Comments Add Comment

जम्मु-कस्मिरबारे युएनमा सम्बोधनअघि पाकिस्तानी दूतावासले गर्‍यो छलफल

९ असोज, काठमाडौं । पाकिस्तानले पछिल्लो डेढ महिनायता जम्मु-कास्मिरको मानव अधिकार अवस्था नाजुक रहेको दाबी गरेको छ । नेपालका लागि पाकिस्तानी राजदुत डा. मजहर जाभेदले जम्मु कस्मिरमा कफ्र्यु जारी रहेको, इन्टरनेट र मोवाइल बन्द गराइएको बताए ।

काठमाडौंस्थित पाकिस्तानी दुतावासमा बिहीबार आयोजित ‘जम्मु-कस्मिरको पछिल्लो मानव अधिकारको अवस्था’ शीर्षकको कार्यक्रममा बोल्दै राजदुत जाभेदले कफ्र्युकै कारण स्थानीय श्री अमरनाथ यात्रा प्रभावित भएको समेत बताए । ५ अगस्टमा भारतीय संविधानको धारा ३७० निस्कृय पारिएपछि त्यहाँ नेताहरू र हजारौं युवाहरू गिरफ्तारीमा परेको जाभेदले उल्लेख गरे ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले राष्ट्र संघको महासभामा सम्बोधन गर्न लागेकोे अवसर पारेर पाकिस्तानी दूताबासले काठमाडौंमा कार्यक्रम गरेको हो

‘चेस बोर्ड अफ डब्ल्युटीओ : डेभलपिङ कन्ट्रिज प्रस्पेक्टिभ’ पुस्तकका लेखक समेत रहेका पाकिस्तानी राजदूत जाभेदले भने, ‘जम्मु-कास्मीर समस्याको समाधान मौनता होइन ।’

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले राष्ट्र संघको महासभामा सम्बोधन गर्न लागेकोे अवसर पारेर पाकिस्तानी दूताबासले काठमाडौंमा कार्यक्रम गरेको हो । इमरानले महासभामा २७ सेप्टेम्बरमा सम्बोधन गर्ने तालिका छ । उनले महासभामा जम्मु-कस्मिरको मुद्दा उठाउने पूर्व घोषित कार्यक्रम छ ।

दूतावासमा आयोजित कार्यक्रममा मानवअधिकारकर्मी तथा पूर्वराजदुतहरूले जम्मु-कस्मिर समस्या भारत र पाकिस्तानले वार्ताको माध्यमबाट समाधान खोज्नु पर्ने बताए । जम्मु-कस्मिरियनको मानव अधिकारबारे चासो भए पनि राजनीतिक मुद्दामा भने आफूहरू पर्न नचाहेको उनीहरूको भनाइ थियो ।

पाकिस्तानी दूतावासको कार्यक्रममा जापानका लागि पूर्वराजदूत विष्णुहरि नेपाल, एमनेस्टी इन्टरनेसनलकी प्रतिनिधि अस्मिता सापकोटा, मानवअधिकारकर्मी कपिल श्रेष्ठ, प्राध्यापक डा. सुरेन्द्र केसीलगायतले आफ्ना धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment