Comments Add Comment

प्रदेश ३ को लक्ष्य – ५ वर्षमा साढे ११ प्रतिशत आर्थिक वृद्धिदर

१० असोज, हेटौंडा । पाँच वर्षमा आर्थिक वृद्धिदर ११.५ प्रतिशत पुर्‍याउने लक्ष्यसहित प्रदेश ३ सरकारले आवधिक योजना सार्वजनिक गरेको छ ।

शुक्रबार मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारको २०७६/०७७ देखि २०८०/०८१ सम्मको आवधिक योजना सार्वजनिक गर्दै आर्थिक वृद्धिको महत्च्वाकांक्षी लक्ष्य प्रस्तुत गरेका हुन् ।

प्रदेश विकास परिषद्को पहिलो बैठकमा मुख्यमन्त्री पौडेलले प्रस्तुत गरेको प्रतिवेदनमा कृषि क्षेत्रको औसत वृद्धिदर ५.५ प्रतिशत, गैरकृषि क्षेत्रको वृद्धिदर ११.७ प्रतिशत पुर्‍याउने लक्ष्य राखिएको छ ।

लक्ष्य पूरा गर्न ५ वर्षमा ३२ खर्ब, ३८ अर्र्ब लगानी आवश्यक पर्ने मुख्यमन्त्री पौडेलले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ । उक्त लगानीमध्ये सरकारी क्षेत्रबाट २९ प्रतिशत, निजी क्षेत्रबाट ६२ प्रतिशत र सहकारी क्षेत्रबाट ९ प्रतिशत गर्ने लक्ष्य राखिएको छ ।

लक्ष्य पूरा भए प्रदेश ३ को प्रतिव्यक्ति ग्राहयस्थ उत्पादन ४ लाख ५ हजार पुग्ने प्रतिवेदनमा उल्लेख छ ।

कार्यक्रममा मुख्यमन्त्री पौडेलले सधैं सरकारलाई गाली गर्ने संस्कारबाट मुक्त हुनुपर्ने बताए । सधैंभरि नकरात्मक कुरा मात्रै गरेर सामाजिक र आर्थिक विकास नहुने भन्दै उनले प्रदेश सरकारले परिणाम नआउने काममा कहिल्यै हात नहाल्ने जिकिर गरे ।

प्रदेश सरकारले निजी क्षेत्रलाई पाखा लगाएर अघि नबढ्ने उनले प्रतिवद्धता जनाए । प्रदेश सरकारले कृषिलाई पहिलो प्राथमिकता दिएको भन्दै अब गाउँघरमो कृषि स्वयंसेवक खटाउने तयारी गरेको बताए ।

मुख्यमन्त्री पौडेलले निजी क्षेत्रसँगको सहकार्यमा निर्माण कम्पनी र यातायात निगम सञ्चालन गर्ने पनि बताए । निर्माण व्यवसायीमार्फत काम गर्दा विकासको गति कमजोर भएको भन्दै मुख्यमन्त्री डोरमणि पौडेलले सरकारले सञ्चालन गर्ने गरी निर्माण कम्पनी र सहज रुपमा यातायात सञ्चालनका लागि निगम स्थापना गर्ने तयारी भएको बताए ।

‘ठेक्का लिएकाले काम नगर्दा विकासको काम शून्यमा छ’ उनले भने, ‘यसरी नै काम गरे बिकासको गति शून्यतामै रहन्छ, सरकारले निर्माणको काम अब आफैं सञ्चालन गर्ने गरी कम्पनी खडा गर्नेछ ।’

कार्यक्रममा प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले परिणाममुखी काममा ध्यान दिनुपर्ने बताए । उनले भने ‘गफ गरेर मात्र बस्ने समय छैन अब बिकासको गतिलाई समात्न जरुरी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment