Comments Add Comment

इ-पासपोर्ट प्रणालीमा कमिसनको चक्कर, राज्यकोषमा एक अर्ब भार

९ असोज, काठमाडौं । आज प्रकाशित पत्रिकाहरुमा ह्याकरहरुले कृषि विकास बैंकको रकम लुटेको र मेडिकल कलेज चलाउन नसक्ने सञ्चालकको धम्कीसँग सम्बन्धित समाचार प्राथमिकतामा छ ।

एक आर्थिक वर्षमा डेढ अर्ब रुपैयाँभन्दा बढी नाफा कमाउने मेडिकल कलेज सञ्चालकले शुल्क घटाउन थालिएकाले अब कलेज चलाउन नसक्ने धम्की दिएको समाचार कान्तिपुर दैनिकको मुख्य प्राथमिकतामा परेको छ ।

यसैगरी मनी चेन्जरहरु अपराधमा मुछिँदै गएको समाचारलाई पनि कान्तिपुरले पहिलो पृष्ठमा स्थान दिएको छ । कान्तिपुरमा कहिल्यै जुत्ता नलगाउनेहरुको समाचार छ । यसमा कालीकोट, रोल्पा, दाङ र धनकुटाका समाचारलाई प्रस्तुत गरिएको छ ।

नागरिक दैनिकमा परराष्ट्र मन्त्रालयको राहदानी विभागले खरिद गर्न लागेको इ-पासपोर्ट प्रणालीले राज्यकोषमाथि झण्डै एक अर्ब अनावश्यक व्ययभार पर्ने समाचार छापेको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले खरिद गरिसकेको प्रणाली कमिसनको चक्करमा राहदानी विभागले पनि खरिद गर्न खोजेको र यदि खरिद गरिए राज्यकोषमा एक अर्ब व्यवभार थपिने समाचारको सार छ ।

अन्नपूर्ण पोष्ट दैनिकले सानैमा बिहेपछि छोडपत्र हुने गरेको कर्णाली प्रदेशको मुख्य खबर छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेटेको र सो भेटमा ट्रम्पले ‘के छ नेपालको खबर ?’ भनेर सोधेको समाचार पनि अन्नपूर्णले छापेको छ ।

राजधानी दैनिकले गैरन्यायिक हत्याको छानबिनमा अलमल भइरहँदा राष्ट्रिय मानवअधिकार आयोग निरीह बनेको समाचार छापेको छ । गैरन्यायिक हत्याको बारेमा भएका छानबिन प्रतिवेदन पनि आयोगले सार्वजनिक नगरेको र द्वन्द्वकालमा जस्तो सक्रिय अहिले नभएको समाचारमा उल्लेख छ ।

राजधानीमा चिनियाँ राष्ट्रपति सी जिनफिङको आसन्न नेपाल भ्रमणलाई लक्षित गर्दै उच्च सुरक्षा योजना बनाउन लागिएको समाचार पनि छ ।

कारोबार दैनिकले प्रदेश र स्थानीय सरकार केन्द्रमै निर्भर रहेको मुख्य समाचार छ । स्थानीय र प्रादेशिक सरकारले आफ्नै बजेटमा औसतमा २० प्रतिशत पनि योगदान गर्न नसकेको समाचारमा उल्लेख छ ।

नेपाल समाचारपत्र दैनिकले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चाकडी र चिनियाँ राष्ट्रपति सीको प्रशंसाबाट नेपाल माथि उठ्नुपर्ने समाचार टिप्पणी लेखेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment