+
+
Shares

किन फेरिए मेलम्ची आयोजनाका हाकिम ?

श्रीमतीको कम्पनीमार्फत जारको पानी बेचेको आरोप

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ३१ गते १२:२८

३१ भदौ, काठमाडौं । सहसचिव सूर्यप्रसाद कँडेललाई खानेपानी मन्त्रालयमा तानेर तिरेश प्रसाद खत्रीलाई मेलम्ची खानेपानी आयोजनाको प्रमुख बनाइएको छ । तीन प्रतिशतमात्र काम बाँकी भएको भनिएको मेलम्चीका प्रमुख ‘भुतले खाजा खाने बेलामा’ किन फेरिए होलान् ?

यो प्रश्नमा खानेपानी तथा सरसफाइ मन्त्रालयका प्रवक्ता रितेश शाक्य भन्छन्, ‘यो नियमित आन्तरिक प्रक्रिया अन्तर्गतको सरुवा हो ।’

प्रवक्ताले यो सरुवालाई ‘नियमित प्रक्रिया’ भने पनि मन्त्री विना मगरको सचिवालय स्रोतले भने कँडेलको ‘विवादास्पद काम’का कारण उनलाई मन्त्रालय तानिएको बतायो ।

मन्त्रीको सचिवालयको तर्क अनुसार सहसचिव कँडेलले पत्नी अञ्जुका नाममा एक कम्पनी दर्ता गरेर पानीको व्यापार गर्दै आएका छन् । कँडेलपत्नी अञ्जु खड्काका नाममा ०६६ माघ १० गते क्रिस्टल आक्वा सर्भिसेस प्रालि नामको कम्पनी दर्ता छ । उनको कम्पनीको दर्ता नम्बर ६९८१२-५ हो । यो कम्पनीमा सम्झना बास्कोटा, इन्दिरा चौलागाईं र साधना तिवारीको पनि सेयर छ ।

यो कम्पनीले बोतल, जार र ट्यांकरबाट विभिन्न सरकारी तथा गैरसरकारी निकायमा पानी आपूर्ति गर्दै आएको छ । आफ्नो व्यवसाय प्रभावित हुने भनेर कँडेलले मेलम्चीको पानी काठमाडौं ल्याउन विभिन्न तरिकाले ढिलाइ गर्ने गरेको आरोप उनीमाथि लागेको छ ।

खानेपानी मन्त्रालयका तत्कालीन सचिव गजेन्द्र ठाकुरसँग मिलेर कँडेलले साविकको मेलम्ची ठेकेदार सीएमसीलाई ३६ करोड भुक्तानी रोकिदिएर भगाएको आरोप पनि लाग्ने गरेको छ । १० महिनाअघि सीएमसीले काम छाडेको थियो ।

यद्यपि ठाकुरले भने मन्त्री वीना मगरले नियमविपरीत भुक्तानी दिन दबाव दिएको र आफूले इन्कार गरेको बताएका छन् । यही विवादका बीच सचिव ठाकुरलाई मन्त्रालयबाट हटाइएको थियो । ठाकुरको ठाउँमा ल्याइएका सचिव दीपेन्द्रनाथ शर्मा पनि सेवानिवृत्त भइसकेका छन् ।

इटालियन कम्पनी सीएमसी भागेपछि ठप्प भएको मेलम्ची खानेपानी आयोजनाको बाँकी काम चिनियाँ कम्पनी सिनो हाइड्रोले पाएको छ ।

उता कर्मचारी स्रोतको भनाइ के छ भने आयोजना कार्यान्वयन निर्देशनालय -पीआईडी) को प्रमुखका रुपमा कार्यरत सहसचिव तिरेश खत्री मन्त्री निकटका कर्मचारी मानिन्छन् । र, यही कारण मन्त्री मगरले आफूलाई काम गर्न सहज हुने हाकिमलाई मेलम्ची आयोजनाको प्रमुख बनाएको चर्चा पनि खानेपानी मन्त्रालयमा भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?