Comments Add Comment

दशैंमा मागभन्दा एक हजार बढी खसीबोका आपूर्ति हुने

८ असोज, काठमाडौं । यो वर्षको दशै तिहारमा मासु र मासुजन्य पदार्थको अभाव नहुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । काठमाडौंमा मागभन्दा एक हजार बढी खसीबोका आपूर्ति हुने पनि मन्त्रालयको दावी छ ।

सरकारले भारतबाट खसीबोका ल्याउन कडाई गरेपछि नेपालमा अभाव सिर्जना हुने आशंका थियो । केही समयदेखि निरोगिताको प्रमाण पत्रबिना खसीबोका आयात गर्न दिइएको छैन । तर, नेपालमै उत्पादन पर्याप्त भएकाले अभाव नहुने व्यवसायीहरुले पनि बताइसकेका छन् ।

कृषीमन्त्री चक्रपाणी खनालले यस वर्षको दशैंमा खसी बोका पर्याप्त हुने बताए । व्यवसायीहरुले नेपाली खसी/बोका/राँगा लगायतका पशुबस्तुलाई स्थानीय स्तरमा संकलन र बिक्री बितरणमा प्राथमिकता दिएको भन्दै उनले अभाबको महसुस नै नहुने दावी गरे ।

मन्त्रालयले भारतबाट निरोगिताको प्रमाणपत्रसहित खसी भित्र्याएको प्रमाण समेत उपलब्ध गराएर खसीबोका आयातमा समस्या नरहेको बताएको छ । तर प्रक्रिया नपुर्‍याएमा भने भित्र्याउन नदिने अडानमा सरकार छ ।

मन्त्रालयका अनुसार हाल उपत्यका तथा मुख्य शहरहरुमा खसीबोकाको औसत माग प्रतिदिन १ हजार ८ सय ४० रहेकोमा २ हजार ३० वटा नेपाली बजारबाटै आपूर्ति भइरहेको छ । दशैको ७ दिन र अन्य चार्डको मुख्य दिन सहितको १० दिन काठमाडौं उपत्यका लगायत मुख्य शहरहरुको औसत माग प्रतिदिन ५ हजार पुग्ने अनुमान छ । त्यसअनुसार करिब ५० हजार खसीबोका आवश्यक पर्नेछ ।

दशैंको १० दिनमा आवश्यक माग ५ हजार मध्ये २५०० खसीबोका काठमाडौं उपत्यकामा मात्रै खपत हुने गरेको पशु सेवा विभागका महानिर्देशक डा बंशी शर्माले बताए । यस हिसाबले काठमाडौं उपत्यका लगायत मुख्य शहरहरुमा खसी, बोका र च्याङ्ग्राको कुल माग ५० हजार (२५ देखि ३० के.जी प्रति जनावर ज्यूदो तौल) हुन्छ ।

मन्त्रालयले ‘हेफर इन्टरनेशनल’ सँग आवद्ध सहकारीमार्फत ५ हजार, बाख्रा व्यवसायी महासंघमार्फत १३ हजार, खसी बोका व्यवसायीमार्फत १५ हजार, खाद्य संस्थानमार्फत २५ सय खसीबोका र संस्थान एवं व्यापारीमार्फत १० हजार ५ सय च्यांग्रा आपूर्ति गर्ने कार्ययोजना बनाएको छ । यस्तै, स्थानीय व्यापारी मार्फत पोखराका लागि ५ हजार च्यांग्रा गरी कुल ५१ हजार खसी, बोका र च्याङ्ग्रा आपूर्ति गरिने महानिर्देशक शर्माले बताए । यो संख्या मागभन्दा एक हजार बढी हो ।

यस्तै, काठमाडौं उपत्याका, अन्य ठूला शहर र साना हाटबजारमा दैनिक दुई–दुई सयका दरले ६ सय राँगाभैसीको मासु खपत हुने गरेको छ । यो संख्या वार्षिक २ लाख १९ हजार हुन्छ । मन्त्रालयको तथ्यांकअनुसार त्यसमध्ये २ लाख ८ सय राँगाभैसीको माग नेपालकै उत्पादनले धान्ने देखिेएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment