Comments Add Comment

प्रदेश सांसद भन्छन्– कायापलट हुन्छ भन्ने सोचेको थिएँ ….

‘दुई तिहाइले पेलेका छन्, कहाँ गएर ठक्कर खान्छन्’

१० असोज, काठमाडौं । ०७४ मंसिरमा पहिलो पटक प्रदेशसभाको निर्वाचनपछि देशका सात प्रदेशमा सात संसद र सातवटा सरकार बने । पहिलो अभ्यासमा भएकाले प्रदेश संसद र सरकार काम सिक्दै गरेको अवस्थामा छन् ।

सुरुमा प्रदेशसभामा निर्वाचितहरुको जोस जाँगर बेग्लै थियो, धेरै काम गर्न सक्ने अपेक्षा थिए । यस्तै जोस जाँगर र अपेक्षा राख्नेमध्ये थिए गोरखा क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभामा निर्वाचित प्रकाशचन्द्र दवाडी । झण्डै दुई वर्षको प्रदेशसभाको अनुभवपछि उनी आफूले सोचेजस्तो नभएको टिप्पणी गर्छन् । ‘जे सोचेको थिएँ, त्यो अनुभूति भएको छैन’ दवाडी भन्छन्, ‘ यो ठाउँमा पुगेपछि कायापलट नै हुन्छ होला भन्ने धारणा थियो, त्यो भएन ।’

प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सांसद दवाडीलाई प्रदेश संसद र सरकारले गरेको काम चित्त बुझेको छैन । ‘हामीले (सरकारलाई) सहयोग नै गरिरहेका छौं, तर सहयोग गरेको अनुभूति पनि भइरहेको छैन, उग्रै हुनुपर्ने द्वन्द्वै गर्नुपर्ने देखियो ।’

प्रदेश सरकारहरु केन्द्र सरकारले अधिकार नदिँदा काम गर्न नसकेको बताउँछन् । प्रदेशले अधिकार नपाएको विषयमा सबैभन्दा चर्को स्वर गर्नेमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा नै छन् । तर प्रतिपक्षका यी सांसद भने प्रदेश सरकारले गर्न सक्ने जति काम पनि नगरेको जिकिर गर्छन् । ‘सानातिना योजना अगाडि बढेका छन्, सबै अपूरा छन् । जे सुरु भएको छ, त्यो लम्ब्याएर राखिएको छ, पूरा भएका छैनन् ।’

संरचना नै नयाँ भएको र केन्द्र सरकारले धेरै अधिकार नदिएकाले प्रदेश संसद र सरकारलाई काम गर्न केही कठिन भए पनि सरकारमा पनि इच्छाशक्ति नदेखिएको सांसद दवाडीको बुझाइ छ ।

‘काम गर्न अप्ठेरो भएको कुनै कुनै होला । धेरै काम गर्न अप्ठेरो छैन, ३२/३३ अर्ब बजेट प्रदेश सरकारसँगै छ । त्यो मात्रै कार्यान्वयन गरे विकास अगाडि जान्छ’ उनी भन्छन् ।

केन्द्रको हस्तक्षेप

प्रदेश सरकार र प्रदेशसभाले अहिले पनि राम्रोसँग काम गर्न नपाएको दवाडीको बुझाइ छ । अहिले पनि प्रदेश सरकारलाई केन्द्र सरकारले लगाम लगाइरहेको उनले बताए । ‘प्रदेशलाई र स्थानीय तहलाई जति अधिकार दिनुपर्ने हो, अझै फुकाएको छैन । जे पाउनुपर्ने हो जनताले त्यो पाएको अनुभूति भएको छैन ।’

कानुन बनाउन पनि केन्द्रको हस्तक्षेप भएको दवाडीको बुझाइ छ । ‘कानुन नबना भनेर माथिबाटै निर्देशन हुन्छ, बनाए पनि (केन्द्रको) सहमतिमा बनाइन्छ’, उनले भने ‘हामीले आवाज उठाउँछौं, दुई तिहाइले पेलेका छन्, कहाँ पुगेर ठक्कर खान्छन् ।’

सरकारले सबै गाउँ जोड्ने सडक कालोपत्रे गरिदेओस् भन्ने उनको चाहना छ । उनको विचारमा गाउँमा पिच सडक पुग्यो भने त्यसले स्वास्थ्यलाई पनि जोड्छ, गाउँमा एम्बुलेन्स पुग्छ, जनताले उपचार नपाएर मर्नुपर्दैन, शिक्षकहरु गाउँमा बस्छन् ।

नेता, ठेकदार र कर्मचारीले बिगारे

सांसद दवाडी विकास हुन नसक्नुमा नेता, ठेकदार र कर्मचारीको सेटिङ मुख्य जिम्मेवार रहेको बताउँछन् । ‘मजस्तै एउटा मान्छे (नेता), निर्माण ब्यवसायी र कर्मचारी, यो तीन तहले विकासको गति बिगारेको छ’ उनले भने ‘समृद्धि र विकास नहुनुमा यो तीनवटाको क्राइम ५० प्रतिशत भन्दा माथि छ ।’

नेता, ठेकदार र कर्मचारीको सेटिङ तोड्नुपर्ने उनको बुझाइ छ । ‘यो तीन मान्छेलाई चिराफार गरिदियो भने ५ वर्षमा कायापलट हुन्छ’ दवाडी भन्छन् ।

केही वर्षअघिमात्रै पार्टी राजनीति सुरु गरेका सांसद दवाडी ब्यापारिक पृष्ठभूमिका नेता हुन् । जापानमा लामो समय व्यवसाय गरेका उनको हाल जापान र नेपाल दुबैतिर व्यवसाय छ । उनी आफूलाई विजनेसम्यान बढी, राजनीतिकर्मी कम मान्छन् । राजनीतिलाई पेशा बनाएका नेताहरुका कारण राजनीति बिग्रिएको दवाडीको बुझाइ छ । ‘देश बिगार्ने र सपार्ने पनि पोलिटिक्स हो’ उनले भने ‘जसले पेसा यही (राजनीति) हो भन्छ, उसले अपराध गर्छ । केही न केही ब्याकसाइडमा भएन भने कसरी धान्न सक्छ ?

राजनीतिमात्र गर्नेमा आफू पुरानो र लामो समयदेखि काम गरेको दम्भ हुने भन्दै त्यो ठीक नभएको बताए । ‘उहाँहरुलाई सम्मान दिनुपर्छ, किनभने जिन्दगी त्यसमै गएको छ, तर उहाँहरुलाई सुध्रिन आग्रह छ । पेशा बनाएर राजनीति गर्नुहुन्न भन्ने मेरो प्रतिवद्धता छ ।’

मेरो तलबले उद्योग खोल्न पुग्दैन

सांसद निर्वाचित हुनुअघि उनी गोरखामा सामाजिक काममा आर्थिक सहयोग गर्नेमा चिनिएका थिए । गोरखाको क्षेत्र नम्बर दुई मा उनले धेरै सडक, विद्यालय, महिला समूह, युवा क्लबलाई आर्थिक सहयोग गरेका छन् । आलोचकहरु उनलाई पैसाकै बलले चुनाव जितेको भन्ने आरोप पनि लगाउँछन् । उनी भने आफू निरन्तर जनताको बीचमा रहेर सुख दुखमा साथ दिइरहेको बताउँछन् ।

सांसद दवाडीले निर्वाचित हुनेबित्तिकै सांसद भएवापत पाउने तलब भत्ता आफ्नो घर परिवारले प्रयोग नै नगर्ने प्रतिवद्धता जनाएका थिए । त्यसै अनुसार अहिले आफ्नो निर्वाचन क्षेत्रका वासिन्दालाई गाह्रो साह्रो पर्दा रकम दिने गरेका छन् । ‘पहिलो प्राथमिकता स्वास्थ्यलाई दिएको छु । मान्छे बचेन भने केही हुनेवाला छैन’ उनले भने ‘गाउँबाट उपचार गर्न आउने खर्च दिने, एम्बुलेन्सको पैसा तिरिदिने, ठूला रोग लागेकालाई रकम दिएर सहयोग अभियान सुरु गर्ने काम गरिरहेको छु ।’

कृषि मोटरबाटो, गाउँमा महिला समूह, आमा समूहको सिर्जनशील काममा आफ्नो तलबको रकम दिएको उनको भनाइ छ । ‘गाउँमा खेतबाट घरसम्म धान लैजाने मोटरबाटो बनाउन प्रदेशले २०/० हजार बजेट दिँदैन, त्यो मैले गरिदिन्छु ।’

धेरैले सांसदले आफ्नो तलब भत्ता मसिना काममा बाँडेर सकेको भनेर टिप्पणी गरेको पनि उनले सुनेका छन् । तर आफ्नो तलबको रकमले ठूलो काम गर्न नसक्ने उनको भनाइ छ । ‘उद्योग खोलिदिए हुन्थ्यो भन्ने पनि आउन सक्छ । त्यति पैसाले उद्योग खालेरेर उद्योग चल्दैन’ उनले भने ‘मैले सर्भाइभ हुने कुरा मात्र गर्न सक्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment