना का लागि प्रधानमन्त्री भए ।

जेठ २०५८ सालको राजपरिवार नरसंहारपछि देशको परिस्थिति थप जटिल, असुरक्षित, विकृत, निराशाजनक बन्दै गयो र आन्तरिक मामलामा बिदेशीहरु थप सक्रिय हुँदै गए । २०५६ सालतिर केही समस्या देखिए पनि खिम्ती जलबिद्युत आयोजना सम्पन्न भएसँगै बिद्युत आपूर्ति सहज भएको थियो ।

दश बर्षे माओवादी द्वन्दकालको परिणाम विविध रुपमा देखियो । युवाहरु वैदेशिक रोजगारीमा जानु, उद्योग धन्दा र पर्यटन व्यवसाय धरासायी हुनु , ग्रामीण भेगबाट शहरमा व्यापक बसाइसराइ हुनु, अपराधिक गतिबिधि बढ्नु आदि द्वन्दकालको सीधा असर थियो । साथै स्रोत परिचालनको हकमा भने देशको सबै भन्दा महत्वपुर्ण जलस्रोत क्षेत्रमा नयाँ लगानी हुन सकेन ।

राज्य र निजी क्षेत्र दुवैले नचाहिँदो जोखिम लिन सक्ने अवस्था थिएन । अन्तत्वगत्व: माओवादी द्वन्दकाल मङ्सिर २०६३ सालमा अन्त्य भयो । तर लगत्तै देशले पुन: अर्को समस्याको सामना गर्नु पर्यो- विद्युत संकट ।

द्वन्दकालमा जलविद्युतमा भएको शून्य लगानी र अन्य बिबिध कारणले देशले अर्को एक दशक लामो चरम विद्युत संकट झेल्नु पर्यो । हिउँदमा १८ घण्टा सम्मको बिजुली कटौती चुपचाप सहँदै नेपाली जनताले द्वन्दकाललाई दोष दिएर अध्यारोमा बस्ने बानि बसालेका थिए ।

यस अवधिमा देशले वर्षेनी अरबौ रुपैयाँको इन्भर्टर, ब्याट्री, जेनेटर, इन्धन आयात गरेको थियो र यसको ब्यापार निकै फस्टाएको थियो । संकट जति गम्भीर भयो त्यति चलखेल बढ्ने, ब्यापार बढ्ने, मुनाफा बढ्ने । द्वन्दकाल अन्त्य भए पनि उर्जा अभाव लगाएत अन्य विविध कारणले उद्योग तथा व्यवशाय पूर्ण क्षमतामा चल्न सक्ने अवस्था थिएन ।

हिउँदको समय लामो समय बिजुली नहुदा सार्है कष्टकर हुन्थ्यो । बिजुली आउने समय अनुसार आम जनताले आफ्नो जिन्दगी ढालेका थिए । काठमाडौँको चिसो: लामो रातमा एकहोरो टोलाएर बस्दा शरीर शिथिल, दिमाग भाउन्य, मन शुन्य हुन्थ्यो । जताततै अध्यारो, मानौ देशलाई अध्यारोले निलेको छ । बिजुली बिनाको करिब पांच महिना लामो हिउँद कठिन र बिरक्त लाग्थ्यो । बिरक्तिमा मान्छे सिर्जनशील र उत्पादनशील हुन सक्दैन ।

२०७३ सालको तिहारमा भने काठमाडौँबासीले एक दशकपछि भरमन बिजुली बाल्ने रहर पुरा गरे । यो नेपालीको लागि अकल्पनीय सुखद क्षण थियो । एक दशक लामो देशको पीडा एकाएक इतिहास बनेको थियो । यसै क्रममा देशले यौटा महानायक पायो-कुलमान घिसिङ्ग, नेपाल विद्युत प्राधिकरणका नयाँ प्रबन्ध निर्देशक ।

डेढ महिना अगाडि भाद्र ३० गते मात्र उनी सो जिम्मेवारीमा पदस्थापन भएका थिए । साढे एक बर्ष अगाडि देशले बेहोरेको माहाभूकम्प तथा भारतले लगत्तै लगाएको नाकाबन्दीको कारण सबैजसो निर्माणाधीन जलविद्युत आयोजना सम्पन्न हुने अवधि अनिश्चितताको बाबजुद उनले देशलाई अध्यारोमुक्त बनाएका थिए । त्यस दिनदेखि काठमाडौँ र पोखरामा निर्वाध रुपले बिजुली उपलब्ध भए पनि ३१ बैशाख २०७५ का दिन चाँही उनले देशलाई लोडसेडिंग मुक्त घोषणा गरे ।

नेपालको बिद्युत आपूर्तिमा भारतबाट आयात गरिएको बिजुलीको महत्वपूर्ण हिस्सा छ । आव २०७२/७३ मा भारतवाट आयातित बिजुलीको हिस्सा ३४ प्रतिशत थियो भने कुलमानले जिम्मेवारी लिएको आव २०७३/७४ सो हिस्सा एक प्रतिशतले बढेर ३५ प्रतिशत पुगेको थियो ।

तर उनले आफ्नो व्यवसायिक कुशलताको प्रदर्शन गर्दै काठमाडौँ र पोखरालाई केवल डेढ महिनाभित्रै लोडसेडिङ मुक्त बनाएका थिए । वास्तबमा सो आवमा भारतवाट अघिल्लो वर्षको दाँजोमा कुल बिजुलीको केवल ६ प्रतिशत मात्र अतिरिक्त विद्युत आपूर्ति भएको थियो ।

कुलमानले प्राधिकरणको बागडोर सम्हाल्नु अगाडिका वर्षहरुदेखि नै भारतबाट सोही अनुपातमा विद्युत आयात भए पनि देशले एक दशक लामो बिद्युत संकट भोग्नु परेको थियो । तसर्थ विद्युत संकट सामाधानको सम्पूर्ण श्रेय भारतलाई दिनु कुलमानको योगदानलाई अवमूल्यन गरे सरह हुनेछ ।

उनले बागडोर सम्हाल्दा प्राधिकरणको अघिल्लो आवको घाटा ८ अरब ९० करोड रुपैयाँ थियो । वर्षेनी घाटामा गएको प्राधिकरणको बिगत ९ वर्षको कुल घाटा ५४ अरब ७८ करोड रुपैया पुगेको थियो । उनले जिम्मेवारी सम्हालेको पहिलो वर्षबाट नै प्राधिकरणलाई दश बर्ष पछि पहिलो चोटी नाफामा लागेका छन् ।

गत आवको प्राधिकरणको नाफामा उल्लेख्य वृद्धि गर्दै ७ अरब २० करोड रुपैयाँ पुगेको छ । विद्युतको पहुँच बिगत तीन बर्षमा ६० प्रतिशतबाट ७८ प्रतिशत पुगेको छ । विद्युत चुहावट २५.७८ बाट १५.३२ प्रतिशतमा झरेको छ ।

यी अविश्वसनीय सफलताले उनी एक अत्यन्त कुशल व्यवस्थापक र निष्ठावान व्यक्ति भएको प्रमाणित गर्छ । उनी अहिले नेपालका सबै भन्दा रुचाइएका रोल मोडेल हुन् भन्दा अतिसयोक्ति नहोला ।

२०७२ सालको माहाभूकम्प र भारततीय नाकाबन्दीको कारण ०.६ प्रतिशतमा खुम्चिएको आर्थिक वृद्धिदर नियमित बिद्ध्युत आपूर्ति र पूर्वाधार पुनर्निर्माण संगै आव २०७३/७४ ७.९ प्रतिशत, आव २०७३/७४ ६.३ प्रतिशत र गत आव ७.१ प्रतिशत पुगेको छ । बिगत चार दशकको नेपालको आर्थिक विश्लेषण गर्दा, देशले पहिलो चोटी लगातार तीन बर्ष मुद्रास्फिति दर भन्दा धेरै आर्थिक वृद्धिदर हासिल गरेको छ ।

उनले सम्हाल्नु अगाडिका आठ वर्ष बिद्युत उत्पादनको औसत वार्षिक वृद्धि दर १ प्रतिशत मात्र थियो भने उनी आएपछिको तीन बर्षको औसत वार्षिक वृद्धि दर १४ प्रतिशत भन्दा धेरै छ । सम्भवत यो आवमा देशको बिद्युत उत्पादन क्षमता माथिल्लो तामाकोशी निर्माण सम्पन्नसँगै दोब्बर भएर २००० मेवा भन्दा बढी पुग्ने देखिन्छ ।

थपिन लागेको बिजुलीको सही तथा उच्चतम् उपयोगले देशको आर्थिक वृद्धिमा थप टेवा पुराउने निश्चित छ र सरकारले प्रक्षेपण गरे जस्तो आर्थिक वृद्धिदर ८.५ प्रतिशत प्राप्त नभए पनि विगत तीन बर्ष हासिल गरेको उच्च वृद्धि दर कायम हुने आधार प्रशस्त भएको छ । यसको पहिलो श्रेय कुलमानलाई नै ।

जनता कै बलिदानमा ठुला राजनैतिक परिवर्तन भए तर देशमा अर्थपूर्ण बदलाव आएको अहिलेसम्म अनुभूति भएको छैन । बिहान घरबाट निस्किँदा र बेलुकी घर फर्कँदा नितान्त व्यक्तिगत जोड घटाउ बाहेक राष्ट्रलाई जोडेर प्रफुल्ल हुने अवस्थाको अनुभूति अहिले सम्म हुन सकेको छैन । तर कहिले काही तीन बर्ष अगाडि सम्मको अवस्था सम्झँदा आज घर अध्यारो छैन भन्ने सामान्य बोधले पनि मन उज्यालो र हल्का हुन्छ ।

घर फर्केपछि परिवारसँग गुणिलो समय बिताउन पाइएको छ । हेर्दा सामान्य लाग्ने यस्ता बिषय मनोविज्ञानको हिसाबले अत्यन्त गहन र गम्भीर छन् । बिजुली संकटको एक दशकले कति नेपालीको जीवन वास्तवमै अन्धकार भएको होला ? हाम्रोमा यस्ता गहन विषयमा अध्ययन अनुसन्धान गर्ने अभ्यास छैन । अपराधिक घटनाको अलावा सो अवधिमा धेरै नेपाली डिप्रेसनले ग्रसित भएको हुनुपर्छ ।

हाम्रा विकासका चाहनाहरु सामान्य छन् । प्रजातन्त्र पुनर्स्थापना भएको तीन दशकसम्म पनि विकासका आधारभूत आवश्यकता पनि पुरा नहुनु दुर्भाग्य हो । कुलमानको प्रसङ्ग कालो बादलमा चाँदीको धर्काको प्रतिबिम्व हो । देशले हरेक क्षेत्रमा चाहेको नायकको प्रतिबिम्व हो कुलमान । एउटै व्यक्तिको सोच, क्षमता र निष्ठाले समाज र राष्ट्रमा गर्न सकिने सकारात्मक परिवर्तनको प्रतिबिम्व हो कुलमान ।

कुलमान क्षमतावान, कर्तब्यनिष्ठ, इमान्दार, कर्णधार नेपालीको सरल र प्रभावकारी पर्यावाची हो । जनताको जीवनमा आएको सकारात्मक र अर्थपूर्ण परिवर्तनको बाहकको रुपमा कुलमानलाई अर्थाएमा सान्दर्भिक र व्यवहारिक हुनेछ ।

अत्यन्त सम्भावना बोकेको देशको जल विद्युत क्षेत्रले कुलमान पाएको छ । मेरो देशले सबै क्षेत्रमा कुलमान पायोस । मेरै पालामा सम्बृद्ध नेपाल देख्न मात्र होइन बाँच्न पनि पाइयोस् । कुलमानले नेपाल विद्युत प्राधिकरणको बागडोर सम्हालेको आज तीन वर्ष पुगेको छ र त देश उज्यालो छ, मेरो लागि आजको दिन कुलमान दिवस ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment