Comments Add Comment

माइक्रोबायोलोजी : अवसर र चुनौती

माइक्रोबायोलोजी अर्थात् सूक्ष्मजीव विज्ञान यस्तो एउटा विषय हो, जसमा सूक्ष्म जीवाणुहरुको अध्ययन समेटिएको हुन्छ । नाङ्गो आँखाले देख्न नसकिने सूक्ष्म जीवहरुलाई सूक्ष्मदर्शकयन्त्रको प्रयोगले मात्र देख्न अनि अध्ययन गर्न सकिन्छ ।

सूक्ष्मजीवहरु विभिन्न प्रकारका हुन्छन् यी हुन्– ब्याक्टेरिया, भाइरस, फन्गी, पारासाइट्स आदि ।

प्रत्यक्ष वा अप्रत्यक्षरुपमा यस्ता सूक्ष्मजीवहरुले मानव, जनावर, वनस्पति, चराचुरुङ्गी, किराफट्याङ्ग्ररा लगायत सम्पूर्ण वातावरणमा नै एक किसिमको जैविक चक्रमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका हुन्छन् ।

सूक्ष्मजीव विज्ञान विषय आफैंमा एकखालको गहन विषय हो, जसले विभिन्न विधाहरु समेटेको छ ।

अहिलेको सन्दर्भमा विभिन्न विषयहरुमा जस्तै नर्सिङ् , पशु विज्ञान, कृषि, ल्याब टेक्निसियन, हेल्थ, चिकित्साशास्त्र, दन्त चिकित्सा शास्त्र, फार्मेसी, जनस्वास्थ्य लगायतमा माइक्रोबायोलोजी कोर्ष अनिवार्य रुपमा अध्ययन/अध्यापन गर्नु/गराउनुपर्ने प्रावधान छ ।

माइक्रोबायोलोजीको महत्व

विश्वभरि माइक्रोबायोलोजी विषयको महत्व कति छ भन्ने कुरा सुन्दा अचम्मै मान्नुपर्ने अवस्था रहेको छ । अति विकसित राष्ट्रहरु, जस्तै– अमेरिका, चीन, जापान, क्यानडा, नर्वे, लण्डन, कोरियालगायत अन्य राष्ट्रमा यस विषयमा स्नातकोत्तर र विद्यावारिधि हासिल गर्नका लागि कडा प्रतिस्पर्धा रहेको छ ।

ठूलै संख्यामा विदेशी भूमिमा नेपाली माइक्रोबायोलोजिष्टहरुले खोज र अनुसन्धानका आधारमा नेपाललाई विश्वसामु चिनाउन सफल भएका छन् ।

अर्काे एउटा रोचक प्रसङ्ग के छ भने विकसित राष्ट्रहरुमा माइक्रोबायोलोजिष्ट/अनुसन्धानकर्ताहरुको प्रतिवर्ष कम्तिमा ३० हजारदेखि ७० हजार डलरसम्म राम्रो कमाइ रहेको पाइन्छ ।

नेपालमा माइक्रोबायोलोजीको आवश्यकता र महत्व

नेपालमा माइक्रोबायोलोजी विषयका विभिन्न अवसर तथा क्षेत्रहरु यस प्रकार रहेका छन् ः

  • खाद्य संस्थानमा खाद्य वस्तुहरुको गुणस्तर मापन तथा निरीक्षण गर्ने ।
  • खानेपानी संस्थानमा पानीको गुणस्तर मापन तथा निरीक्षण गर्ने ।
  • औषधी कम्पनीहरुमा औषधीको गुणस्तर मापन तथा निरीक्षण गर्ने ।
  • पेय पदार्थ, जस्तै– कोकाकोला, फेन्टा, वियर तथा वाइनको उत्पादन र गुणस्तर मापन एवं निरीक्षण गर्ने ।
  • मासुजन्य उपभोग्य वस्तुहरुको गुणस्तर मापन तथा निरीक्षण गर्ने ।
  • अस्पताल तथा ल्याबहरुमा खकार, रगत, पिसाब, दिसा, घाउहरुको नमुना परीक्षण गरी चिकित्सकलाई रिर्पोट पेश गर्ने ।
  • तरकारी तथा फलफुलहरुमा विषादी एवं गुणस्तर मापन तथा निरीक्षण गर्ने ।
  • च्याउ खेतीको उत्पादन एवं गुणस्तर मापन तथा निरीक्षण गर्ने ।
  • अपराध अनुसन्धानका लागि कपाल, नङ्, कपडा, रगत, हतियार लगायतबाट डीएनएको नमूना परीक्षण गर्ने ।
  • डेरी उद्योगहरुमा दूध तथा दूधजन्य पदार्थको गुणस्तर मापन तथा निरीक्षण गर्ने ।
  • माइक्रोबायोलोजी विषय पठनपाठन हुने विद्यालय, क्याम्पस तथा आङ्गिक क्याम्पस, विश्वविद्यालयमा अध्यापन गराउने ।
  • ग्रामीण भेगमा पाइने औषधि उपयोगी जडिबुटि र लोपोन्मुख वनस्पतिको गुणस्तर मापन तथा निरीक्षण गर्ने ।
  • अस्पताल तथा ल्याबहरुमा अनुसन्धान सहायक अफिसरका रुपमा विभिन्न विषयमा अनुसन्धान गर्ने ।

अहिले नेपालमा प्लाष्टिकका चामललगायत अन्य नक्कली खाद्यवस्तुहरु बजारमा बिगबिगी छन्, जसका कारण जनमानसको स्वास्थ्यमा ठूलै क्षति हुने निश्चित देखिन्छ ।

छिमेकी राष्ट्र भारतबाट भित्रिएका अति नै लोभलाग्दा र रहरलाग्दा फलफूल तथा तरकारीहरुमा हानिकारक एवं प्राणघातक विषादीहरुको प्रयोग भएको त सबैलाई अवगत नै छ । त्यसैगरी बजारमा पाइने मासुजन्य उपभोग्य वस्तुहरु कुनै मापदण्डविना नै खुलारुपमा झिंगा भन्किएका, बासी अवस्थामा बिक्रिवितरण गर्दा मानिसहरुमा ठूलै रोग निम्तिने खतरा देखिन्छ ।

डेरी उद्योगहरुबाट उत्पादित दूध र दूधजन्य खाद्यवस्तुहरुमा अखाद्य केमिकलको मिसावट गरी विक्रीवितरण गरेको पाइन्छ । कतिपय खानेपानी संस्थानबाट वितरण गरिएको पानीमा दिसा मिसिएको र कोलिफर्म जीवाणु पाइएको खबर पनि धेरै सुनिएको छ । कतिपय औषधी पसलहरुमा म्याद गुज्रिएका गुणस्तरहीन औषधीको विक्रीवितरण गरिएको पनि पाइएको छ ।

यातायातको पहुँच नहुने नेपालका ग्रामीण भेगका मानिसले साधारण बिरामी पर्दा पनि अकालमै ज्यान गुमाउन बाध्य छन् । विभिन्न स्रोतका अनुसार यस वर्ष वर्षाको आगमन सगै, एडिस एजेप्टाई प्रजातिको लामखुट्टेको टोकाइबाट धरानमा एकजनाको डेंगु रोगबाट मृत्यु भएको पुष्टि भइसकेको छ । डेंगु रोगको प्रकोप अहिले सुनसरी, मोरङ, झापा, मकवानपुर र चितवनमा एकदम बढ्दो क्रममा रहेको छ ।

वीपी कोइराला स्वास्थ्य संस्थानका अनुसार यस वर्ष धरानमा १५ सयभन्दा बढी मानिसहरु डेंगुबाट ग्रसित छन् र यो क्रम बढ्दो छ । गत हप्ता मात्रै पोखरामा पनि २१ जनामा डेंगु रोग देखापरेको अवस्था छ । अगस्टदेखि नोभेम्बरसम्म डेंगु रोगको अति नै खतरा रहेको र माहामारी रुप लिने आशंका रहेकाले यसप्रति सरोकारवालाहरुको बेलैमा ध्यान पुर्‍याउनु जरुरी छ ।

त्यस्तैगरी स्क्रब टाइफस रोग मानिसहरुमा ओरेन्सिया सुसुगामुसी नामक ब्याक्टेरियाबाट लाग्ने गर्दछ । मुख्यतः झाडीहरुमा पाउने मुसाहरुले बोकेको कृना, जुम्रा, चिगर माइट्स र फ्लिइस जस्ता परजीवीको टोकाईबाट यो रोग मानिसहरुमा लाग्ने गर्दछ । हालै मात्रै तराईका विभिन्न स्थानहरुमा फैलिएको स्क्रब टाईफस रोगको मृत्युदर धेरै रहेको र डेंगु भन्दा धेरै खतरनाक रहेको स्रोतका अनुसार उल्लेख छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय चितवन का अनुसार १०९ शंकास्पद बिरामीहरुबाट ३७ जनामा यो रोग लागेको पुष्टि भइसकेको छ । स्रोतका अनुसार चितवन, नवलपरासी, स्याङ्जा र गोर्खा लगायतका जिल्लाहरुबाट यो रोगको पुष्टि भइसकेको र अन्य हुन बाँकी रहेको अवस्था छ । यस्तो अवस्थामा सरकारले दक्ष माइक्रोबायोलोजीष्टहरुलाई परिचालन गर्न सके केही हदसम्म डेंगु रोगको निवारण गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सकिन्छ ।

कुनै पनि रोग पत्ता लगाउनुपूर्व रोगको पहिचान हुन जरुरी छ, जुन माइक्रोबाइलोजिकल ल्याब टेस्टबाट मात्र सम्भव हुन्छ । विरामीको नमूना परीक्षण गरेपश्चात् मात्रै रोग लागेको वा नलागेको पुष्टि हुने हुँदा माइक्रोबायोलोजीको महत्व बुझ्न अपरिहार्य छ ।

नेपालमा माइक्रो बायोलोजिष्टका सङ्घर्ष

नेपालभर हालसम्म माइक्रोबायोलोजी विषयमा २० हजारभन्दा बढीले स्नातक तह र ३ हजारभन्दा बढीले स्नातकोत्तर डिग्री उत्तीर्ण गरिसकेका छन् । त्रिभुवन विश्वविद्यालय, केन्द्रीय विभाग, सूक्ष्मजीवविज्ञानका अनुसार हालसम्म ६ सय विद्यार्थीले माइक्रोबायोलोजी विषयमा स्नातकोत्तर डिग्री र ५ जनाले विद्यावारिधि उत्तीर्ण गरिसकेका छन् ।

प्रत्येक वर्ष जम्मा ३० जना विद्यार्थीले सेमेष्टर प्रणाली अनुसार यस विषयमा पढ्न पाउने प्रावधान रहेको छ । तर, विडम्बना, नेपालमा यतिका धेरै अवसरहरु समेटेको माइक्रोबायोलोजी विषयको महत्वपूर्ण भूमिकालाई माफिया तथा ठूलो पदमा रहेकाहरुबाट नै किन ओझेल पार्न खोजिएको छ, यसबारे सबैले बुझ्न आवश्यक छ ।

सेमेष्टर प्रणालीमा अध्ययन गर्नु सजिलो कुरा होइन । कडा प्रतिस्पर्धा, दैनिक अभ्यास, सेमेष्टर परीक्षा, प्रयोगात्मक परीक्षा, प्रोजेक्ट वर्क लगायत अन्य कार्यहरुबाट विद्यार्थीले आफूले आफूलाई तिखार्दै, अप्ठ्यारा परिस्थिति छिचोल्दै अगाडि बढेर राम्रो ग्रेड ल्याउन सफल त हुन्छन्, तर उनीहरुको मेहनत, लगानी, सिप र हासिल गरेको ज्ञानको कुनै पनि महत्व रहेको छैन ।

यसरी नेपालमा प्रत्येक वर्ष दक्ष माइक्रोबायोलोजिष्टहरु धेरै सङ्ख्यामा उत्पादन भएता पनि उनीहरुले आर्जन गरेको ज्ञानको मूल्याङ्कन तथा रोजगारीको सुनिश्चित नहुँदा भविश्य अन्धकार एवम् अन्योल रहने देखिन्छ ।

देशमा धेरै अस्पताल, ल्याब, उद्योग, क्याम्पसहरु नभएका त पक्कै होइनन् । तर, किन लामो समयदेखि नै एउटा सानो लाइसेन्सको प्रसङ्गले सम्पूर्ण माइक्रोबायोलोजिष्टहरुलाई काम गर्नबाट बन्देज लगाइएको छ, यसमा अचम्म मान्नुपर्छ ।

छिमेकी मुलुक भारतबाट वा अन्य कतैबाट ल्याब वा माइक्रोबायोलोजीमा डिग्री गरेकालाई भने नेपाल स्वास्थ्य व्यवसायी परिषदले लुकीलुकी लाइसेन्स स्वीकृत गरेका धेरै उदाहरण छन् । आखिर त्रिभुवन विश्वविद्यालयबाट डिग्री हासिल गरेकाहरुलाई लाइसेन्स दिन किन यस्तो भेदभाव ?

आज हजारौं संख्यामा माइक्रोबायोलोजिष्टहरु बेरोजगार बस्नुपरेको र आफ्नो भविश्यमाथि खेलवाड भएको टुलुटुलु हेर्नुपरेको तीतो अनुभव छँदैछ । अस्पतालहरुका ल्याबमा ६ महिने इन्टर्नसीप गरेर सम्पूर्ण ज्ञान हासिल गरेता पनि उनीहरुको दक्षतामाथि बारम्बार औंला उठाइएको छ ।

सरकारलाई सुझाव

नेपालमा ज्ञान हासिल गरी विदेशी भूमिमा आज नेपाली माइक्रोबायोलोजिष्टहरुले धेरै अनुसन्धानमुखी भएर गहन विषयमा खोज र अनुसन्धानले विश्वलाई हल्लाउन सफल भएका छन् । यसबारे सरकारले गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ ।

‘विदेशमा सम्भव हुने तर नेपालमा चाहिँ असम्भव आखिर किन ?’ अलिकति पृष्ठभूमि मात्रै पाए आफ्नो दक्षता, सीप एवं ज्ञानले नेपालमा माइक्रोबायोलोजीष्टहरुले के के गर्न सक्छन् भन्ने कुरा कसैले अनुमान पनि लगाउने नसक्ने अवस्था छ ।

नेपाली माइक्रोबायोलोजिष्टहरु विभिन्न सरुवा रोग निवारण, क्यान्सर सेल, टिस्यु कल्चर, अंग प्रत्यारोपण, भ्याक्सिन, एन्टीबायोटिज लगायत अन्य गहन विषयमा अनुसन्धानका साथ लागिपरेका छन् ।

कुन समयमा कस्ताखालका बिरामीलाई कुन एन्टीबायोटिक दिने र शरीरको कुन भागमा कस्ता एन्टीबायोटिज प्रयोग गर्ने भन्ने सम्पूर्ण ज्ञान माइक्रोबायोलोजिष्टहरुबाट मात्रै सम्भव हुने हुँदा हरेक अस्पताल तथा ल्याबहरुमा सरकारले अनिवार्यरुपमा एकजना माइक्रोबायोलोजिष्ट शिघ्र नियुक्त गर्नुपर्छ ।

नेपाल  स्वास्थ्य व्यवसायी परिषदले पनि अब ढिला नगरिकन माइक्रोबायोलोजिष्टहरुको आफ्नो हकका साथ पाउने लाइसेन्स सजिलै उपलब्ध गराउनुपर्ने छ । नत्रभने समस्या झन् जटिल बन्दै जाने देखिन्छ । विभिन्न स्वास्थ्यक्षेत्र जस्तै– एचए, अनमी, ल्याब टेक्निसियन, बीएमएलटी, बीपीएच तथा अन्य लगायतमा कार्यरत स्वास्थ्य कर्मचारीले जस्तै माइक्रोबायोलोजिष्टहरुले पनि लोकसेवा आयोगमा खुला प्रतिस्पर्धाका साथ लड्न पाउने व्यवस्था सरकारले यथाशीघ्र गर्नुपर्ने छ ।

माइक्रोबायोलोजिष्टहरुलाई लक्षित गरेर सरकारीस्तरमै लोकसेवाको दरबन्दी सिर्जना गर्नुपर्छ, जसका कारण स्वदेशमै बसेर ठूलै उपलब्धिमूलक काम हात पार्न सकिन्छ । जन स्वास्थ्यमा ठूलै असर नपरोस् भन्ने अवधारणाले बजारमा विक्रीवितरण भएका कृत्रिम, रसायनयुक्त, हानिकारक एवं अखाद्य वस्तुको मिसावटलाई माइक्रोबायोलोजिष्टको पहलमा केही हदसम्म न्यूनीकरण गर्न सकिन्छ कि ?

अन्तिममा, हजारौं अध्ययनरत विद्यार्थी एवं माइक्रोबायोलोजिष्टहरुको भविष्यप्रति खेलवाड रोक्न र आफ्नो क्षमताअनुरुपको रोजगारी पाउनुपर्ने प्रावधान सरकारले सिर्जना गर्नुपर्नेछ ।

अध्ययन वा रोजगारीका लागि दक्ष युवा जनशक्ति विदेश पलायन हुँदा देशलाई ठूलै नकारात्मक असर पर्ने देखिन्छ, खास गरी आर्थिक एवं स्वास्थ्य क्षेत्रमा । यसरी सरकारले यस्ता युवा जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्नुपर्ने र आन्तरिक दरवन्दी सिर्जना गरेर माइक्रोबायोलोजिष्टहरुलाई अब ढिला नगरिकन काम गर्ने वातावरण बनाउन सकरात्मक भएर सोच्नुपर्ने बेला आएको छ ।

आगामी दिनहरुमा माइक्रोबायोलोजिष्टहरुको ज्ञान, सीप, क्षमता एवं दक्षतामाथि कुनै किसिमको विभेद र आशंका नहोस् । सम्पूर्ण माइक्रोबायोलोजिष्टहरुको एउटै आवाज छ – आजको आवश्यकता रोजगारीमूलक शिक्षाको प्राथमिकता ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment