Comments Add Comment

प्रधानमन्त्रीले सार्वजनिक गरे खम्बूको ‘छायाँको लस्कर’

१० असोज, काठमाडौं । प्राध्यापक केआर खम्बूको जीवनकथा ‘छायाँको लस्कर’  प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार सार्वजनिक गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा पुस्तक सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले खम्बूको पुस्तकले आफूलाई विगतका संघर्षशील दिनहरू सम्झना गराएको उल्लेख गरे ।

‘यो पुस्तकले मलाई आफ्नो विगतको सम्झना गरायो,’ प्रधानमन्त्रीले अघि भने, ‘यो पुस्तकको नाम छायाँको लस्कर छ । यहाँ अनुहारहरूको कुरा छैन छायाँको कुरा छ: किनभने खम्बूजीको स्मृतिमा अहिले अनुहारहरू होइनन् छायाँहरू छन् र उहाँले तपाईं हामी कसैलाई पनि वा खुद उनकी जीवनसाथी शुभलक्ष्मीलाई पनि छायाँको रुपमा मात्र महसुस गर्न सक्नु हुन्छ ।’

प्राध्यापक खम्बू झापाको वामपन्थी आन्दोलनदेखि नै राजनीतिमा क्रियाशील व्यक्ति हुन् । उनले झापा आन्दोलनताका प्रधानमन्त्री केपी ओलीलगायतका नेताहरूसँग निकट रहेर काम गरेका थिए । पछिल्लो चरणमा भने उनी प्राज्ञिक क्षेत्रमा क्रियाशील छन् । प्राध्यापक खम्बूको नेत्र-ज्योति गुमेको छ ।

कार्यक्रमा पुस्तक छायाँको लस्कर र लेखकका बारेमा प्राध्यापक जङ्गब चौहानले परिचयात्मक टिप्पणी गरेका थिए ।

‘छायाँको लस्करमा लेखकले उनले भोगेको समय र राजनैतिक परिघटनालाई समेटेका छन् । ‘यो एउटा राजनैतिक दस्तावेज त हो नै । तर, यो एउटा उत्कृष्ट साहित्यिक कृति पनि हो,’ प्राध्यापक जङ्गबले भने ।

लेखकको जीवनका भोगाइको वरपर घुमेको र यसका मूल पात्रहरू त्यसबेलाका माले, एमालेका नेताहरू छन् । तर पनि खम्बूको सरल अनि रसिलो भाषाले पुस्तक पढ्दा साहित्यिक कृतिको आनन्द आउँछ ।

प्राध्यापक खम्बूले प्रधानमन्त्रीबाट आफ्नो पुस्तक सार्वजनिक गराउन पाएकोमा आफू प्रफुल्ल भएको बताए ।

नेपालय पब्लिकेशन्सले प्रकाशन गरेको ‘छायाँको लस्कर’ ३७० पृष्ठमा समेटिएको छ । पुस्तकको मूल्य ५४५ रुपैँया रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment