
झापा विद्रोहका योद्धा सानो दुर्गा अधिकारीको घर झापाको होक्सेमा थियो । देशमा पञ्चायती शासन थियो । गाउँ मुखिया र थरीप्रथाले आक्रान्त थियो । सात सालको क्रान्तिले पनि शोषणको जरो उखेल्न सकेको थिएन । ०१७ सालपछि पञ्चायतको सारथी बन्दै झन् मौलायो – जमिन्दारी प्रथा ।
मुखियाको विघौविघा जमीन हुन्थ्यो । गाउँभरिका मानिस उनीहरुको खेतमा नि:शुल्क काम गर्न पुग्नुपर्थ्यो । काममा नपुगेकालाई घरमै पुगेर कपालमा समाएर भित्र-बाहिर गराउथे, जमिन्दारहरु । मुखियाको घरभित्रको काम पनि गाउँलेले नै गरिदिनुपर्ने, कपडा धोइदिनुपर्ने, भाँडा माझिदिनुपर्ने, मुखियाको परिवारलाई मालिस गरिदिनुपर्ने, … ।
मुखियाको अत्याचार यतिमै सीमित थिएन । जसकी छोरी मन पर्यो, उसैको घरमा पसेर बलात्कार गर्थे । काम गर्न नआउनेलाई मुखियाकै मण्डलेहरुले मारिदिन्थे । तर, उनीहरुका लागि कुनै कानून बनेको थिएन ।
सानो दुर्गाको गाउँका एक मुखिया थिए – चन्द्रकान्त भट्राई ।
चेत आएदेखि नै यी सब देखी भोगी रहेका थिए सानो दूर्गा अधिकारीले । उनी पाँच वर्षको छँदै आमाका आँखाको ज्योति गुम्यो । ८ वर्षमै बाबाले छाडेर गए । यिनै दुई घटना हुन्, जसले उनलाई स्कुलको दैलो टेक्न बञ्देज गरिदियो ।
पञ्चायतको व्यवस्था उस्तै कडा । वल्लो-पल्लो घरका चारजना जम्मा भएर कुरा गर्नसमेत पाइँदैनथ्यो । संगठन खोल्न बन्देज थियो । राजनीतिक दलहरु निलम्बनमा थिए ।
एकातिर परिवारको जीवन चल्न मुस्किल थियो, अर्कोतर्फ उनलाई लाग्दै थियो कि ‘गाउँमा जे भइरहेको छ, ठीक भइरहेको छैन । समाजलाई परिवर्तनको खाँचो छ ।’
खासखुस गर्दै भूमिगत यात्रा
वि.सं २०२७ साल । सानो दूर्गा अधिकारी १७ वर्षका भए ।
त्यतिबेला सानो दुर्गाले कम्युनिष्ट पार्टीबारे खासखुस सुन्दै थिए । चर्को बोल्ने मौसम थिएन । खासखुस उनको कानसम्म आइपुग्यो, ‘कम्युनिष्टले मात्र यो व्यवस्थालाई पल्टाउन सक्छ । सामन्तवादविरोधी व्यवस्था जनवाद हो । सामन्तीहरुको काल एकमात्र कम्युनिष्ट हो ।’
यस्तो हावा झापा विद्रोहको थियो । जसलाई सीपी मैनालीले हाँकेका थिए ।
काँचै उमेरका सानोदूर्गालाई यस्तो खासखुसले नराम्ररी झक्झक्यायो । उनी झापा जिल्ला संगठन कमिटी नेकपाको सम्पर्कमा पुगे । त्यसपछि केही पुस्तक र वाम प्रशिक्षणले उनको रगत उमाल्यो । परिणाम ०२७ सालदेखि नै उनी पूर्णकालीन कम्युनिष्ट कार्यकर्ता भए । खुकुरी भिरेर भूमिगत भए । जीवनमा थुप्रै बाटाहरुमध्ये उनले काँडाको बाटो रोजे । जतिबेला उनीसँग १७/१८ वर्षे जोश थियो ।
भूमिगतकालमा एक त जमिनदारका मण्डले-कुन्डलेहरुसँग जोगिनुपथ्र्यो, अर्को पञ्चायती सत्तासँग । उनीहरुको नजरबाट फुत्कन सहज थिएन ।
सानो दूर्गाहरु त्यसबेला दुई/तीनजना भएर हिँड्थे । कहिलेकाँही जंगलमै बास हुन्थ्यो । प्रायः गाउँको बाटो हिँड्दैनथे । खोला खोल्साबाट मान्छेहरु छलेर हिँड्नुपथ्र्यो ।
सानोदूर्गा भूमिगत समय सम्झँदैछन्, ‘प्राय रातको समय हिँड्थ्यौँ । जता अन्धकार छ, त्यही बाटोबाट हिँड्नुपथ्र्यो । जतिबेला पानी दर्किन्छ, त्यतिबेला नै हिँड्नुपथ्र्यो । बत्ति त परको कुरा, जूनको उज्यालोमा पनि हिँड्नुहुँदैनथ्यो ।’
न खानाको ठेगान थियो, न बस्नको । ‘कहिलेकाँही हिँड्दा हिँड्दै तीन दिन पनि बित्थ्यो’ सानो दूर्गा सम्झँदैछन्, ‘बसिरहेको गाउँका बस्ने अनुकुलता छैन भन्ने थाहा पाउनसाथ उठेर अर्को गाउँ पुग्नुपथ्र्यो ।’
यसरी नै उनीहरु जनताको झुपडीमा पुग्थे र मार्क्सवादी दर्शनको प्रचार गर्थे । कम्युनिष्टको सपना सुनाउँथे ।
खासगरी झापा विद्रोह जमिनदार गिँड्ने अभियानका रुपमा प्रचारित छ । कम्युनिष्टहरुले गीतै बनाएका थिए- ‘सामन्तलाई नगिँडे, सैनिकसँग नभिडे, आउँदैन जनवाद मादल ठोकेर ।’
‘सामन्तीहरुले जनतालाई भेडाबाख्राभन्दा पनि कमजोर ठान्थे । हाम्रो खास अभियान अत्याचारको विरुद्धमा जंग तयार गर्नु थियो’, सानोदूर्गा भन्छन्, ‘सबैलाई काट्ने त होइन । एक/ दुई जना सामन्तलाई ढाल्यौँ पनि ।’
जमिनदारले घुमाएका मण्डले-कुण्डले र पुलिसको गस्तीबाट बच्न मुस्किल थियो । सानो दुर्गा बोल्दाबोल्दै ठूलो सास फेर्छन्, ‘हामी त कठिन ढंगले मात्र बाँचियो ।’
बाँच्न लेखेको रहेछ
सानो दुर्गा पार्टीमा भुमिगत भएको तीन वर्ष बितिसकेको थियो । यही दौरान पार्टीको बैठकले उनलाई संगठित सदस्यता दिने निर्णय गर्यो । यो खबरले उनी उत्पात खुशी भए । तर, उनको हातसम्म सदस्यता आइपुगिसकेको थिएन ।
०३० को एक रात सानो दुर्गा र रामप्रसाद प्रधान झापाको शान्तिपुरमा एउटा छाप्रोमा बास बसेका थिए । मण्डलेले सुइँको पाएछन् । रातको दुई बजे उनीहरुको घर घेरामा पर्यो ।
मध्यरात । गाउँ सामसुम थियो । प्रहरी र मण्डले एक साथ झुप्रोभित्र पसे । भाटा वषर्ाउन थाले । सानो दुर्गाको स्वर मसिनो बन्छ, ‘रामप्रसादलाई भाटाले कुटीकुटी, घोचीघोची मारे । उनी ऐया भन्दाभन्दै मरे । मलाई बाँच्न लेखेको रहेछ ।’
पर्खालभित्र
सानो दुर्गालाई हत्कडी लगाएर रातारात प्रहरीले चन्द्रगढी पुर्यायो । उनलाई मात्र होइन, सम्पूर्ण गाउँलेलाई नै हिरासतमा कोच्यो । कम्युनिष्टलाई गाउँमा बस्न दिएको अभियोगमा प्रहरीले गाउँ उठाएको थियो ।
सानोदुर्गा पक्राउ परेको केही समयमा नै ठूलो दुर्गा अधिकारी, घनेन्द्र बस्नेत, छविलाल राजवंशीसहित चारजनालाई पक्राउ गरी उनी भए ठाउँ ल्याइपुर्याइयो । तर, सँगै बस्न दिइएन ।
सानो दुर्गालाई कस्टडीमा प्रहरीले तुर्लुङ्ग झुण्ड्याउँथ्यो । खुट्टामाथि शीर तल । जतिबेलै हातमा हत्कडी । आँखामा पट्टी । खुट्टामा १० किलोको नेल । छिस्रिक्क बोल्नसम्म दिइँदैनथ्यो । हरेक दिन चार/पाँच घण्टा यसैगरी झुण्डिनुपर्थ्यो ।
दुई महिनाका कठोर यातनापछि सानो दूर्गालाई झापा जेल सरुवा गरियो । त्यहाँ उनलाई झुण्ड्याएनन् । तर, खुट्टामा नेल, हातमा हट्कडी । नेल काठको मुडामा प्वाल पारेर बनाइएको । हलचल गर्नै नमिल्ने ।
बाहिर कम्युनिस्ट आन्दोलन चर्कंदो थियो । जिल्लामा ८० जना बढी कम्युनिष्ट कार्यकर्ता पक्राउ परिसकेका थिए ।
सानो दुर्गालाई झापा जेलमा तीन महिनाभन्दा बढी राखेन । त्यसपछि वीरगञ्ज पुर्याइयो । त्यसको दुई महिनापछि काठमाडौंको भद्रगोल जेलको छिडीमा ल्याएर फ्याँकिदियो ।
भद्रगोल जेलमा सानो दुर्गाले भद्रगोल जिन्दगी बिताउन थालेको एक वर्ष पुग्न आँटेको थियो । एक दिन राति प्रहरीले आएर भन्यो, ‘ए उठ् ।’
त्यसपछि उनलाई केन्द्रीय कारागार नख्खुको गोलघरमा लगेर जाकियो । जहाँ मृत्युदण्ड दिएका अपराधीलाई राखिन्थ्यो । गोलघर पुगेपछि उनलाई लाग्यो, ‘योभन्दा कुरुप ठाउँ संसारमा अर्को छैन होला ।’
मृत्युदण्ड दिएकाहरुको कोठामा कालो पर्दा लागेको थियो । पागलहरुको होहल्ला उस्तै । उसो त गोलघर नै कालो पर्दाभन्दा कम थिएन । अलिअलि छिरेको प्रकाशले घुर्मइलो भुँई देखिन्थ्यो ।
सानो दूर्गाले त्यहीँ भेटेका हुन्, अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई ।
त्यो कालकोठरीमा मोहनचन्द्र, राधाकृष्ण मैनाली पनि सँगै थिए । ‘परिस्थिति यस्तो थियो कि त्यहाँ पुर्याएर मार्ने वा जिउँदै राख्ने हो कुनै ठेगान थिएन ।’ सानो दुर्गाको स्वर ठूलो बन्छ ।
तर, त्यहाँ कोहीसँग बोल्न दिइएन । सानो दुर्गालाई एउटा कुनाको कोठामा लगियो । कोठा यति साँघुरो थियो कि खुट्टा पसार्न पनि मिल्दैनथ्यो । न ओछ्यान थिए । ट्वाइलेटमाथि नै सुत्नुपर्ने ।
हत्कडी र नेल फुकालिदिएको थिएन । उनी सम्झन्छन्, ‘कहिले पछाडि फर्काएर हत्कडी लगाइदिन्थ्यो, कहिले अगाडि । कहिले भोकै राख्थ्यो, कहिले कुहिएको चामलको भात लिएर दिन्थ्यो । त्यही फोहोरमै बसेर खानुपर्थ्यो ।’
कतै मरि पो हाल्छ कि भन्दै बेलाबेला पुलिस आएर धम्क्याउँथ्यो । कतै भागेर पो गयो कि भनेर निरीक्षण गर्न जेल प्रशासन आउँथ्यो । ‘उनीहरु आएका बेला थोरै गल्ती बोल्यो कि मार गोदाइ खाुनपथ्र्यो’, सानो दुर्गा भोगाइ सुनाउँदैछन्, ‘यसरी गोद्थ्यो कि गोद्दा गोद्दै बेहोस पाथ्र्यो ।’
केपी ओली लगायतका कम्युनिष्ट नेता त्यहीँ थिए । तर, कहिलेकाँही मात्र एकछिन भेट्न दिन्थ्यो । तर, उनीहरुले लुकीछिपी कुराचाहिँ गर्थे ।
गोलघरको त्यो अत्यासलाग्दो जीवनबाट प्रहरीले उनलाई ६ महिनामा निकाल्यो । तर, हत्कडी र नेल नखोली जेलमै लग्यो ।
जेलमा फेरि अर्को माहौल थियो । सबै कार्यकर्ताहरुको एउटै भान्सा हुन्थ्यो । पकाउनका ल्याइदिएको चामलमा कुहिएको चामलभन्दा बढी ढुंगामाटो हुन्थ्यो ।
केपी ओली पनि सँगै जेलमा थिए । उनीहरु जेलभित्रै हँसी-मजाक गर्थे । कहिलेकाँही झोंकाझांेक पनि हुन्थ्यो । तर, वातावरण क्रान्तिकारी थियो । अन्यायविरुद्ध रगत उम्लिरहेको मुटु बोकेर बसिरहेका थिए सबै ।
जेलमा सानो दुर्गा प्रायः बिरामी भइरहन्थे । उनी भन्छन्, ‘केपी ओली त अझ महाबिरामी थिए । पछि उनलाई जेल सरुवा गरियो । उतैबाट बाहिर निस्किए ।’
केपी ओली १४ वर्षको जेलबासपछि रिहा भए । ओलीलाई राजकाजको मुद्दा थियो । तर, सानो दुर्गा रिहा भएनन् । ०१७ सालपछि हत्कडी र नेल भने खोलिदिएको थियो । सानो दुर्गामाथि राजकाज र ज्यान मुद्दा थियो ।’ अदालतले सानो दुर्गाविरुद्ध सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो ।
पर्खाल बाहिर
सानो दुर्गा पक्राउ परेको १७ वर्षपछि जेलमुक्त भए, ०४६ सालमा । उनी रिहा हुँदै गर्दा देश आन्दोलनमा होमिँदै थियो । जेलबाट छुटेको एक/डेढ महिना अभिनन्दन खाँदै काठमाडौंमै बित्यो । त्यसपछि ०४६ सालको जनआन्दोलन शुरु भयो । उनी त्यही आन्दोलनमा होमिए ।
र, जब देशमा प्रजातन्त्र पुर्नस्थापना भयो । सानो दुर्गा गृहजिल्ला झापातिर लागे ।
जेलबाट बाहिर निस्किएपछि हातखुट्टा लडखडाउन थाले । हिँड्दा खुट्टा लड्खडाउँथे । केही समाउँदा हात काँप्थे । आँखा तिर्मिराएर धेरै टाढाको वस्तु ठम्याउन सक्दैनथे । उनले १७ वर्षपछि चारदिवार बाहिरको संसार नियाल्दै थिए । सानो दुर्गा भन्छन्, ‘त्यसपछि मेरा आँखा कहिल्यै बलिया भएनन् ।’
उनी १७ वर्षपछि गृहजिल्लाको खुल्ला संसारमा त आए, तर, कहाँ जाने ? उनीसँग न घर थियो, न सम्पत्ति । दृष्टिविहीन बुढीआमाले बहिनीको घरमा बसेर छोरालाई पर्खिरहेकी थिइन् । उनी आमाको दर्शन गर्न बिर्तामोड पुगे ।
तर, बस्ने कहाँ ? झापा विद्रोहका सहिदका घरमा डेढ महिना बिताए । केही महिना साथीहरुको घरमा बसेर जीवन धाने । केही समयपछि पार्टी -नेकपा एमाले) ले उनलाई कार्यालयमा सेल्टर दियो । उनी कार्यालय सहयोगी बने । तीन वर्ष कार्यालयमै बसे । कार्यालय बढार कुँडारको काम गरे ।
सानो दुर्गाको उमेर ढल्कँदै थियो । उनले ३६ वर्षमा बिहे गरे । रत्ना अधिकारी उनकी जीवन संगीनी भएर आइन् । त्यसपछि धुलाबारी खोलाको तीरमा एउटा छाप्रो हाले । ०४८ सालदेखि त्यहीँ बस्दै आएको उनीहरुको सानो संसार । अहिले पनि त्यहीँ छन् सानो दुर्गा अधिकारी दम्पत्ति ।
अहिले सानो दुर्गालाई रोगले झन् झन् च्याप्दैछ । यसै पनि जेलको चिसोले उनको हाड कमजोर पारेको थियो । युरिक एसिडले हानेको छ । त्यतिबेला खाएको पुलिसको डण्डाले अहिले आएर दुःख दिन थालेको छ । सानो दुर्गा भन्छन्, ‘कहिलेकाँही दुखेर खपिसक्नु हुँदैन । राम्रोसँग उपचार गर्न पनि सकिएको छैन ।’
उनकी एउटी छोरी छिन् – रक्षा । आफैंले पढाउन सकेनन् । मामाघर बसेर पढिन्, स्टाफ नर्स सक्काइन् । बीएनका लागि गौशालाको एक कलेजमा नाम त निकालेकी थिइन् । तर, पढाउन सकेनन् ।
क्यानडाको एक संस्थाले सानो दूर्गाबारे जानकारी पाएछ । जसले उनकी छोरीलाई अमेरिका पुर्यायो । सँगैका साथीबाट पैसा उठाएर उनले जहाजको टिकट काटिन् ।
जेलमा सँगै बसेका केपी शर्मा ओली पछिल्लोपटक प्रधानमन्त्री भएपछि झापामा सानो दुर्गाको एक पटक भेट भयो, एउटा कार्यक्रममा । आँखा जुधेपछि केपीले सोधे ‘यहाँ के का लागि आएको ?’
सानो दूर्गाले जवाफ फर्काए, ‘तपाईसँग भेट हुन्छ कि भनेर ।’
उनीहरुबीच योभन्दा लामो सम्बाद भएन ।
सानो दुर्गालाई आफ्नो अवस्थाप्रति कुनै गुनासो छैन । उनी भन्छन्, ‘बढेसकालमा के नै काम गर्न सकिन्छ र ! हामी परिवर्तनका लागि लडेका थियौं । स्वतन्त्रताका लागि लडेका हौँ । परिवर्तन आयो । हामीले गर्ने काम गर्याैं ।’
अहिले सानो दूर्गा अधिकारी नेकपाको नगर कमिटी सल्लाहकार छन् । तथापि उनलाई पार्टी नेतृत्वले अलिकति बाटो बिराएको हो कि भन्ने परेको छ ।
प्रतिक्रिया 4