Comments Add Comment

दैलेख र सुर्खेतको पेट्रोलियम अन्वेन्षण कात्तिकबाट पुनः सुरु हुने

३ असोज, काठमाडौं । वर्षातका कारण रोकिएको दैलेख र सुर्खेतकोे पेट्रोलियम तथा ग्यास खानी अन्वेषण आउँदो कात्तिकबाट पुनः सुरु हुने भएको छ । खानी विभाग र चाईना जियोलोजिकल सर्भेको प्राविधिकले गत वैशाखमा सुरु गरेको पहिलो चरणको अन्वेषण साउनदेखि रोकिएको थियो ।

बिकट भौगोलिक बनावट र भारी वर्षातका कारण देखाउँदै साउन १५ गते चिनियाँ टोली स्वदेश फर्किएको हो । अब कात्तिक पहिलो साता (अक्टोबर दोस्रो साता) बाट अन्वेषण सुरु हुने खानी विभागको तर्फबाट अध्ययन टोलीको नेतृत्व गरेका विभागका उपमहानिर्देशक सुधिर रजौरेले अनलाइनखबरलाई बताए ।

पहिलो चरणमा खानी क्षेत्रको भौगोलिक अवस्थाको प्रारम्भिक अध्ययन गरिएको उपमहानिर्देशक रजौरेको भनाइ छ । ग्यास निस्किरहेको तथा पानीमा तेल तैरिरहेको पाइएपछि खानी भएको पुष्टि भए पनि जमीनभित्र ती पदार्थको स्थान पहिल्याउन सकिएको छैन ।

दोस्रो चरण अध्ययनको प्राथमिकता दैलेखबाट नै हुने खानी विभागले जनाएको छ । दोस्रो चरणको अध्ययनमा पेट्रोलियम भएको सम्भावित क्षेत्रको जमीनमा सेन्सर राखेर कृत्रिम कम्पनमार्फत उक्त पदार्थको भित्री स्थान पहिल्याउने काम सुरु हुने उपमहानिर्देशक रजौरेले बताए ।

भौगर्भिक शब्दावलीमा ‘सेस्मिक सर्भे’ नाम दिइएको यस्तो अध्ययनले जमिनको ‘एक्सरे’ गरिन्छ । यो अध्ययनबाट जमीनमुनि ठ्याकै कुन भागमा पेट्रोलियम छ भन्ने पत्ता लाग्ने छ ।

चीनको नेशनल चाइना पेट्रोलियम कर्पोरेसन (एनसीपीसी) का विज्ञहरूले नेपाली टोलीलाई सहयोग गरिरहरको छ । चिनियाँ प्राविधिक टोलीको नेतृत्व प्रोफेसर चाङयुफानले गरेका छन् भने नेपाली टोलीमा रजौरेको नेतृत्वमा ४ जना प्राविधिकहरु सम्लग्न छन् ।

एनसीपीसी पेट्रोल अन्वेषण र उत्खनन गर्ने विश्वकै अग्रणी मानिन्छ । २०७२ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा द्विपक्षीय सम्झौता भएपछि २०७३ वैशाखमा चिनियाँ टोलीले नेपालमा पेट्रोलियम उत्खननको सम्भावनाबारे प्रारम्भिक अध्ययन गरेको थियो ।

सम्भावित क्षेत्रका चट्टानलगायत नमूना चीनमा परीक्षणपछि सम्भावित क्षेत्रको अन्वेषण तालिका बनाएर गत वैशाखबाट थप अध्ययन सुरु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment