Comments Add Comment

८ वटा बालीको मूल्य निर्धारण गर्न आयोग गठन गरिने

८ असोज, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल बलदेवले बालीको मूल्य निर्धारण गर्न मूल्य निर्धारण आयोग गठन गरिने बताएका छन् ।

बुधबार चितवनका कुखुरा व्यवसायीहरुसँगको छलफलमा बोल्दै मन्त्री खनालले बालीको मूल्य निर्धारण गर्नका लागि आफूले आयोग गठन गर्ने तयारी गरिहेको बताएका हुन् ।

तर यो आयोगले सबै बस्तुको मूल्य निर्धारण भने नगर्ने उनलेब बताए । ‘आदेशका भरमा मात्र समस्या समाधान हुदैन, म मूल्य निर्धारण आयोग गठन गर्नु पर्छ भनेर लागिरहेको छु,’ मन्त्री खनालले भने, ‘आयोगले सबै बस्तुको मूल्य निर्धारण गर्दैन, मुख्य-मुख्य बालीको गर्न सक्छ । ‘

यस विषयमा सदनमा समेत कुरा उठिसकेको भन्दै उनले जबसम्म सरकार कृषि उपज खरिद गर्न सक्दैन मूल्य निर्धारण गरेर पनि केही नहुने बताए ।

उनले कृषकलाई फाइदाका लागि कि सरकारले कृषि उपज बस्तु खरिद गर्नु पर्ने नत्र कालो बजारी गर्नेलाई तत्काल कार्वाही गर्नु पर्ने बताए । कालोबजारी गर्नेलाई कारबाही गर्न सरकार प्रतिवद्ध रहेको उनले बताए ।

पछिल्ला समय देखिएका किसानका समस्या समाधान गर्न किसान वर्गीकरण पनि गर्नु पर्ने उनले धारणा राखे । तर अर्थ मन्त्रालयले यसबारेमा त्यति चासो नदिएको मन्त्री खनालले बताए ।

मन्त्रालयका सहसचिव एबं पशु सेवा बिभागका पूर्वमहानिर्देशक डा बिमल कुमार निर्मलले किसानका ठूला समस्या नरहेको भन्दै देशभरका कुखुरा किसानको उत्पादन मूल्य निर्धारण गरे समाधान हुने बताए । त्यसका लागि कृषि मन्त्रालयभन्दा अर्थ मन्त्रालयको भूमिका बढी हुने उनले बताए ।

व्यवसायीले साना किसान मर्कामा रहेको, केही ठूला व्यवशायीले बजार नियन्त्रणमा लिएको, किसानको लागत मूल्य नपाउदा व्यावसायबाट बिस्थापित हुने अवस्था आएको, बिचौला हाबी भएको भन्दै मन्त्री खनालको ध्यानाकर्षण गराएका थिए ।

उनीहरुले कार्यदल गठन गरी लागत मूल्य निर्धारण गर्न माग गर्दै मन्त्री खनालसमक्ष ध्यानाकर्षण पत्र पनि बुझाएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment