Comments Add Comment

हस्पिटल जान अल्छी लाग्छ अर्जुन पोखरेललाई

काठमाडौं । अर्जुन पोखरेल संगीतकार हुन् । खासगरी फिल्मी संगीतमा उनी चम्किएका छन् । अर्जुनले नेपाली फिल्मी संगीतमा सुनिरहुँ लाग्ने गीतको थुप्रो लगाइदिएका छन् । उनका गीतको भाका टपक्कै टिप्ने खालको हुनेगर्छ । तिमी रोएको पल… , रहर छ सँगै…. जस्ता उनका अनगिन्ती गीत जनजिब्रोमा झुन्डिएको छ । युट्युबमा त उनको गीतले उधुम मच्याउने गरेको छ ।

अर्जुनले संगीत गरेका गीतले युट्युबमा करोडौं भ्युज पाएको छ । उनै अर्जुन पोखरेलले आफूलाई स्वस्थ्य राख्न के गर्छन् ? कसरी आफूलाई ‘फिट एण्ड फाइन’ राख्छन् ? भन्ने बारेमा छोटो वार्तालाप गरिएको छ ।

तपाईंले कुनै रोगबिरुद्ध औषधि खाइरहनुभएको छ ?

मैले कुनै रोगको औषधि खाएको छैन । केहीदिन अगाडि चाहिँ घाँटीमा एलर्जी भएको थियो र औषधि खाएँ । अहिले त्यो पनि छन् ।

तपाईंको स्वास्थ्य समस्या केही छ ?

स्वस्थ्यमा पनि त्यस्तो केही समस्या छैन । बिगत ८-१० वर्ष यता केही समस्या भोगेको छैन । पहिला कहिलेकाहीँ बिरामी पर्थेँ ।

अस्पताल धाउनुपर्दा कस्तो महसुस हुन्छ ?

हस्पिटल जान निकै अल्छी लाग्छ ।

आफूलाई केही रोग लागेको छ कि भनेर कति भयभीत रहनुहुन्छ ?

मलाई रोग छ कि छैन भन्ने कुरामा म निकै सचेत हुन्छु । म हरेक ६ महिनामा पूरा शरीर नै परीक्षण गराउँछु । अहिले ३ महिना पनि भएको छैन ।

नियमित स्वास्थ्य जाँच गराउनुहुन्छ ?

नियमितको कुरा त्यही हो । बिरामी भए जानु परिहाल्यो । नत्र त ६ महिनामा पुरै शरीरको परीक्षण गर्ने गरेको छु ।

रोग लागेमा उपचार गर्न कहाँ जानुहुन्छ ? नियमित चिकित्सक छन् ?

मैले चिनेका ३ जना डाक्टर हुनुहुन्छ । उहाँहरुसँग नै सल्लाह लिन्छु । मलाई सामान्य केही समस्या आए पनि उहाँहरुलाई नै सोध्ने गर्छु ।

आफूलाई स्वस्थ्य राख्न अरु के गर्नुहुन्छ ?

आफूलाई स्वस्थ्य राख्न बिहान वा बेलुका एकपटक दौडिन्छु । घरमा समय मिलेसम्म शारीरिक अभ्यास गर्छु । शरीर बनाउनभन्दा पनि स्वस्थ्य राख्न नियमित अभ्यास गर्ने गरेको छु ।

खानेकुरा खाइरहँदा स्वास्थ्यको ख्याल गर्नुहुन्छ ?

म बिहान र बेलुका घरमा नै खाना खान्छु । मैले बाहिर खाने भनेको चिया र खाजामात्र हो । त्यसमाथि चिया पनि दुध चिया कम खान्छु । अर्को कुरा, म चुरोट र रक्सी खान्न । त्यसबाट नै आधा जति त स्वस्थ भएको जस्तो लाग्छ ।

अस्पतालमा अरुको लागि कुरुवा बस्नुभएको छ ?

धेरै अस्पतालमा कुरुवाको लागि राम्रो व्यवस्था छैन । कुनै अस्पतालमा राम्रो शौचालय समेत हुन्न । केही अस्पतालहरु राम्रा पनि छन् । कुरुवा बस्दा त आफ्नो मान्छे केही न केही भएर नै बसिएको हुन्छ । त्यसैले कुरुवा बस्दा त आफूलाई पनि मनबाट चोट लागिरहेको हुन्छ नि ।

नेपालको स्वास्थ्य क्षेत्र कति सुलभ र छरितो लाग्छ ?

एउटा अस्पतालले निकालेको रिपोर्टहरु अर्को अस्पतालले मानिरहेको हुन्न । कतिपय अस्पतालले धेरै पटक प्रयास गर्दा उपचार नभएको कुरा अर्को अस्पतालले सजिलै गरेको हुन्छ । त्यसैले केही अस्पताल राम्रो लागेपनि केही लापरवाही गर्ने पनि छन् । सरकारी अस्पतालहरु राम्रो हुन सकेका छैनन् । नीजि हस्पिटलहरु पनि मंहगो हुने आरोप लागिरहेको हुन्छ ।

प्रस्तुती : दिप्सन लुइटेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment