Comments Add Comment

गण्डकी भ्रमण वर्ष सकिन लाग्दा बल्ल प्रचारप्रसार !

९ असोज, पोखरा । सन् २०१९ लाई आन्तरिक पर्यटन भ्रमण वर्ष घोषणा गरेको गण्डकी प्रदेश सरकारको यसमा तयारी भने निकै सुस्त देखिएको छ । गत फागुन ९ गते नै आन्तरिक भ्रमण वर्षको घोषणा गरेको सरकारले त्यसको ६ महिनापछि असार १५ गते ‘भ्रमण वर्ष मूल समारोह समिति गठन’ गर्‍यो ।

प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालको नेतृत्वमा गठन भएको १ सय ५१ सदस्यीय समितिले के काम गरिरहेको छ ? स्वयं पर्यटन व्यवसायी नै अनविज्ञ छन् ।

प्रदेशले आन्तरिक पर्यटन भ्रमण वर्ष घोषणा गरे पनि प्रवद्र्धनात्मक कार्यक्रमका लागि कुनै योजना ल्याएन । प्रदेश सरकारबाट कुनै पनि सहयोग प्राप्त नभएपछि यसबीचमा निजी संस्थाहरु पश्चिमाञ्चल होटल संघ (हान), रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेबान), नेपाल टुर्स एन्ड ट्राभल्स एजेन्ट्स एसोसिएसन (नाट्टा), ट्रेकिङ एजेन्सिज् एसोसिएसन नेपाल (टान) लगायत संस्थाले आफ्नै खर्चमा देशविदेश घुमेर विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम गरिरहेका थिए ।

गण्डकी पर्यटनलाई समृद्धिको मुख्य आधार मानेको छ । त्यही अनुरुप उचित पूर्वाधार विकास र कार्यक्रम ल्याउन नसक्दा पर्यटन व्यवसायी रुष्ट छन् । उनीहरुको आरोप छ, ‘कुनै पनि योजना र कार्यक्रम ल्याउँदा पर्यटन व्यवसायीसँग छलफल, समन्वय, सहकार्य गरिँदैन । यसले भ्रमण वर्षलाई असर परिरहेको छ ।’

भ्रमण वर्ष सकिन लाग्दा बल्ल प्रचारप्रसार !

आन्तरिक पर्यटन भ्रमण वर्ष सकिन अब ३ महिनामात्रै बाँकी छ । घोषणा भएको ९ महिनासम्म कुनै पनि प्रवर्द्धनात्मक कार्यक्रम नल्याएको प्रदेशले वर्षको अन्तिममा आएर बल्ल प्रवद्र्धन अभियान थालेको छ । बिहीबार गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको अगुवाइमा ५० जनाको टोली विभिन्न प्रदेशमा गण्डकी प्रदेशको पर्यटन प्रचारप्रसारका लागि प्रस्थान गरेको छ ।

टोली कार्यक्रम लिएर बुटवल, वीरगञ्ज, विराटनगर काठमाडौंलगायत क्षेत्रमा पुगेर प्रदेशमा निम्ता गर्ने पर्यटनमन्त्री विकास लम्सालले जानकारी दिए । उनले भने, ‘यो सरकारको पहिलो कार्यक्रम हो । तर यसपटक हामी सुनको डल्लो बिक्री गर्न जाँदैछौं ।’ टोलीमा पर्यटन मन्त्री विकास लम्सालदेखि पर्यटन व्यवसायी र कलाकार प्रकाश सपुत, प्रजापति पराजुलीसमेत सहभागी छन् ।

‘गण्डकी पर्यटन प्रवद्र्धन अभियान’ नाम दिइएको उक्त कार्यक्रमलाई ३ नम्बर प्रदेशमा प्रधामन्त्री केपी शर्मा वलीले सम्बोधन गर्ने कार्यक्रम रहेको मन्त्रालयका पर्यटन महाशाखा प्रमुख कीर्तनराज पौडेलले जानकारी दिए । कार्यक्रमका लागि मन्त्रालयले ३६ लाख ४० हजार विनियोजन गरेको छ । टोली विभिन्न ४ सहरमा पुगेर १६ गते फर्किनेछ ।

प्रदेशले भ्रमण वर्ष सफल बनाउन चालु आर्थिक वर्षमा १ करोड रुपैयाँ विनियोजन गरेको छ । ‘यो कार्यक्रम सोही बजेट अन्तर्गत हो,’ महाशाखा प्रमुख पौडेलले भने । गत वर्ष मन्त्रालयले भ्रमण वर्षका लागि ५० लाख रुपैयाँ विनियोजन गरेको थियो ।

प्रवर्द्धन अभियानका सहभागीलाई बिदाइ गर्दै ३ महिनामा युद्धस्तरमा काम गरिने दाबी गरे । ‘यो काम हामीले जनवरीमै गर्नुपथ्र्यो । तर, लामो समयको क्षतिपूर्तिसहित अबको ३ महिनामा हामी युद्धस्तरमा काम गर्नुपर्नेछ,’ उनले भने । प्रदेशमा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित अभियान सुरु भएको उनले बताए ।

गण्डकी प्रदेशले आन्तरिक भ्रमण वर्षसहित २०२० लाई छिमेकी राष्ट्र आकर्षण वर्ष र २०२२ लाई अन्तर्राष्ट्रिय पर्यटन वर्षका रुपमा घोषणा गरेको छ । मुख्यमन्त्री गुरुङले छिमेकी राष्ट्र आकर्षण वर्षको प्रचारप्रसार गर्न भारत र चीन नै पुग्ने जानकारी दिए । ‘त्यहाँ पुगेर हामीले त्यहाँका लोकल च्यानलमा उनीहरुकै भाषामा प्रचारप्रसारका सामग्री प्रसारण गर्नेछौं,’ उनले भने ।

प्रदेशमा आउनेबारे पर्यटकबारे जानकारी राख्न प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षदेखि सुरु गरेको छ । स्थलमार्ग हुँदै आउने पर्यटकको तथ्यांक आँबुखैरेनी प्रहरी चेक पोस्ट, गल्याङ प्रहरी चेकपोस्टको सहयोगमा लिँदै आएको छ । हवाइ मार्गबाट आउने पर्यटकको संख्या भने पोखरा विमानस्थलले उपलब्ध गराउँदै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment