Comments Add Comment

एक वर्ष कुखुरासँग लुटपुटियौं, अब चिलको उडान भर्छौं : प्रचण्ड

१० असोज, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी निर्माणमा ठूलो फड्को मार्ने बेला आएको बताएका छन् । झण्डै एक वर्ष कुखरासँग लुटपुटिएको तर अब चिलझैं उडान भर्ने उनको दाबी छ ।

शुक्रबार नेकपा सम्पर्क समन्वय कमिटीको भेलालाई सम्बोधन गर्दै प्रचण्डले पार्टी एकतापछि एक वर्ष १० लाख कार्यकर्ता निष्क्रिय बस्दा क्षति भएको स्वीकार गरे । तर हुँदैहुँदैन भन्दाभन्दा पार्टी एकता प्रक्रिया हात्ती छिरेसरह भइसकेको, पुच्छर मात्र अड्किएको अवस्थामा रहेको सुनाए ।

१५ महिनामा लगाएर भएपनि पार्टी टुंगिएको भन्दै उनले कुखुरा र चिलको प्रसंग सुनाए ।

उनले भने, ‘लेनिनले रोजाको सन्दर्भमा भनेको कुरा मलाई याद आउँछ । चिल पनि कहिलेकाहीँ कुखुराजस्तो गरेर जमिनमा आएर खोस्रिन्छ । तर कुखुरा कहिल्यै चिल जस्तो आकाशमा उडान भर्न सक्दैन । कम्युनिस्टहरु चिल हुन्, उड्न थालेपछि त्यो आकासको त्यो उचाईमा पुग्छ, जहाँ अरु पुग्न सक्दैननन् ।’

प्रतिक्रियावादीले दयाले नभई नेतृत्वले असाधारण पहलकदमी र आफ्नै पौरखले यो ठाउँमा आइपुगेको उनले बताए । प्रचण्डले अघि भने,’अब हाम्रो उडान सुरु भएको छ । खोस्रिनेसम्म खोस्रिसक्यौं । कुखुरासँगै झण्डै एक वर्ष लुटपुटियौं । अब चिलले जस्तो उडान भर्ने समय आएको छ । हेर्नुहोला, एक वर्षमा यो पार्टी सम्पूर्ण नेपाली जनताको एक मात्र पार्टी बनाएर मात्र विश्राम लिइन्छ ।’

पार्टी नेतृत्व पङ्ग्तीको जीवनलाई हेर्‍यो भने ठूलो फड्का, उपलब्धी र क्षतिबाट आएको भन्दै उनले अघि भने, ‘हामीलाई के कन्फिडेन्ट छ भने कुखुराहरुले खोस्रेजस्तो या स्यालहरुले कराएजस्तो सिंहको गर्जन हुँदैन । सिंहले गर्जिन थालेपछि कोही अगाडि पर्न सक्दैन । हामी त्यसैगरी अगाडि बढ्छौं ।’

प्रेतलाई कसरी मन्सिनुपर्छ भन्ने थाहा छ

नेकपा अध्यक्ष प्रचण्डले अब घिस्रिएर नभई फड्को हानेर अगाडि बढ्ने बढाए । छिट्टै केन्द्रीय कमिटी बैठक बोलाएर अभियान लिएर जनतामाझ जाने बताए ।

राजावादीहरुतर्फ संकेत गर्दै उनले भने, ‘१० लाख कार्यकर्ता, ५ लाख जनवर्गीय संगठन सदस्य भएको पार्टी एउटै विचार, एउटै मन लिएर अभियानमा गयो भने भुतप्रेतहरुको हालत के होला तपाईहरु आफैं कल्पना गर्नुस् ।’

‘प्रेतहरुलाई कसरी मन्सिन पर्छ भन्ने हामीलाई राम्रो थाहा छ । हामीले हिजो बलिया भनिएका भूत प्रेतलाई तह लगाएर, पुरेर आएका हौं । अब त्यो शक्ति देखाउनु छ, देखाउँछौं ।’

प्रचण्डले केही मान्छेले होहल्ला गर्दैमा नेकपा चुप लागेर नबस्ने चेतावनी दिए । वैज्ञानिक आलोचना गरे, गल्ती कमजोरी औल्याए स्वीकार गर्ने तर तथाकथित आलोचना, बकवासहरुलाई वास्ता नगर्ने उनले बताए । प्रचण्डले भने, ‘कार्लमार्क्सले भने जस्तै हामी पनि स्यालहरु गराउँदै गर्छ, हात्ती लम्कदै गर्छ गरेर हामी आफ्नो गन्तव्यसम्म पुगिछाड्नेछौं ।’

अर्को दशैंतिहारसम्म पार्टी अर्कै ठाउँमा पुग्ने भन्दै नकेपा अध्यक्ष प्रचण्डले भने, ‘जसले सस्तो आलोचना गरेका छन्, उनीहरुको हालत के हो म हेरेर बसिरहेको छु ।’

उनले अघि भने, ‘हामीले मुठ्ठी उठाउन मात्र ढिलो हो । एक पटक संकल्प गरेर अभियानमा हेलिनेवित्तिकै एउटा, दुईटा पाँच वर्ष मात्र होइन, कयौं अवधिसम्म जनताको लोकप्रिय मतसहित समाजवादी समाज निर्माण गर्ने गन्तव्यमा पुग्नेछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment