Comments Add Comment

नेपाली कलाकारको स्टारडमः देखावटी धेरै, वास्तविकता कम

सेलिब्रिटीको स्टारडम के हो ? यसको परिभाषा यही नै हो भन्ने छैन । अनुहार बिक्नु, दर्शकलाई हलसम्म तान्न सक्नु, चलचित्र हिट हुनु, निर्मातालाई सुरक्षित गर्न सक्नु । सायद, स्टारडमको परिभाषा यस्तै होला ।
आजभन्दा एक दशक अगाडि नायक राजेश हमालको टाउको बिक्थ्यो । चलचित्रको पोस्टरमा राजेशको टाउको राख्नको लागि निर्माताले राजेशमाथि पैसा खन्याएकाथिए । महिना दिन कुरेर भएपनि राजेशलाई अतिथी भूमिकामा खेलाउन पाउँदा निर्माता मख्ख पर्थे । आहा ! साच्चिकै गज्जब थियो हमालको क्रेज । आज पर्दामा नदेखिएपनि पर्दा बाहिर हमालको स्टारडम कमजोर भएको छैन ।

नेपाली चलचित्र क्षेत्रमा राजेश हमालको जस्तो स्टारडम अरु कलाकारमा देखिएन । हुनत, नायक भूवन केसी, शिव श्रेष्ठ, श्रीकृष्ण श्रेष्ठको स्टारडम पनि कम होइन । तर, हमालको स्टारडम केही फरक थियो ।
राजेशको टाउको भयो त चलचित्र हिट भयो । सायद यसैले गर्दा पनि होला, राजेशले चलचित्र छनोट गर्न सकेनन् र आफ्नो एक दशक लामो पर्दाको स्टारडमलाई कमजोर बनाए ।

तर, राजेश भने आफूले गरेको काममा पछुतो गर्दैनन् । स्टारडम सोचेर काम गरेको भए नेपाली चलचित्र क्षेत्र यो स्थानमा आइपुग्ने कुरामा राजेशलाई शंका थियो । उनी भन्छन्–‘यदि मैले यो भएन, त्यो भएन भनेको भए अहिले चलचित्र क्षेत्र यो अस्थामा आइपुग्दैन थियो होला । त्यो बेला त चलचित्र बन्नु नै ठुलो कुरा थियो । चलचित्र बनेर चलचित्र क्षेत्र टिक्यो भने स्तर आफै बढ्छ भन्ने भएर नै निरन्तर चलचित्र गरेँ ।’
राजेशको स्टारडम कायम भएकै समयमा निखिल उप्रेती र विराज भट्ट जस्ता कलाकारले पनि आफ्नो स्टारडम बनाइरहेका थिए । उनीहरुको टाउको पनि हलमा बिक्ने भइसकेको थियो ।

राजेश, निखिल र विराजपछि थिएटरबाट आएका कलाकारहरुले आफ्नो स्टारडम देखाए । उनीहरुले चलचित्रले मान्दै आएको ‘हिरो’को भाषालाई बदले । ‘हिरो’ हुनको लागि अग्लो कद, मिलेको शरीर, आकर्षक रुप हुनुपर्छ भन्ने मान्यता तोड्दै दयाहाङ राई र सौगात मल्लले चलचित्र क्षेत्रमा स्टारडम बनाए ।

उनीहरुको स्टारडमले पनि हलसम्म दर्शक तान्ने सामथ्र्य राख्यो । तर, उनीहरुको स्टारडम धेरै समय टिक्न सकेन । उस्तै प्रकारको चलचित्र र उस्तै भूमिकामा काम गरेकाले उनीहरुसँग दर्शक दिक्क भए । पछिल्लो समय उनीहरुको स्टारडम पनि बिक्न छोडेको छ ।

अहिले चलचित्र क्षेत्रमा स्टारडम भएका नायक को भन्ने प्रश्न गर्ने हो भने धेरैले एउटै नाम लिन्छन्, ’अनमोल केसी’ । अनमोलले पनि एक किसिमको स्टारडम बनाएका छन् । युवा पुस्ताका दर्शकलाई हलसम्म तान्न अनमोलको भूमिका उच्च छ । चलचित्र नै नेहर्ने यूवापुस्तालाई अनमोलले हलसम्म आउने बनाएका छन् ।

चलचित्र ‘होस्टेल’मा काम गरेदेखि नै अनमोलले आफ्नो स्टारडम कायम गरे । चलचित्र कस्तो बनेको छ भन्दा पनि चलचित्रमा अनमोल केसी छ भनेर हलसम्म पुग्ने दर्शकहरु पनि धेरै भए । हलमा पुग्दा दर्शकबाट घेरिन्छन् अनमोल । उनलाई भेट्न उनकै घर बाहिर घन्टौ कुर्छन् फ्यान । एउटा चलचित्रमा नायकले ५–६ लाख पारिश्रमिक लिइरहेको समयमा अनमोलले नै २० लाख पारिश्रमिक लिए । अहिले कलाकारहरु ढुक्कले पारिश्रमिक माग्न सक्ने भएका छन् । अनमोल केसीलाई ५० लाख दिन निर्माता खासै सोच्दैनन् । सायद, अनमोल केसीको यो माग उनको नाममा लगानी गर्दा घाटा हुँदैन भनेर नै देखिएको होला ।

तर, चलचित्र निर्देशक विनोद पौडेल ५ दशक लामो चलचित्र क्षेत्रको इतिहासमा कोही कलाकारले पनि स्टारडम बनाउन नसकेको दावी गर्छन् । उनले भने, ‘यो हाम्रो दुर्भाग्यको कुरा हो । हामीले अहिलेसम्म स्टारडम भएको कलाकार पाएका छैनौ ।’

नेपालमा जवरजस्तीको स्टारडम हाबी भएको विनोदको बुझाई छ । अरुको सिको गरेर आफ्नो स्टारडम बनाउनेहरुको संख्या बढ्दै गएको विनोद बताउँछन् । उनले भने–‘स्टारडम भनेको व्यक्तित्वले देखाउँछ । यहाँ आफ्नो भित्री व्यक्तित्व विर्सिएर अरुको सिकोमा बाहिरी रुपमा स्टारडम देखाउनेहरु बढी छन् । त्यो धेरै समय टिक्दैन ।’

विनोद केही हदसम्म दयाहाङ राईको स्टारडमलाई रुचाउँछन् । उसले आफ्नै व्यक्तित्व देखाएर क्रेज बनाएको उनी बताउँछन् । ‘दयाहाङले अरुको सिको गरेर बाहिरी क्रेजमा रमाएको छैनन् । रियल लाइफमा जे छ त्यही नै गरेर उनले राम्रो परिचय बनाएका छन् । , विनोद थप्छन्–‘बडिगार्ड राख्दैमा, समचार लेखाउँदैमा, स्टाइल पारेर आदर्शको कुरा गर्दैमा कसैको स्टारडम बन्दैन ।’

अभिनेता दयाहाङ राई दर्शकले साच्चिकै रुचाउँछन् भने त्यो स्टार बन्ने बताउँछन् । उनले थपे, ‘म स्टार बन्छु भनेर कोही स्टार बन्न सक्दैन । आफ्नो काम गर्दै जाँदा त्यो कामबाट सफलता पाएपछि त्यो स्टार बन्ने हो ।’ आफूलाई दर्शकले रुचाएकै कारण कोही कसैले स्टारको ट्याग दिएको उनी बताउँछन् ।

देखावटी रुपमा केही स्टार बन्न खोज्नु गलत भएको दयाहाङ बताउँछन् । उनले थपे, ‘कोही कसैले बडिगार्ड राख्नु भनेको राम्रो कुरा हो । आफ्नो सुरक्षासँगै त्यहाँ उपस्थित भिडको लागि पनि सुरक्षा दिनको लागि बडिगार्ड राख्नु राम्रो कुरा हो । तर, कतिपय कुरामा हाम्रो प्रचारबाजी गर्ने शैली छ । यो भने गलत हो ।’

स्टारडमको फाइदा
स्टारडमको फाइदा धेरै छन् । हलसम्म दर्शक तान्नु नै सबैभन्दा ठुलो फाइदा हो । स्टारडमले चलचित्रको लगानीलाई बचाउँछ । निर्माताको लगानी फिर्ता गर्न सक्छ । त्यो सँगै स्टारडम भएको सेलिब्रिटीले चलचित्रको धार बदल्न सक्छ । चलिरहेको र बजारमा रुचाइएको चलचित्र भन्दा फरक प्रयोगमा चलचित्र बनाउने हिम्मत दिन सक्छ । किनभने उसँग स्टारडम छ, दर्शक हलसम्म तान्ने शक्ति छ । जसलेगर्दा चलचित्र क्षेत्रमा पनि नयाँ प्रयोग हुन सक्छ ।

त्यस्तै, स्टारडम भएका कलाकारलाई चलचित्रमा लिएर चलचित्रको लगानी बढाउन पनि सकिन्छ । ठुलो बजेटमा राम्रो चलचित्र निर्माण गर्नको लागि पनि स्टारडमले हिम्मत दिन्छ । निर्मातालाई पैसा फिर्ता हुने ढुक्क भएपछि उ पनि लगानी गर्न उत्साहित हुन्छ ।

निर्देशक पौडेलको तर्क पनि यस्तै छ । स्टारडमले चलचित्रको वजारलाई चलायमान गराउने उनको तर्क छ । नायक दयाहाङ राइले स्टारडमले चलचित्रको प्रचारमा निकै ठुलो सहयोग गर्ने बताउँछन् । उनले भने, ‘चलचित्रमा स्टार छ भने त्यो चलचित्रको प्रचार यसै हुन्छ । त्यसले चलचित्रको व्यापारमा र चलचित्र क्षेत्रलाई नै केही न केही रुपमा फाइदा भएको नै हुन्छ ।

स्टारडमको बेफाइदा
स्टारडमका बेफाइदाहरु पनि छन् । पहिलो बेफाइदा भनेको चलचित्रमा उनीहरु हाबी बन्छन् । जसले गर्दा चलचित्रको विषयबस्तु छायामा परिरहेको हुन्छ । दर्शकले चलचित्रको विषयबस्तुलाई भन्दा पनि स्टारलाई बढी महत्व दिइरहेका हुन्छन् । त्यसैले पनि विषयबस्तु छायामा पर्छ ।

निर्माताको लागि अर्को बेफाइदा भनेको उनीहरुको पारिश्रमिक पनि हुन सक्छ । स्टारडम भएको कलाकारले निर्मातासँग राम्रै पारिश्रमिक डिमान्ड गर्छ । त्यसको प्रत्यक्ष असर भनेको निर्मातालाई पर्छ । कतिपय निर्माता त पारिश्रमिककै कारण पनि पछि सर्ने गर्छन् ।

नायक दयाहाङ राई भन्छन्, ‘कोही स्टार छ भने उसको फलोअर्स धेरै हुन्छ । यदि त्यो स्टारडम भएको व्यक्तिले गलत गर्यो भने समाजलाई नै असर पर्न सक्छ ।’

कसरी बचाउने स्टारडम ?
हामीमा एउटा भ्रम छ, ‘समाजसँग टाढा भइयो भने स्टारडम रहन्छ ।’ तर, त्यो बिल्कुलै गतल हो । समाज र दर्शकसँग नजिक भएर पनि स्टारडम कायम गर्न सकिन्छ । लुकेर बस्दा फेक स्टारडम बन्ने र त्यो लामो समय नटिक्ने निर्देशक पौडेलको भनाई छ ।

उनी भन्छन्, ‘स्टारडम बचाउन यस्तै गर्नुपर्छ भन्ने छैन । यदि, कसैले आफ्नो वास्तविकताबाट स्टारडम बनाएको छ भने त्यो अवश्य लामो समयसम्म टिक्छ ।’ स्टारडम टिकाउनको लागि आफ्नोपन दिनुपर्ने र असल व्यक्तित्व हुनुपर्ने उनको तर्क छ । ‘कोही कसैले घमण्ड गर्छ भने त्यो स्टारडम केही दिनमा नै सखाप हुन्छ’, उनले थपे ।

लुकेर बस्दैमा कलाकारको स्टारडम बच्ने कुरामा भने दयाहाङ पनि सहमत छैनन् । उनी भन्छन्, ‘त्यो भनेको कलाकारको आफ्नो आफ्नो जीवन जिउने शैली हो । उहाँहरुले के चाहानुहुन्छ त्यस्तै गर्नुहुन्छ ।’
स्टारडम बचाउनको लागि समय परिस्थितिलाई बुझ्नुपर्ने दयाहाङ बताउँछन् । उनले भने, ‘कोही सृजनशिल ब्यक्तिले स्टारडम बनाएको छ भने त्यसलाई टिकाउन धेरै गाह्रो हुने कुरा हो । यदि उ समय अनुसार चल्छ भने उसको स्टारडम टिकिरहन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment