Comments Add Comment

कोही आत्तिनु पर्दैन, साढे ३ वर्षपछि जनताले मौका दिनसक्छन् : प्रचण्ड

९ असोज, रुपन्देही । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डेढ वर्षमा चमत्कारको आश गर्नु स्वैर कल्पना मात्र हुने बताएका छन् । नयाँ संविधानअनुसार चुनाव भएर सरकार बनेको दुई वर्ष नपुग्दै धेरै नकारात्मक टिप्पणी भएको भन्दै उनले असन्तुष्टि जनाए ।

तिलोत्तमा नगरपालिकाले आयोजना गरेको लगानी सम्मेलनको बिहीबार उदघाटन गर्दै प्रचण्डले भने, ‘दुई वर्ष पनि भएको छैन । एक थरी मान्छेहरु डेढ वर्षमा धेरै चमत्कार भइसक्नुपर्थ्यो भन्या जस्तो गरी नकारात्मक टिप्पणी गर्छन् ।’

‘ढाइसय वर्षदेखि तानाशाही र निरंकुशताले जरजर बनाएको समाजमा डेढ वर्षमै चमत्कार गर्न सक्नुपर्थ्यो भनेर सोच्नु कल्पना त हुनसक्छ तर स्वैर’, उनले अघि भने ।

वर्षौंदेखि नेपाली समाज र त्यहाँको सोच र शैलीमा थुप्रिएको फोहोर फाल्न समय लाग्ने उनले बताए ।

यद्यपि कमी कमजोरीको आलोचना नै गरौं, अझ राम्रो गर्न मेहनत नगरौं भन्ने आफ्नो आग्रह नरहेको उनले बताए । प्रचण्डले भने, ‘नकारात्मक टिप्पणीले फेरि निरंकुशतालाई मद्दत नगरोस् भन्नेमा सचेत मात्र गराउन खोजेको हुँ ।’

उनले नेकपा नेतृत्वको सरकारले जनचहनाअनुसार काम गर्ने प्रयास गरिरहेको बताए । ‘सरकारले राम्रो काम गर्‍यो, विकासलाई गति दियो, अन्तर्राष्ट्रिय सम्बन्धलाई बलियो बनायो भने हामी सबैका लागि खुसीकै कुरा भयो’, प्रचण्डले भने, ‘हाम्रो पार्टीले त्यसो गर्न सकेनौं भने साढे ३ वर्षपछि जनताले अर्को पार्टीलाई मौका दिनसक्छ । त्यसकारण अहिले कोही आत्तिनु पर्दैन ।’

लोकतान्त्रिक प्रणालीअनुसार जनताले गर्ने फैसलालाई स्वीकार गर्ने उनले बताए ।

आरोपित हुने पहिलो व्यक्ति म हुन्छु

पूर्वप्रधानमन्त्री प्रचण्डले संघीय प्रणालीबारे नकारात्मक प्रचार भइरहेको भन्दै चिन्ता व्यक्त गरे । सिंहदरबारको अधिकार सजिलै गाउँमा पुगेको होइन भन्दै उनले भने, ‘यो सफल हुँदै गयो, जनतालाई विकास र समृद्धि दियो भने हामी सबै सफल भयौं । गाउँपालिका, नगरपालिका, प्रदेश या संघका जनप्रतिनिधि सबै सफल भएको अनुभूति हुन्छ । कसैलाई आरोपित गर्नु पर्दैन । तर असफल भयो भने आरोपित हुने पहिलो व्यक्ति म पर्छु कि भन्ने चिन्ता छ ।’

स्थानीय तहहरुले राम्रोसँग काम गरेन, सुशासन कायम गर्नुका साटो भ्रष्टाचारलाई बढवा दिइयो भने संघीय प्रणाली नै असफल हुन सक्ने उनले बताए ।

उनले लिलोत्तमा नगरपालिकाले लगानी सम्मेलन गरेर स्थानीय तहहरु ठीक छन् भन्ने सन्देश दिएको समेत बताए । बुद्ध जन्मस्थल लुम्बिनी, बेलहिया नाका, अन्तर्राष्ट्रिय विमानस्थल आदि पूर्वाधारले तिलोत्तमा नगरपालिकामा लगानीको वातावरण रहेको उनले बताए । नेकपा र सरकार निजी क्षेत्रको स्वतन्त्रता र सुरक्षाबाट मात्रै लगानीमैत्री वातावरण बन्छ भन्नेमा स्पष्ट रहेको उल्लेख गर्दै प्रचण्डले ढुक्क भएर लगानी गर्न लगानीकर्ताहरुलाई आग्रह समेत गरे ।

कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले लगानीको वातावरण बनाउन सम्बन्धित ऐन कानून बनाइसकेको र संसारभरका लगानीकर्तालाई आह्वान गरिसकेको बताए । श्रम सम्बन्ध सुधार र बैंक ब्याजदरमा परिमार्जनले लगानी बढेपनि जमिनको उपलब्धता र प्रकृया छरितो बनाउन भने चुनौती रहेको उनले बताए ।

उनले लगानीमैत्री वातावरण बनाउन संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय सहकार्य हुनुपर्नेमा जोड दिए । उनले बुटवल–सिद्धार्थनगर जोडेर मेघा सिटी बनाउन सकिने सम्भावना औंल्याए । निजी क्षेत्रसँग सहकार्य गर्न अर्थमन्त्रीले तिलोत्तमा नगरपालिकालाई सुझाव दिए । नगर विकास कोषलाई नगर विकास निगमका रुपमा अघि बढाउन चाहेको जानकारी पनि उनले गराए ।

कार्यक्रममा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले राजनीतिक, वित्तीय, यातायात पूर्वाधार सबै हिसाबले रुपन्देहीमा औद्योगिक–व्यावसयिक विकासको प्रचुर सम्भावना भएको बताए । उनले लगानीको वातावरण बनाउन र पूर्वाधार बनाउन प्रदेश सरकारले स्थानीय सरकारहरुलाई साथ दिने बचन समेत दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment