Comments Add Comment

महर्षि पतञ्जलिले कसरी गरे योगको विकास ?

योग मानिसको आत्मशुद्धिको सबैभन्दा सहज उपाय हो । आजभन्दा झण्डै २३ सय वर्षभन्दा भारतवर्षबाट सुरु योग विज्ञानको प्रसिद्धि यतिबेला सारा विश्वमा फैलिईसकेको छ । संयुक्त राष्ट्र संघले समेत योगको महत्वलाई स्वीकार गर्दै जुन २१ मा हरेक वर्ष योग दिवस मनाउने गरिन्छ । यही जीवनोपयोगी योगशात्रका प्रवद्र्धक हुन् महर्षि पतञ्जलि ।

पूर्वीय दर्शनको कोटीभित्र भिन्न–भिन्न जीवनोपयोगी दर्शनहरु पाउन सकिन्छ । एउटा मानिसले जन्मदेखि मृत्युसम्म भोग्ने सबै व्यवहारहरुलाई व्यवस्थित गर्नको लागि भिन्दा–भिन्दै दर्शनको व्यवस्था गरिएको पाईन्छ । जस्तो ब्रह्माण्डको उत्पत्ति र संहारको विषयमा सांख्यदर्शन र वेदान्तदर्शन । दैनिक गतिविधिहरुको व्याख्या एवं सामाजिक संस्थाहरुको सञ्चालनको सम्बन्धमा विभिन्न गृहसूत्रहरु, प्रजनन् र कामवासनाको सम्बन्धमा काम शास्त्र, वैराग्यको लागि वेदान्तदर्शन गरी हरेक गतिविधिहरुको लागि कुनै न कुनै किसिमको शास्त्रहरु लेखिएको पाईन्छ ।

सोही मध्येको एक दर्शन हो योग दर्शन । पूर्वीय दर्शनमा ईश्वरवादी वा आस्तिक र निरीश्वरवादी वा नास्तिक गरेर दुई प्रकारको दर्शन लेखिएका छन् । जसमध्ये पहिलो ईश्वरवादी दर्शन अन्तर्गत् सांख्यदर्शन, योगदर्शन, न्यायदर्शन, वैशेषिकदर्शन, पूर्वमीमांसा र उत्तरमीमांसा गरी ६ प्रकारका दर्शनहरु रहेका छन् । त्यस्तै, निरीश्वरवादी दर्शनमा बौद्ध दर्शन, जैन दर्शन र चार्वाक दर्शन रहेका छन् ।

यसैमध्येको योगशास्त्रका प्रणेता हुन् पतञ्जलि । पतञ्जलिको जन्मको बारेमा यकीन समय भन्नसक्ने अवस्था छैन । यसमा विभिन्न इतिहासकारहरुको बीचमा मतभिन्नता रहेको पाईन्छ । तर, पनि ईशापूर्व दोस्रो शताब्दीको समयमा खोज्दै जा“दा पतञ्जलिको जन्म भएको केही प्रमाणहरु भेटिएको पाईन्छ ।
प्राप्त प्रमाणहरुलाई आधार मान्दा १५० ईशापूर्वतिर उनको जन्म भएको आशंका समेत गरिएको छ । पतञ्जलिको नामबाट चर्चित हुनुभन्दा पहिले यिनलाई नागनाथ, गोणिकापुत्र, अहितापति जस्ता नामले समेत चिन्ने गरिएको थियो । पतञ्जलि एक प्राचीन वैज्ञानिक एवं चिकित्सक समेत थिए । उनको योगशास्त्रले मानिसको मानसिक समस्यालाई समाधान गर्नको लागि महत्वपूर्ण भूमिका खेलेको छ ।

पतञ्जलि एक व्याकरणकार पनि थिए । उनले संस्कृत व्याकरण ग्रन्थकार पाणिनीद्वारा रचित अष्टाध्यायीको महाभाष्य समेत लेखेका छन् । साथमा उनले एक चिकित्सा पाठ ‘चरकप्राटिसमस्क्राट’ को समेत रचना गरेको भन्ने मान्यता रहेको छ । यो पुस्तक अहिले नभेटिने भएकोले यो उनले लेखेका हुन् या होईनन् भन्ने पनि यकीन छैन । यही बहुमुखी प्रतिभालाई देखेर महर्षि पतञ्जलिको प्रशंसा गर्दै राजा भोजले एउटा संस्कृत श्लोकको निर्माण गरेका थिए । जसलाई धेरै योग गुरुहरुले योग सुरु गर्नुअघि स्तुतिमन्त्रको रुपमा समेत व्याख्या गर्ने गरेका छन् । जुन यस्तो छ ।

योगेन चित्तस्य पदेन वाचां ।
मलं शरीरस्य च वैद्यकेन ॥
योऽपाकरोत्तमं प्रवरं मुनीनां ।
पतञ्जलिं प्राञ्जलिरानतोऽस्मि ॥

अर्थात्, मनको चित्त वृत्तिलाई योगको माध्यमबाट, वाणीलाई व्याकरणको माध्यमबाट र शरीरको अशुद्धिहरुलाई आयुर्वेदद्वारा शुद्ध गर्ने मुनिहरुमा सर्वश्रेष्ठ महर्षि पतञ्जलिलाई दुबै हात जोडेर नमन गर्दछु । अहिले यो श्लोक योगाभ्यासको सुरुमा गाउने गरिन्छ ।

पतञ्जलिसम्बन्धी रोचक कथा

एक लोकप्रिय कथा अनुसार ऋषि अत्री र उनकी पत्नी अनुसूयाका पुत्र थिए, महर्षि पतञ्जलि । पतञ्जलिलाई भगवान अनन्तको अवतार पनि मान्ने गरिन्छ । भगवान अनन्त स्वयं भगवान कृष्णको रुप हो ।

अर्काे कथा अनुसार पतञ्जलिलाई शेषनागको अवतार समेत मान्ने गरिएको छ । त्यस्तो पवित्र नाग जसमा महाविष्णु योग निद्रामा विश्राम गर्दछन् । लोक कथाका अनुसार भगवान विष्णुलाई शिवको नृत्य देख्नको लागि सधैं उत्साहित भएको देखेर आदिशेष शेषनागले पनि शिवको जस्तै नृत्य सिक्ने ईच्छा गरे । उनी नृत्य सिकेर आफ्ना भगवानलाई खुशी गराउन चाहन्थे । शेषनागको त्यो इच्छा देखेर भगवान विष्णुले पनि आदिशेषलाई भगवान शिवको भक्तिको लागि आशीर्वाद दिए ।

त्यस समय एक गोनिका नामकी एक सुप्रसिद्ध महिला, जो पूरा रुपले योगको लागि समर्पित थिईन् । उनले एक योग्य पुत्रको लागि मुठ्ठीभर जलको साथमा प्रार्थना गरिरहेकी थिइन् । सोही समयमा एउटा सर्प उनको हातमा बेरदै पुग्यो । हातमा पुगेपछि त्यो सर्प मानिसको रुपमा देखियो । सर्पबाट मानव रुपमा जन्मिएका महापुरुष अरु नभएर योगशास्त्रका प्रवद्र्धक पतञ्जलि नै थिए । ती तपस्वी महिलाको हातमा पुग्ने सर्प अरु नभएर आदिशेष थिए भन्ने विश्वास छ । यसरी आदिशेषबाट जन्मिएका पतञ्जलि नै मानसिक शुद्धिको प्रमुख उपचार योगको माध्यमबाट विश्वचर्चित महर्षिको रुपमा चिनिएका छन् ।

योगका लागि के गरे पतञ्जलिले

पतञ्जलिद्वारा आफ्नो शास्त्र ‘योग सूत्र’मा महर्षि पतञ्जलिले विभिन्न ध्यानपरायण अभ्यासह?लाई सुव्यवस्थित गरेर त्यसलाई सूत्रमा संहिताबद्ध गरेका थिए । यो सूत्रले योगको आठ अंगहरुलाई समेत व्याख्या गर्दछ । यसमा कूल १९५ वटा सूत्रहरु समेटिएको हुन्छ । जसलाई ४ भागमा विभाजित गरिएको छ ।

पहिलो हो मनको वृत्ति निरोधकको रुपमा योग । जसलाई समाधि पदमा राखिएको हुन्छ । यसमा कूल ५१ सूत्रहरु छन् । त्यस्तै दोस्रोमा ूक्रिया योगू के हो र त्यसको अंग के–के हुन् ? भन्ने विषयमा व्याख्या गरिएको छ । जसमा तप, स्वाध्याय, ईश्वर प्राणिधान आदि पर्दछ । जसलाई साधना पद भन्ने गरिन्छ । जसमा कूल ५५ सूत्रहरु हुन्छन् ।

त्यस्तै, तेस्रो भाग विभूति पद हो । जसमा ५५ सूत्रहरु छन् । यस अध्यायमा संयमको वर्णन हुन्छ। जसमा ध्यान, धारणा र समाधि पर्दछ । योगको अष्टाङ्ग मध्येको तीन अङ्ग यसै भागमा पर्दछ । अर्कोतर्फ चौथो भागलाई कैवल्य पदले चिनिन्छ । यसमा कूल ३४ सूत्रहरु हुन्छ । परम मुक्तिमा आधारित यो अध्याय सबैभन्दा छोटो अध्याय हो । यसरी १९५ वटा सूत्रमार्फत् योगका विभिन्न ध्यानपरायणमा पतञ्जलिले दिएको योगदान उल्लेखनीय मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment