Comments Add Comment

पृथ्वी राजमार्गमा अत्यासलाग्दो जामः नागढुंगा कट्नै ८ घण्टा

९ असोज, काठमाडौं । दमौली जान काठमाडौंबाट विहान ६ बजे गाडी चढेका डोरबहादुर थापा बेलुकी चार बजे मात्रै गन्तब्यमा पुगे । कारण हो, पृथ्वीराजमार्गको अत्यासलाग्दो जाम सास्तीपूर्ण जाम । १० बजे कार्यालय भ्याउने गरी हिँडेका उनी कार्यालय समय सकिने समयमा मात्रै दमौली पुगे ।

‘यस्तो जाम मैले जिन्दगीमा कहिल्यै भोगेको थिइनँ,’ दमौलीबाट टेलिफोन सम्वादमा उनले अनलाइनखबरसँग भने ,‘यस्तो जाम हुँदा न प्रहरी प्रशासनलाई चासो छ न यातायत र सडक विभागलाई ।’

उनले जाममा एम्बुलेन्सहरु पनि फँसेको देखेको भन्दै राजमार्गमा जाम भएकै कारण होटल र पसलहरुले लुट मच्चाइरहेको गुनासो पनि गरे ।

‘जाममा परेका यात्रुलाई एक प्याकेट चाउचाउ ५० रुपैयाँमा बेचिँदैछ, एक बोत्तल पानीको ६० रुपैयाँ असुलिएको छ,’ उनले भने, ‘राजधानी छेवैको राजमार्गमा यात्रुलाई सास्ती मात्रै भोग्नु परेको छैन, लाचार र निरीह भएर ठगिनुपरेको छ ।’

दशैंको मुखमा काठमाडौंको नागढुंगा छिचोलेर गल्छी पुग्न मात्रै सवारीले ८ घण्टा लाग्न थालेको छ । सरकारले पानी पर्नु अघिसम्म हेलचक्र्याइँपूर्वक अपायक समयमा सडकमा खाल्डा टाल्ने नाममा अहिले ‘मान्द्रे’ पिच ओछ्यारहेको थियो । पानी परेपछि त्यो पनि रोकिएको छ । सडकमा ठूला–ठूला खाल्डा परेकाले मालबाहक ट्रक तथा ट्रेलरहरु नागढुंगाको ओरालोमा बल्ल–तल्ल उक्लिँदैछन् ।

महानगरीय प्रहरी प्रभाग थानकोटका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्का ३ दिन यता जाम झनै विकराल बनेको बताउँछन् ।

‘पानी परेपछि जीर्ण सडक झन कामै नलाग्ने भएको छ । उकालोमा लोड बोकेर आएको गाडी घ्यार्र–घ्यार्र गर्छ,’ उनले भने, ‘गाडी उक्लिन समय लाग्ने भएपछि त्यसको असरले दुई पट्टी नै सवारी जाम हुन्छ ।’

प्रहरीले रातदिन नभनी व्यवस्थापन गर्दा पनि जाम घटाउन नसकेको खड्का बताउँछन् । अझ उकालोका मोडमा ठूला सवारीहरु भेट हुँदा सवारीहरु रोकिनुपर्ने र त्यसको व्यवस्थापन गरेर जाम खुलाउन सकस भइरहेको छ ।

‘उकालोमा सवारी रोकिँदा त्यसलाई तान्न एटा र्‍याकर छ, आज मात्रै त्यसले ६–७ वटा गाडी तान्यो,’ उनले भने, ‘र्‍याक र मोबाइल भ्यान जसरी दौडाउनुपरेको छ । हरेक समयमा सडकमा बसेर सवारी व्यवस्थापन गर्दा पनि प्रभाव देखिएको छैन ।’

प्रहरीका अनुसार पानी पर्न नरोकिएसम्म यो जाम कायम रहने देखिन्छ । सडक विभागको खाल्डा पुर्ने काम पनि वर्षाले प्रभावित गरेको छ । प्रहरी निरीक्षक खड्काका अनुसार हाल दशैंका कारण सवारीको आवागमनमा ठूलो वृद्धि भएको छ ।

ठूला सवारीहरु मालसमान बोकेर भित्रिने क्रम पनि उच्च भएको छ । यसका कारण नागढुंगामा सवारीको व्यवस्थापन चुनौतीपूर्ण बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment