Comments Add Comment

पोखरा र पटिहानीको कनेक्टिभिटी बढाउन बस सेवा सुरु

१० असोज, चितवन । नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरी चितवनको पर्यटकीय नगरी पटिहानीबाट पोखरासम्म पर्यटकीय बस सेवा सञ्चालन गरिएको छ ।

भरतपुर महानगरपालिका वडा नं. २२ मा पर्ने पटिहानीदेखी पोखरासम्म चल्ने बस सेवाको पूर्वअर्थमन्त्री एवम् चितवन क्षेत्र नं. १ का सांसद सुरेन्द्रप्रसाद पाण्डेले उद्घाटन गरे ।

देशको तेस्रो पर्यटकीय गन्तब्यका रुपमा चितवन र दोस्रो पर्यटकीय केन्द्रका रुपमा पोखरालाई जोड्ने हिसावले बस सेवा सुरु गरिएको वडा नं. २२ का वडाध्यक्ष बिष्णुप्रसाद महतोले जानकारी दिए । पटिहानीलाई सौराहा पछिको दोस्रो पर्यटकीय गन्तब्यका रुपमा लिने गरिन्छ ।

कसरा ट्राभलले सुरु गरेको बस हरेक दिन पोखराबाट विहान ७ बजे पटिहानीका लागि छुट्ने छ भने, अर्को बस पटिहानीबाट सोही समयमा पोखराका लागि छुट्ने छ । कसरा ट्राभल्सका दुईवटा बस अहिले काठमाण्डौं पटिहानी दैनिक अप डाउन गर्छन् । बसको सिट क्षमता ३८ छ । वडा नं. २२ का वडाध्यक्ष महतोले पोखरा र पटिहानीका कनेक्टिभिटीलाई बढाउन बस सेवा सुरु गरिएको जानकारी दिए । पोखरा आउने पर्यटकहरुलाई पटिहानी ल्याउन र पटिहानीमा भएका पर्यटकलाई पोखरा लैजान तथा पर्यटकहरुको बसाईलाई लम्बाउन बस सेवा प्रभावकारी बन्ने उनले बताए ।

पटिहानीमा पब्लिक प्राइभेट पार्टनरसीपमा सानो आकारको बसपार्क सञ्चालन गर्ने तयारी पनि अघि बढेको छ । त्यसका लागि दुई बिघा जग्गाको चाजोपाँजो मिलाउने काम भएको उनले बताए । महानगरपालिका, वडा र निजी होटल व्यवसायीको संयुक्त लगानीमा सवारी साधानहरु समेत राख्न मिल्ने गरी बसपार्क बनाइने उनले जानकारी दिए । अब छिट्टै पटिहानीबाट लुम्बनी र लुम्बनीबाट पटिहानी जोड्ने गरी अर्को बस सेवा पनि सञ्चालन गर्ने योजना रहेको महताले बताए ।

पटिहानीमा बार्षिक ७० देखि ८० हजार पर्यटक आउँछन् । अघिल्लो बर्षभन्दा गत बर्ष २५ प्रतिशतले पर्यटक बढेको व्यवसायीहरुको भनाइ छ । यहाँ ८ बटा ठूलो, दुई दर्जना मझौला होटल छन् ।

महानगरले हेलिप्याड बनाउने 

भरतपुर महानगरपालिकाले पर्यटकीय केन्द्रहरु पटिहानी र मेघोलीमा दुईवटा हेलिप्याड बनाउने निर्णय गरेको छ । महानगरको नगरकार्यपालिकाको ३३ औं पूर्ण बैठकले यी दुई स्थानमा पर्यटन प्रवद्र्धन र आपतकालिन उद्धारलाई केन्द्रमा राखेर हेलिप्याड बनाउने भएको छ । वडा नः २२ पटिहानीको धनौजीमा र वडा नं. २७ र २८ मध्ये कुनै एक ठाउँमा हेलिप्याड बनाउने निर्णय भएको महानगरपालिकाले जनाएको छ ।

हेलिप्याडका लागि आधारभूत विद्यालय धनौजीको २५ कठ्ठा जग्गा लिज लिइएको छ । संस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्रालयबाट प्राप्त हुने बजेटबाट हेलिप्याड बनाउने योजना रहेको वडाध्यक्ष महतोले जानकारी दिए । त्यसका लागि आवश्यक सर्भे गर्ने टोली चाँडै नै आउने तयारी गरेको वडाध्यक्ष महतोले बताए । सोही ठाँउमा ५ करोडको लगातमा २२ सय जना अट्ने क्षमताको कर्भड हल बनाउन टेण्डर प्रकाशन गर्ने अन्तिम तयारीमा पुगेको वडाध्यक्ष महतोले जानकारी दिए ।

अम्ब्रेला स्ट्रिट निर्माणको अन्तिम चरणमा 

नेपाल भ्रमण बर्षलाई लक्षित गरी पटिहानीमा बनिरहेको ‘अम्ब्रेला स्ट्रिट विथ सनसेट भ्यू’ को काम अन्तिम चरणमा पुगेको छ । भ्रमण वर्ष २०२० को सुरुवातसँगै सञ्चालन गर्ने तयारी छ । पटिहानीलाई १०० औं पर्यटकीय गन्तब्यको सूचीमा राखेपछि सरकारले ‘अम्ब्रेला स्ट्रिट विथ सनसेट भ्यू’ बनाउन रकम विनियोजन गरेको थियो । गत बर्षबाट थालिएको काम अन्तिम चरणमा छ ।

यहाँ राप्ती नदी तर्फ ३५ मिटर लम्बाइ र १८ मिटर चौडाइका तलमाथि गरी दुई वटा खण्ड रहेका छन् । त्यसको भुँइमा पोख्रेली ढुङ्गा बिछ्याइएको छ । चितवन राष्ट्रिय निकुञ्जसँग निकै नजिकको दूरीमा रहेको यो ठाँउमा बसेर रमणीय राप्ती नदीको, नदी किनारमा विचरण गर्ने चराचुरुङी र बन्यजन्तु र सूर्यास्तको दृश्यावलोकन गर्न सकिन्छ । यही नै थारु समुदायको संस्कृतिसँग रमाउनका लागि ‘स्ट्रिट’ निर्माण गरिएको छ ।

सो स्थानमा छातामुनि बसेर विभिन्न स्थानीय परिकारमा पर्यटक रमाउन पाउँछन् । यससँगै बाटोसँग जोडिएको ९० मिटर लामो र १२ मिटर चौडाइ रहेको ठाउँमा कंक्रिटको टायल बिछ्याइएको छ । सो ठाउँमा ३४० वटा छाता र त्यसमुनि कुर्ची टेबुल राख्ने योजना छ । त्यसमाथि फाइबरको छाना रहनेछ ।सबै काम सम्पन्न गर्न रू चार करोड ५० लाख खर्च हुने अनुमान गरिएको वडाध्यक्ष महतोले बताए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रू एक करोड निकासा गरिसकेको छ । थप रकमको आश्वासनसमेत आएको छ । अपुग रकम महानगरपालिका र वडा कार्यालयले जुटाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment