Comments Add Comment

सी जिनपिङलाई स्वागत गरेपछि राष्ट्रपति भण्डारी जापान जाँदै

५ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी अर्को महिना जापानको राजकीय भ्रमणमा जाने तयारी भइरहेको छ । जापानका सम्राट नारुहितोको निम्तोमा राष्ट्रपति भण्डारी जापान जान इच्छुक देखिएपछि सरकारले भ्रमणको तयारी गरिरहेको स्रोतले जनाएको छ ।

राष्ट्रपति कार्यालय स्रोतले भ्रमणको तयारीबारे पुष्टि गरे पनि भ्रमणको चाँजोपाँजो मिलाउने जिम्मा सरकारको भएको बतायो । स्रोतका अनुसार अक्टोबर अन्तिम साता वा नोभेम्बर पहिलो सातासम्म राष्ट्रपति भण्डारीको जापान भ्रमण हुनेछ ।

अक्टोबर दोस्रो साता चिनिया राष्ट्रपति सी जिनपिङको भ्रमण हुने सम्भावना रहेकाले त्यसपछि हुनेगरी राष्ट्रपति भण्डारीको जापान भ्रमणको मिति तय गरिने सरकारी अधिकारीहरुले बताएका छन् । भ्रमण अक्टोबर अन्तिम साता हुनसक्ने एक उच्च अधिकारीले बताए ।

जापानका सम्राट नारुहितो युवराज भएकै बेला सन् १९८७ मा नेपाल भ्रमण गरेका थिए । नारुहितोका नेपालसँग विशेष लगाव रहेको बताइन्छ । जापान र नेपालको राजपरिवारबीच धेरै पुरानो सम्बन्ध र भ्रमण आदान प्रदान हुने गरे पनि नेपालमा गणतन्त्र स्थापनापछि राष्ट्र प्रमुखबाट हुन लागेको यो पहिलो औपचारिक भ्रमण हो ।

यसअघि प्रथम राष्ट्रपतिले पनि जापानको भ्रमण गरेका थिए । तर उनको भ्रमण भने स्वास्थ्योपचारको लागि थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment