Comments Add Comment

पोखरा र गोरखाका लागि टिकट बुकिङ खुल्यो

Photo Credit : फाइल तस्वीर

१० असोज, काठमाडौं । दशैँ नजिकिएसँगै पोखरा र गोरखाको अग्रिम टिकट बुकिङ खुला भएको छ । असोज ५ गतेदेखि लामो दूरीका यात्रुका लागि टिकट बुकिङ खुला भए पनि पोखरा र गोरखाका लागि भने आजदेखि मात्र टिकट बुकिङ खुला गरिएको हो ।

बुकिङसँगै नयाँ बसपार्कमा टिकट लिनेको घुइँचो लागेको छ । सयौँ व्यक्ति एकाबिहानैदेखि पोखरा र गोरखाका विभिन्न स्थान जानका लागि टिकट लिन बसपार्क पुगेका थिए । गोरखा र पोखराका लागि नयाँ बसपार्कबाट मात्र टिकट लिने व्यवस्था गरिएको छ । दशैँको टिकट खुला भएसँगै संस्कार समाज नेपालले यात्रुलाई सुरक्षित यात्राका लागि एक हजार सवारीसाधनमा जनचेतनामूलक सामग्रीसहितको पेनड्राइभ वितरण गरेको छ ।

‘असल संस्कार सिकौँ सिकाऔँ, आफ्नो देश आफैं बनाऔँ’ भन्ने मूल लक्ष्यसहित स्थापना भएको संस्कार समाज नेपालले महानगरीय ट्राफिक प्रहरी महाशाखा र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घसँगको सहकार्यमा बिहीबारदेखि पेनड्राइभ वितरण गर्न शुरु गरेकोे हो ।

संस्कार समाज नेपालका अध्यक्ष पशुपति गुरुङ विगत वर्षमा सुरक्षित यात्राका लागि पर्चा र पम्प्लेट वितरण गरे पनि अभियानले सार्थकता नलिएकाले अहिले पेनड्राइभमार्फत जनचेतनामूलक कार्यक्रम प्रसारण गरिरहेको बताउँछन् । अहिले नयाँ बसपार्कबाट छुट्ने एक हजार सवारीसाधनलाई पेनड्राइभ वितरण गरिए पनि आगामी दिनमा देशैभर उक्त अभियान थालिने उनले जानकारी दिए ।

यातायात व्यवस्था विभाग, महानगरीय ट्राफिक प्रहरी महाशाखा र यातायात व्यवसायीको संयुक्त पहलमा नयाँ बसपार्कमा यात्रु सहायता कक्षसमेत सञ्चालनमा ल्याएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौला यात्रुको समस्या समाधानका लागि यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको बताउँछन् ।

यात्रु सहायता कक्ष स्थापनासँगै कहाँ जाने भाडा कति भन्ने स्पष्ट हुने भएकाले यात्रु ठगिनेबाट जोगिने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment