
९ असोज, काठमाडौं । नेपालीहरुको महान चाड दशैं संघारमै आइसक्यो । नयाँ लुगा लगाउने, मीठो खाने चाडका रुपमासमेत परिचित दशैं व्यापार-व्यवसाय गर्नेहरुका लागि सबैभन्दा ठूलो सिजन हो ।
खसी-बोकादेखि लत्ताकपडा, खाद्यान्नदेखि सवारीसाधनसम्मको विक्रीमा बहार आउने गर्छ हरेक दशैंमा । त्यसैले अरु बिदाको मुडमा हुँदा व्यापारीहरु चाहिँ झन् बढी व्यस्त हुनुपर्छ । दशैंको अघिल्लो दिनसम्म पनि उनीहरुले फुर्सद पाउँदैनन् ।
यसपाली चाहिँ कस्तो छ त दशैं बजार ? भनेर हामीले काठमाडौंका केही स्थानहरु चियायौं । व्यापारीहरुसँग कुराकानी गर्यौं । उनीहरुले यसपाली दशैंको चहलपहल अघिल्ला वर्षको जस्तो नभएको बताए । खासगरी थोकबजारमा विकेन्दि्रकरणको प्रभाव देखिएको उनीहरुको भनाइ छ ।
व्यापारीहरुका अनुसार अघिल्ला वर्ष यतिबेलासम्म बजारमा निकै भीडभाड भइसक्ने असन, इन्द्रचोक र न्यूरोडको होलसेल बजार यसपाली भने मन्द छ । पोहोरको तुलनामा चहलपहल आधी घटेको व्यवसायीहरुले बताएका छन् ।
पाँच वर्षदेखि न्युरोडमा बालबालिकाले लगाउने रेडिमेट कपडाको होलसेल व्यापार गर्दैै आएका नवराज तिमल्सीना बुटवल, धरान, बिराटनगर, नेपालगन्ज जस्ता ठूला शहरका खुद्रा व्यापारीहरु सामान लिन काठमाडौं नआएको बताउँछन् ।
‘खुद्रामा दशैं किनमेल गर्ने भन्दा पनि अहिले साना व्यवसायीले होलसेलबाट सामान लैजाने बेला हो, तर व्यवसायी आएका छैनन्,’ तिमल्सीनाले भने, ‘बढ्दो महँगीले पनि बजार सोचे जस्तो भएको छैन ।’
ठूला शहर मात्रै नभएर जिल्ला तहका व्यापारीहरु समेत सिधै चीन पुगेर आफै सामान ल्याउन थालेपछि काठमाडौंको व्यापार खस्कीएको बताउँछन् रञ्जना व्यापार संघका अध्यक्ष अन्जान शाक्य ।
‘बाहिरबाट आएर होलसेलमा सामान किन्नेहरु यति बेला काठमाडौं आउँदैनन्,’ शाक्यले भने, ‘असन, इन्द्र चोकलाई होलसेल मान्नेहरु सिधै चीन जान थाले । जिल्लाका स-साना गल्लीमै होलसेल खुले । यसको असर काठमाडौंमा देखिएको छ ।’
देश संघीयतामा गएसँगै बजार बिकेन्द्रीकृत हुनु राम्रो भए पनि यसको पूर्वानुमान गर्न नसक्दा व्यपारीहरु मारमा परेको अध्यक्ष शाक्यको भनाइ छ ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवाल पनि काठमाडौंको व्यापारमा बिकेन्द्रीकरणको प्रभाव परेको बताउँछन् । यसको कारण गत वर्षभन्दा यस वर्षको व्यपार ५० प्रतिशतले खस्कीएको उनको अनुभव छ ।
अध्यक्ष कटुवालका अनुसार काठमाडौंको व्यापार घट्नुमा तीन कारण मूख्य छन् । आयात गर्ने व्यापारीहरुको पहुँच चीनसम्म बिस्तार हुनु, घरेलु तथा साना उद्योगहरु जिल्ला तहमा बढ्दै जानु तथा फेशनमुखी युवा बिदेशिने दर बढ्नुले त्यसको असर काठमाडौंमा परेको छ ।
व्यवसायीहरुका अनुसार तत्काल बजारमा देखिएको असर चाहिँ झरी र सोह्रश्राद्धले गर्दा पनि हो । सोह्र श्राद्धमा शुभ कार्य गर्नु हुँदैन भन्ने नेपाली मान्यताका कारण मानिसले किनमेल नगरेको हुनसक्ने असनमा समला व्यवसाय गर्ने सुरज प्रजापतिको भनाइ छ ।
इन्द्रचोककी होलसेल व्यापारी मेघा तिमल्सिना सरकारी कर नीतिका कारण बजार महँगो भएको बताउँछिन् । कानून स्थीर नहुँदा ब्यापारीको लागत बढेको र वस्तुको भाउ बढेको उनको भनाइ छ ।
‘महँगी बढ्यो, आम्दानी बढेन, त्यसैले ग्राहक सपिङका लागि उत्साहित छैनन्,’ उनले भनिन्, ‘खुद्रा व्यापारीहरुले पनि पहिलेभन्दा आधा मात्र सामान लैजान्छन् ।’
न्यूरोडकै व्यापारी बैकुण्ठप्रसाद भण्डारी भने पछिल्लो तीन वर्षदेखि काठमाडौंको व्यापार खस्किन थालेको बताउँछन् ।
‘तीन वर्षदेखि बजारमा मन्दी छाएको छ,’ भण्डारीले भने । भूकम्पपछि नेपालीहरुको क्रयशक्ति खस्किएको हुन सक्ने उनले अनुमान गरे । सरकारको भन्सार नीतिका कारण सामान महँगो भएकाले पनि ग्राहकको किनमेल घटेको हुनसक्ने उनले आँकलन गरे ।
सबै तस्वीर : शंकर गिरी ।
प्रतिक्रिया 4